राजन रावत
हुम्ला, असार ३ गते । दुई हप्तादेखि सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार चुलिँदै गएको छ । खानेपानीको मुहान रहेको हुमाने खोलामा पानी सुक्दै गएका कारण सदरमुकामवासीलाई खानेपानीको समस्या भएको हो ।
खानेपानी उपभोक्ता समिति सिमकोटका प्राविधिक रुपेन्द्र रोकायाले खानेपानी समस्या चरम रहेको बताउनुभयो । हुमाने खोलाको पानी सुक्दै गएपछि छाल्ता खोलाबाट सदरमुकामवासीका लागि खानेपानी जडान गरी ल्याए पनि मुख्य मुहानमै पानी कम भएपछि यसको समस्या थप चुलिँदै गएको उहाँले बताउनुभयो । हुमाने खोलाको पानी सुकेका कारण छाल्ता भन्ने स्थानमा आउने गरेको कमै पानी भए पनि पाइप जडान गरी ल्याउने गरिएको छ ।
त्यही पानी पनि सिमकोटमा रहेका रिजर्भ ट्याङ्की भरिन नसक्दा यहाँका सर्वसाधारणलाई पालो अनुसार खानेपानीका धारामा वितरण गर्नुपरेको उहाँको भनाइ छ । उहाँले खोलामा पानी सुक्दै गएको, सदरमुकामका खानेपानीका ग्राहकले समितिलाई पानी छोड्दैनन् भनी गुनासो गर्ने गरेको भए पनि त्यसो नभएको बताउनुभयो । समितिले कहाँबाट पानी ल्याएर दिनु, खोलाको पानी सुक्दै गएको जनाएको छ ।’
खोलामा पानी जमिनमुनि छिर्दै जानुका साथै खोला सुक्दै गएपछि सिमकोट गाउँपालिकाले पानी नचुहिनका लागि ग्रिन हाउसको प्लाष्टिक पाल दिएको थियो । गाउँपालिकाले दिएको पाल शनिबार पनि खोला र पाइप भएका स्थानमा बिछ्याउने कार्य भइरहेको छ । सिमकोटमा पाँच सय २६ खानेपानीका ग्राहक रहेका छन् । उहाँहरु सबैलाई बिहान बेलुकाको समयमा टोल टोल गरी पालो अनुसार पानी छोड्ने गरिएको छ । सिमकोटमा रहेका खानेपानीका रिर्जभ ट्यांकी यतिबेला खाली छन् ।
खानेपानी उपभोक्ता समितिले विगतदेखि नै सदरमुकामवासीलाई बिहान बेलुकाको समयमा मात्र पानी वितरण गर्दै आएको थियो । यतिबेला सरदुमकाम सिमकोटवासीले खानेपानी धारामा पानी नआउने समस्या हुने गरेको गुनासो स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले बताउनुभयो । धारामा पानी नआएपछि आधा घण्टा पैदल हिंडेर पानीको व्यवस्था गर्ने गरिएको उहाँले बतााउनुभयो ।
सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको महिला फिडर छात्रवासमा दुई महिनादेखि खानेपानीको आउन बन्द भएको छात्रवासका वार्डेन कमला लामाले बताउनुभयो । बिहान बेलुका आउने पानी पछिल्लो समय बन्द हुँदा पानी आउने घरका धारामा दुई, तीन घण्टा लाइन बसेर पानी थाप्नुपरेको उहाँको भनाइ छ । अस्पताल जस्तो क्षेत्रमा पनि पानीको समस्या हुँदै आएको अनमी बोहराको भनाइ छ ।
खानेपानी नआउँदा सिमकोट तल्लो गाउँ, सूचना टोल, काठेचुली चोक, अस्पताल क्षेत्र, माथिल्लो बजारलगायतका क्षेत्रका स्थनीयको टाढा टाढा पुगेर पानी भरेर खानुपर्ने अवस्था आएको गुनासो छ । खानेपाानीको समस्या मात्र नभएर सरसफाइका लागि पनि थप समस्या हुँदै आएको सर्वसाधारणको गुनासो छ ।