• १ असोज २०८१, मङ्गलबार

‘जानकी’ मा युवा सङ्घर्षको कथा

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असोज १ गते । पद्माप्रेम थिएटरले तयार गरेको ‘जानकी’ नाटक पोखराको गन्धर्व नाटकघरमा शुक्रबारबाट मञ्चन भइरहेको छ । बाँच्नका लागि सङ्घर्ष गरिरहेका युवाको कथा नाटकमा छ । गाउँघरमै सम्भावना खोजिरहेका युवाको सङ्घर्ष देखाउँदै सफल हुन गर्नुपर्ने उकाली ओरालीसमेत चित्रण गरिएको छ ।

नाटककार सावित्रा पाठक (सबु) नै नाटककी मुख्य पात्र जानकी हुन् । पूर्वी नेपालको झापामा जन्मिएर पोखरामा परिवारसहित सपना साकार पार्न उनले गरेको सङ्घर्ष नै यसको मुख्य कथा हो । प्रेम विवाह गरेर दम्पती नै विदेश गएकोमा फर्किएपछि जानकीका श्रीमान् राम दुर्घटनामा पर्छन् । 

सडक दुर्घटनामा रामले खुट्टा गुमाएपछि जानकी आफैँले परिवार चलाउन अनेक हन्डर खेपेकी छन् । एउटा खुट्टा गुमाए पनि रामको लगाव र हिम्मतले परिवारलाई भरथेग गरेको छ । रामको भूमिका निर्वाह गरेका सुमन कार्कीको अभिनय प्रेमीका रूपमा होस् कि अपाङ्ग युवाका रूपमा अस्वाभाविक लाग्दैन । ‘जानकी’ ले वृद्धवृद्धाका समस्या र पुस्तान्तरको सवाल पनि उठाएको छ । सासूबुहारीबिचको सौहार्दपूर्ण सम्बन्ध र आत्मीयताले धेरैको आँसु झार्छ । वृद्धाश्रम जान लागेका रामका बाआमालाई बुहारीले रोक्छिन् । सासूको भूमिकामा देखिएकी ज्योति हमालको खाँटी लबज र व्यवहारले सासूले बुहारीलाई हर्ने दृष्टिकोण फेर्न उत्प्रेरणा दिन्छ । 

नाटक निर्देशनसमेत गर्नुभएका अग्रज कलाकार गोविन्द पराजुली बाको भूमिकामा छन् । उनीमार्फत नाटकले पुस्तान्तरलाई देखाएको छ । नाटकमा उनी भन्छन्, “बुढामान्छेको कुरामा सबै यसरी नै हाँस्छन् ।” नाटकमा सुनकेशरीको परिवार रक्सीका कारण समस्यामा छ । अर्काको जग्गामा खेतीपाती गरी उब्जाएको तरकारी बेचेको पैसा श्रीमान्ले रक्सीमै सकेपछि परिवारमा दिनहुँ कचिङ्गल हुन्छ । सुनकेशरीको जस्तै दुःख भोगिरहेका धेरै नेपाली महिलाले नाटकमा आफैँलाई भेटाउँछन् । छोरी पाल्नकै लागि भट्टी चलाउने मालतीले पछि व्यवसाय परिवर्तन गरेकी छन् । भट्टीमा रक्सीसँगै महिलाको जवानीमा आँखा लगाउने राजु पछि सुध्रिएका छन् । 

नाटकका पात्र कोही प्रेममा धोका पाएपछि जँड्याहा बनेका छन् । कोही सहकारीले सर्वस्व बनाइदिएपछि कुलतमा पुगेका छन् । बेला न कुबेला क्यामरा ते¥याएर अन्तर्वार्ता लिन पुग्ने युट्युबरलाई पनि नाटकले व्यङ्ग्य गरेको छ । स्नातकोत्तर गरेर चिया पसल खोलेकी जानकीको परिवार अन्तिममा लयमा आइपुगेको छ । अरू पात्रले पनि सुध्रिने वाचा गरेका छन् ।