खलङ्गा समाचारदाता
दार्चुला, असार ३ गते । महाकाली लोकमार्ग अन्तर्गत पर्ने खलङ्गा–गोकुलेश्वर सडकखण्डको धौलीगाड खोलामा विगत १२ वर्षदेखि निर्माणाधीन अवस्थामा अलपत्र रहेको पक्की पुल निर्माणका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ ।
सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ मा सो पुल निर्माण गर्न दुई करोड रुपियाँ विनियोजन गरेको नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन, कार्यालय बैतडीका इन्जिनियर एवं सूचना अधिकारी लीलाधर भट्टले जानकारी दिनुभयो ।
आव २०७०/७१ मा धनगढीको आशिष कन्स्ट्रक्सन निर्माण कम्पनीसँग पुल निर्माण गर्न सम्झौता भएर काम सुरु गरेको कम्पनीलाई जग्गाधनीले रोकेपछि निर्माणको काम ठप्प भएको थियो । पुल निर्माण कम्पनीले उतिबेला एकातर्फको पिल्लर मात्रै निर्माण गरेको थियो । जिल्ला सदरमुकाम खलङ्गानजिकै महाकाली नगरपालिका–५, गल्फैस्थित पुल निर्माण हुने स्थानमा रहेको जमिनको मुआब्जा वितरणमा ढिलाइ हुँदा पुल निर्माणको काम पछि धकेलिएको थियो ।
त्यस क्षेत्रका जग्गाधनीले सरकारी मूल्य अनुसारको मुआब्जा दिलाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि पुल निर्माणको काम रोकिएको थियो । सर्वोच्च अदालतले जग्गाधनीको पक्षमा फैसला गरेपछि आव २०७९/८० मा मुआब्जा विवाद टुङ्गिएको थियो ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने दार्चुलास्थित प्रमुख जिल्ला अधिकारी संयोजकत्वको जिल्ला मुआब्जा निर्धारण समितिले फैसला कार्यान्वयन गर्न थप चार वर्ष लगाएपछि पुल निर्माणको काममा झन् ढिलाइ भएको हो ।
सो क्षेत्रको जग्गाको सरकारी मूल्य रोपनीको ३८ लाख ५० हजार रुपियाँ रहेकोमा तत्कालीन जिल्ला मुआब्जा निर्धारण समितिले सरकारी मूल्य घटाएर सो क्षेत्रमा रोपनीको १९ लाख २५ हजार रुपियाँ निर्धारण गरेपछि जग्गाधनीले विरोध गर्दै पुल निर्माण गर्न रोकेका थिए ।
धौलीगाडखोलामा हिउँदमा पानी नहुने भए पनि बर्खामा भने धेरै पानी आएर आउजाउ गर्न समस्या हुने गरेको त्यस क्षेत्रका स्थानीय र सवारीचालकले बताएका छन् । जग्गाधनीलाई मुआब्जा उपलब्ध गराई पुल निर्माणका लागि बजेट विनियोजन गरेसँगै धौलीगाडखोलामा पक्की पुल निर्माण हुनेमा स्थानीय आशावादी भएका छन् । धौलीगाडमा २५ मिटर लम्बाइको स्पान पुल निर्माण हुने भएको इन्जिनियर भट्टले जानकारी दिनुभयो ।