काठमाडौं, माघ २९ गते । नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले गठित नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ ।
चन्द्रागिरिमा सम्पन्न बैठकले दुई देशबीचको आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । सन् २०२४ अप्रिलमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा यो परिषद् स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
परिषद् दुई देशका निजी क्षेत्रबीच संवाद, व्यावसायिक सहकार्य र प्रत्यक्ष संलग्नता प्रवर्द्धन गर्ने मञ्चका रूपमा रहेको छ ।
बैठकमा दुवै देशका प्रतिनिधिहरूले लगानी प्रवर्द्धन, व्यापार विस्तार, निजी क्षेत्रबीच (बीटुबी) सहकार्य र सरकार–सरकार (जीटुजी) समन्वयका विषयमा गहन छलफल गरेका छन् ।
नेपाली पक्षले ऊर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधि लगायतका क्षेत्रमा कतारी लगानीका लागि आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ विदेशी लगानी सहजीकरण र व्यावसायिक सम्पर्क प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताउनुभयो ।
कतारी प्रतिनिधिमण्डलका प्रमुख मोहम्मद अहमद एम.ए. अलोबैदेलीले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भए कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको उल्लेख गर्नुभयो । परिषद्लाई परिणाममुखी बनाउन यसको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल भ्रमणका क्रममा कतारी प्रतिनिधिमण्डलले अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योग मन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरसँग भेटवार्ता गरी द्विपक्षीय लगानी, व्यापार विस्तार र हवाई सम्पर्क (कनेक्टिभिटी) का विषयमा समेत छलफल गरेको छ । बैठकले आगामी दिनमा व्यापार र लगानीको प्रत्यक्ष साझेदारीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।