• २६ चैत २०८१, मङ्गलबार

आईआरजीडीडीद्वारा प्रि–सगरमाथा संवाद सम्पन्न

blog

इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) ले आयोजना गरेको छलफल कार्यक्रम ।

गोरखापत्र अनलाइन 

काठमाडौं, चैत २५ गते । इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) ले नेपाल सरकारसँगको सहकार्यमा जलवायु परिवर्तनको कारण हिमाल र मानव जातिमा परेको असरलाई औंल्याउन प्रि–सगरमाथा संवाद कार्यक्रम आयोजना गरेको छ । 

नेपाल सरकारले पहिलो पटक आगामी जेठ २ देखि ४ सम्म सगरमाथा संवाद कार्यक्रम गर्न लागेको हो । वन तथा वातावरण राज्यमन्त्री रुपा विकको प्रमुख आतित्थ्यमा आईआरजीडीडीले सोमबार प्रि–सगरमाथा संवाद कार्यक्रम गरेको छ। कार्यक्रमको सुरुआतमा आईआरजीडीडीकी अध्यक्ष तथा पूर्व राजदूत शर्मिला पराजुली ढकालले स्वागत गर्नुभयो । 

कार्यक्रममा जलवायु र अन्य क्षेत्रका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए । हिन्दुकुश हिमालयका मानिसहरुको पक्षमा कार्यरत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का महानिर्देशक डा. पेमा ग्याम्त्सो, प्रधानमन्त्रीका जलवायु मामिला सल्लाहकार समेत रहिसकेका डा. पपुलर जेन्टल, पूर्वअर्थ सचिव मधु मरासिनी, विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा समेत चढिसकेका हिमाल आरोही दावा टासी शेर्पा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका उपाध्यक्ष चण्डीराज ढकाल र ग्रीन हाइड्रोजन ल्याबका टिमलिडर सहायक प्राध्यापक डा. विराज सिंह थापाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।  

राज्यमन्त्री विकले सगरमाथा संवादको उद्देश्यबारेमा प्रकाश पार्दै भन्नुभयो, ‘सगरमाथा संवाद मात्र नभएर विश्वव्यापी पहल हो ।’ मन्त्री विकले उक्त संवादले प्रकृतिलाई मात्र नभएर कार्बन कम उत्सर्जन गर्ने समुदायका मानिसहरुलाई समेत लक्षित गरेको बताउनुभयो ।  

अध्यक्ष पराजुलीले आईआरजीडीडीले परिवर्तनको लागि बलियो कुटनीतिक पहलमा विश्वास राखेको बताउनुभयो । उहाँले हिमाल र मानवजातिबिच महत्वपूर्ण सम्बन्धको लागि प्रि–सगरमाथा संवाद आयोजना गर्न पाउँदा गर्व लागेको बताउनुभयो । 

इसिमोडका महानिर्देशक डा. ग्याम्त्सोले हामी हिमालय क्षेत्रको जनताको भएको कारणले गर्दा अब प्रकृतिलाई फिर्ता दिने समय भएको उल्लेख गर्नुभयो । सगरमाथा संवाद हामीले प्रकृतिलाई के दिन सक्छौं भन्ने विषयमा हुनुपर्ने सल्लाह दिनुभयो ।   

प्रधानमन्त्रीका जलवायु मामिला सल्लाहकार समेत रहिसकेका डा. जेन्टलले जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दा अन्तर्राष्ट्रिय मन्चहरुमा नेपालको तर्फबाट नेगोसिएसन (संवाद) गर्दा स्थायी टोली नभएको बताउनुभयो ।  

यसैगरी, पूर्व अर्थसचिव मधु मरासिनीले सगरमाथा संवाद नेपालको लागि सगरमाथा संवाद महत्वपूर्ण अन्तर्राष्ट्रिय छलफल र बहसको थलो हुने उल्लेख गर्दै पहिलो वर्ष गर्न लागेको जलवायु परिवर्तनको विषय महत्वपूर्ण भएको बताउनुभयो ।  

ग्रीन हाइड्रोजन ल्याबका टिम लिडर सहायक प्राध्यापक डा. थापाले नेपालको चारसय अर्ब इन्धनमा बार्षिक खर्च हुने भइरहेको उल्लेख गर्दै जबकि नेपालमा भएको स्रोतले यहाँमात्र नभएर वरिपरिका देशलाई पनि इन्धनमा निर्भर नहुने बनाउन सकिने बताउनुभयो । 

आईआरजीडीडीले प्रि–सगरमाथा संवादका दौरानमा भएको छलफलबाट आएका महत्वपूर्ण सुझावहरुलाई नेपाल सरकारको सगरमाथा संवाद सचिवालयलाई हस्तान्तरण गर्ने संस्थाका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।