• १ असोज २०८१, मङ्गलबार

टिफा काउन्सिलमा निर्यात छुटबारे छलफल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १ गते । अमेरिकामा भन्सार छुटमा निर्यात हुँदै आएका स्वदेशी ७७ वस्तुको म्याद थप र सूची थप गर्ने विषयमा छलफल भएको छ । सोमबार राजधानीमा भएको नेपाल र संयुक्त राज्य अमेरिकाबिच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता परिषद् (टिफा काउन्सिल) को बैठकमा नेपालबाट निर्यात हुँदै आएका ७७ वस्तुको म्याद सकिने थालेकाले म्याद थप र सूची थप गर्ने विषयमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

आगामी डिसेम्बर ३१ मा स्वदेशी ७७ वस्तुको निर्यातमा अमेरिकाले निर्यातमा दिँदै आएको भन्सार छुटको सुविधा सकिन लागेको छ । अमेरिकाले नेपालमा दिँदै आएको प्राविधिक सहायतालाई निरन्तरता गर्ने विषयमा छलफल भएको अधिकारीले जानकारी दिनुभयो । अमेरिकाले सन् २०१५ देखि सन् २०२५ सम्मका लागि नेपाली ७७ वस्तुको निर्यातमा भन्सार छुटको सुविधा उपलब्ध गराएको थियो । 

छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवर्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्तारमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ ।  व्यापार सहजीकरणमा वृद्धि गरी नेपाली वस्तुको बजार पहुँचमा सुधार हुने अपेक्षा व्यक्त गर्नुभयो ।

दुवै देशका व्यापारिक समुदायबिच प्राविधिक सहयोग, क्षमता निर्माण र सहयोग बढाउन महìवपूर्ण रहेको मन्त्री भण्डारीको भनाइ थियो । “यी क्षेत्रमा संयुक्त राज्य अमेरिकाको सहयोग अमूल्य हुने छ, किनकि हामी हाम्रो व्यापार सम्बन्ध बढाउन र पारस्परिक ‘ड्राइभ’ गर्न प्रयास गर्दछौँ,” उहाँले भन्नुभयो । सन् २०२६ सम्ममा नेपाल अतिकम विकसित मुलुकबाट बाहिरिने र हाम्रो प्राथमिकता प्राप्त बजार पहुँचका लागि सम्भावित प्रभावबारे विचार गर्नु जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । “हामी हाम्रो व्यापारको गतिलाई कायम राख्न बजार पहुँचको विस्तार र वैकल्पिक उपायको विस्तारका लागि अमेरिकी समर्थन चाहन्छौँ,” मन्त्री भण्डारीले भन्नुभयो । कार्यक्रममा अमेरिकी व्यापार प्रतिनिधिमण्डलका सदस्यले दुई देशबिचको व्यापार सहकार्यलाई अझै बढाउनुपर्नेमा सरोकारवालाले जोड दिनुुभएको थियो ।