महेन्द्रनगर (धनुषा), असार ३ गते । नेपाल राष्ट्र बैँकका गभर्नर डा विश्वनाथ पौडेलले कुनै पनि बैँकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
नेपाल राष्ट्र बैँक जनकपुर कार्यालयको आयोजनामा नेपाल उद्योग वाणिज्य महासङ्घ र बैँक तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा आज उहाँले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैँकको पैसा धेरै मानिससम्म पुर्याउनेमा आफ्नो ध्यान रहेको बताउनुभयो ।
ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न बहानामा ठगी गरेको पाइए सो बैँकलाई बिना कुनै छुट तुरुन्त कारबाही गर्ने उहाँको भनाइ छ । धनुषाका व्यापारीहरूले विगतमा बैँकहरूले धितो राखी ऋण लिएका ऋणीहरूलाई विभिन्न जटिल परिस्थिति उत्पन्न गरी धितो लिलाम गरेको गुनासो गरेपछि गभर्नर पौडेलले यस्तो चेतावनी दिनुभएको हो ।
सो छलफलमा व्यवसायीहरूले ऋण लिन आउने साना व्यापारी तथा किसानलाई बैँकले वास्ता नगर्ने गरेको गुनासो गरेका थिए । छलफलमा बैँकका प्रतिनिधिहरूले मधेश प्रदेशमा ऋण लिएर तिर्न नसक्नेको सङ्ख्या धेरै भएको जानकारी दिएका थिए ।
धनी र गरिब बिचको आर्थिक खाडल कम गर्नु आफ्नो प्रमुख प्राथमिकता भएको गभर्नर पौडेलको भनाइ छ । “मौद्रिक नीति वित्त नीतिको मातहतमा हुनुपर्छ । सुपरिवेक्षण क्षमता बढाएर अर्थतन्त्र चलाउनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसैले कम नियम र ज्यादा सुपरिवेक्षणमै मेरो जोड छ ।”
बैँकको पैसा सीमित धनी व्यक्तिको हातमा केन्द्रित नभई साना व्यवसायी र सर्वसाधारणसम्म ऋणका रूपमा पुग्नुपर्ने गभर्नर पौडेलले विचार व्यक्त गर्नुभयो ।
छलफलमा बैँक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले प्रस्तुत सुझावहरूलाई नीति निर्माणमा प्राथमिकताका साथ समावेश गरिने र यस कार्यक्रमले सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी उद्यमीहरूले व्यवसाय सञ्चालनमा भोगिरहेका समस्या, वित्तीय पहुँच र कर्जाको सहजताजस्ता विषयमा आफ्ना विचार राखेका थिए । रासस