• ५ जेठ २०८१, शनिबार

रुपन्देहीमा स्थानीय तह निर्वाचन तयारी पूरा

blog

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख २८ गते ।
रुपन्देहीमा स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारी पूरा गरेको छ । स्वच्छ, मर्यादित र व्यवस्थित तरिकाले निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रको व्यवस्थापन गर्ने र जनशक्ति परिचालनका लागि कर्मचारीको व्यवस्थापन भएको कार्यालयले जनाएको छ ।

यसअघिको प्रदेश एवम् प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा २०८ मतदान स्थलमा ६१० मतदान केन्द्र थिए । मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्र थपेर एक हजार मतदाताका लागि एक मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीले भन्नुभयो, ‘‘सबै मतदान अधिकृतलाई निर्वाचनका लागि आवश्यक सामग्री बुझाइसकेका छौं, आज र भोलि परिचयपत्र वितरणको काम सुरु भइसकेको छ ।’’

वैशाख ३० गते हुन लागेको निर्वाचनमा रूपन्देहीमा सात सय मतदान केन्द्र र २०८ मतदान स्थल तोकिएका छन् । अघिल्लो पटकको निर्वाचनको तुलनामा यसपटक ९० वटा मतदान केन्द्र थपिएका हुन् । मतदाताको सङ्ख्या बढेपछि मतदान केन्द्र थप गरिएको हो । सबैभन्दा धेरै मतदाता हुने जिल्लामध्ये रूपन्देही चौथो जिल्ला हो ।

उहाँका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा अहिले रूपन्देहीमा एक लाख नौ हजार ७५८ मतदाता बढेका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकामा अहिले बढेर छ लाख ३२ हजार ३६० पुगेका छन् । तीमध्ये तीन लाख २३ हजार ७७८ पुरूष र तीन लाख आठ हजार ५७४ महिला छन् । अन्य मतदाताको सङ्ख्या आठ छ ।

निर्वाचन कार्यालयका अनुसार बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ मतदाता छन् । अघिल्लो निर्वाचनमा ७६ हजार ७२० मतदाता  थिए ।

नगरपालिकामा सबभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ८५ हजार ७४७ र सबभन्दा कम लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४३ हजार ८९० मतदाता छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तिलोत्तमामा ७१ हजार ७४ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३६ हजार ११५ मतदाता थिए ।

जिल्लामा रहेका १० गाउँपालिकामध्ये सबैभन्दा धेरै गैडहवा गाउँपालिकामा ३० हजार ३५१ र सबैभन्दा कम मर्चवारी गाउँपालिकामा २२ हजार ७४७ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा गैडहवा गाउँपालिकामा २४ हजार ९२० र मर्चवारी गाउँपालिकामा १८ हजार ८१७ मतदाता थिए ।

निर्वाचन आयोगले जिल्लामा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृत तोकिएको छ । रूपन्देहीको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश धनसिंह महरालाई तोकिएको हो ।

रूपन्देहीमा ३८ दलले चुनावी प्रतिस्पर्धा गर्नेछन् । जिल्लामा रहेका ७९ राजनीतिक दलमध्ये छ ठूला दलले स्वतः चुनाव चिह्न पाइसकेका छन् । स्थानीय निर्वाचनका लागि जिल्लामा ३२ वटा दल दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।