गोरखापत्र अनलाइन
काठमाडौं, चैत २५ गते । मदन भण्डारी स्पोर्टस् एकेडेमी टेवलटेनिस विभागको आयोजनामा दोस्रो जुनियर तथा मास्टर्स राष्ट्रिय टेवलटेनिस प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले) का सचिव, पूर्वमन्त्री तथा सांसद छबिलाल विश्वकर्माले खेलकुदले हरेक क्षेत्रमा अनेक सकारात्मक प्रतिफल ल्याउने बताउनुभयो ।
खेलकुदका माध्ययमबाट सम्बृद्धिको सपना पूरा गर्न महत्त्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास गर्नुभयो । अर्को एक प्रसंगमा उहाँले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै ब्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षविच थप समन्वय र प्रभावकारी पहल जरूरी रहेको बताउनुभयो । काठमाडौंमा सोमबारदेखि सुरू भएको प्रतियोगिता चैत २८ गतेसम्म सञ्चालन हुनेछ ।
विभिन्न सातवटा ईभेन्टमध्ये पहिलो दिन १९ बर्षमुनिका छात्र, छात्रा तथा १५ बर्षमुनिका छात्र, छात्राहरूका सिंगल लिग चरण सुरू भएको छ । त्यस्तै भेट्रान्स (६० बर्ष) खेलमा रञ्जन सुब्बा र शेखर श्रेष्ठ सेमिफाइनलमा प्रवेश गर्नुभयो ।
एकेडेमीको टेवलटेनिस विभाग प्रमुख धर्ममान बज्राचार्यको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एकेडेमीका उपमहासचिव तथा राखेप कार्यकारी सदस्य सुवर्णा श्रेष्ठ, भलिबल विभाग प्रमुख निलम बज्राचार्यलगायतले बोल्नुभएको थियो ।