लीलाराज खड्का
बिर्तामोड, माघ २९ गते । झापाको बिर्तामोडमा जारी सातौँ झापा गोल्डकमा मच्छिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ ।
मलेसियालाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ । सुरुवाती अग्रता लिएको मच्छिन्द्रले दोस्रो हाफमा भने मलेसियाको दबाब सामना गरेको थियो ।
दोस्रो हाफको अधिकांश समय बल पोजिसन राखेपनि मलेसियाले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट घर फर्किएको छ ।
मच्छिन्द्रले १९औँ मिनेटमा अग्रता लियो । डिबक्समा विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मच्छिन्द्रका सनिश श्रेष्ठले गोलमा परिणत गर्नुभएको थियो । गोलकिपरको हातबाट फुत्किएको बलले मलेसियाका खेलाडीलाई टच हुँदै गोल भएको थियो ।
मच्छिन्द्रले दोस्रो गोल ८०औँ मिनेटमा लगायो । मछिन्द्रका लागि विदेशी खेलाडी जोनाथन जोरिल्लाले दोस्रो गोल गर्नुभयो । मलेसियाका डिफेन्डर मार्टिन डामिलोलेको खुट्टाबाट फुत्किएको बललाई जोरिल्लाले चिप गर्दै गोल गर्नुभएको हो ।
मलेसियाका लागि एक मात्र गोल खेलको ६०औँ मिनेटमा जोन जिडेइनाले फर्काउनुभयो । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको हातबाट फुत्किएको बललाई उहाँलेले गोलमा परिणत गर्नुभएको हो ।
प्लेयर अफ दि म्याच मच्छिन्द्रका जोनाथन जोरिल्ला घोषित हुनुभयो । उहाँले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । शुक्रबारको पहिलो सेमिफाइन खेल झापा–११ एफसी र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबिच हुनेछ ।