• १ असोज २०८१, मङ्गलबार

विधायन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबिच प्रतिस्पर्धा

blog

काठमाडौँ, भदौ ३१ गते । राष्ट्रिय सभामा संसदीय समितिको सभापतिको नेतृत्व चयनका लागि नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको छ । रिक्त दुई वटा समितिको सभापतिमध्ये विधायन व्यवस्थापन समितिको सभापतिका लागि दुवै दलका तर्फबाट उम्मेदवारी परेको छ । 

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विधायन व्यवस्थापन समितिको सभापति पदका लागि जयन्तीदेवी राई र तुलसाकुमारी दाहालको प्रस्ताव दर्ता भएको जानकारी दिनुभयो । नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्षसमेत रहनुभएकी राई यसअघि सो समितिको सभापति हुनुहुन्थ्यो । दाहाल नेकपा (एमाले) बाट निर्वाचित राष्ट्रिय सभा सदस्य हुनुहुन्छ । 

यसअघि भने राजनीतिक सहमतिकै आधारमा संसदीय समितिको सभापति चयन हुँदै आएको थियो । अब भने दुवै प्रस्तावको निर्णय ध्वनि मतका आधारमा हुने छ । सभापतिको टुङ्गो लगाउन सोमबार बिहान ११ बजे समितिको बैठक आह्वान गरिएको छ । 

एकीकृत समाजवादीबाट निर्वाचित राईको प्रस्तावकमा सोही दलका संसदीय दलको नेता डा. वेदुराम भुसाल र समर्थकमा नेकपा (माओवादी केन्द्र) का सुरेशकुमार आलेमगर हुनुहुन्छ । नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गानाले एमालेकी दाहालको प्रस्तावक र एमालेका भगवती न्यौपाने समर्थक हुनुहुन्छ ।  विधायन व्यवस्थापन समितिमा १५ जना सदस्य छन् । समितिमा कांग्रेसका चार, माओवादी केन्द्रका पाँच, एमालेका तीन, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टी नेपालका एक गरी १५ सदस्य छन् । सो समितिमा मतदान हुने अवस्था आए जनता समाजवादी पार्टी नेपालको मत निर्णायक हुने छ ।