दमक समाचारदाता
दमक, असार ३ गते । नेपालको चारकोशे झाडीका रूपमा परिचित झापाको जलथलस्थित चारकोशे वनमा पहेँलो कछुवा फेला परेको छ । हल्दिबारी गाउँपालिका वडा नं. ४ स्थित श्री पाथिभरा कालिका सामुदायिक वनमा पहेँलो कछुवा फेला परेको हो ।
स्थानीय विवेक बास्तोलाले आइतबार बिहान सामुदायिक वनमा रहेको चिसो पानी रसाइरहने क्षेत्रमा अन्य समयमा देखिने भन्दा अनौठो प्रकारको कछुवा देखेपछि सामुदायिक वनका कर्मचारीलाई खबर गर्नुभएको थियो । जलथल जङ्गलको विषयमा अध्ययन अनुसन्धानमा लामो समयदेखि क्रियाशील रहनुभएको लीलानाथ शर्माका अनुसार यो कछुवा विरलै मात्र पाइन्छ । रङ्गिन कण उत्पादन गर्ने आनुवंशिक तìवमा हुने फेरबदल तथा उत्परिवर्तनले कछुवामा यस्तो अवस्था आउने उहाँले बताउनुभएको छ । कछुवाको जाति दुर्लभ नभए पनि यो प्रजातिमा यस्तो अवस्था चाहिँ निकै दुर्लभ हुने उहाँको भनाइ छ ।
नेपालका चराचुरुङ्गी तथा जीवजन्तु खोज अध्ययन अनुसन्धानकर्ता अस्मित सुब्बाका अनुसार यो कछुवालाई स्पटेड नर्थर्न इन्डियन फ्ल्यापसेल टर्टल भनेर चिनिन्छ । उहाँले भन्नुभयो, “कछुवा नेपालका तराई क्षेत्रमा करिब चार सय मिटर उचाइसम्ममा पाइए पनि यस प्रजातिमा क्रमेटिक ल्युसिज्म देखिनु अत्यन्त दुर्लभ हो । यो झापामा पहिलो पटक अभिलेख हुन सक्छ ।”