• १८ पुस २०८१, बिहिबार

निर्वाचन व्यवस्थापन सुधार

blog

निर्वाचन आयोग ऐन, २०७३ मा निर्वाचनसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्बन्ध विस्तार गर्नु निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार हुने उल्लेख छ । आयोगको रणनीतिक योजनाले पनि अन्तर्राष्ट्रिय सङ्घसंस्थासँगको आबद्धता विस्तारलाई नीतिगत रूपमा स्वीकार गरेको छ । जस अनुसार आयोग दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायहरूको साझा मञ्च फेम्बोसाको संस्थापक सदस्य हो । निर्वाचन आयोगले यसको बैठकमा नियमित रूपमा सहभागिता जनाउँदै आइरहेको छ । 

फेम्बोसा दक्षिण एसियाली आठ राष्ट्रका निर्वाचन व्यवस्थापन गर्ने निकायको साझा सङ्गठन हो । दक्षिण एसियाली राष्ट्रका निर्वाचन व्यवस्थापन निकायबिच नियमित सम्पर्क कायम राख्ने, निर्वाचन व्यवस्थापनसम्बन्धी विषयका सिकाइ आदानप्रदान गर्ने, स्वच्छ र स्वतन्त्र निर्वाचन गर्न समन्वय कायम गर्ने जस्ता उद्देश्य राखी यसको स्थापना भएको हो । फेम्बोसाको बैठक हरेक वर्ष सदस्य राष्ट्रले पालैपालो आयोजना गर्ने व्यवस्था छ । बैठकमा निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा अन्य पदाधिकारीहरू उपस्थित भई निर्वाचन व्यवस्थापनका विषयमा अनुभव आदानप्रदान गर्ने, नयाँ विषयमा साझा धारणा विकास गर्ने, समान समस्या समाधानका लागि पहल गर्ने आदि कार्य गरिँदै आइएको छ । प्रत्येक वर्ष हुने बैठकमा संयुक्त घोषणापत्र जारी हुने र घोषणापत्रमा उल्लेख भएबमोजिमका गतिविधि सदस्य राष्ट्रका निर्वाचन व्यवस्थापन निकायले आफ्नो कार्यक्रमभित्र समावेश गरी कार्यान्वयन गर्ने प्रचलनसमेत रहँदै आएको छ । 

सन् २०२४ सम्म फेम्बोसाका १२ वटा बैठक सम्पन्न भएका छन् । पहिलो बैठक सन् २०१० मा बङ्गलादेशमा, दोस्रो बैठक सन् २०११ मा पाकिस्तानमा, तेस्रो बैठक सन् २०१२ मा भारतमा, चौथो बैठक सन् २०१३ मा भुटानमा, पाँचौँ बैठक सन् २०१४ मा नेपालमा, छैटौँ बैठक सन् २०१५ मा श्रीलङ्कामा, सातौँ बैठक सन् २०१६ मा माल्दिभ्समा, आठौँ बैठक सन् २०१७ मा अफगानिस्तानमा, नवौँ बैठक सन् २०१८ मा बङ्गलादेशमा, १० औँ बैठक सन् २०२० मा भारतमा, ११ औँ बैठक सन् २०२२ मा भुटानमा र १२ औँ बैठक सन् २०२४ मा नेपालमा सम्पन्न भएका थिए । बैठकमा दशो सोनाम टोप्गे, प्रमुख निर्वाचन आयुक्त, भुटान निर्वाचन आयोग, नितेश कुमार व्यास, वरिष्ठ उपनिर्वाचन आयुक्त, भारत निर्वाचन आयोग, फुवाद थोउफिक, अध्यक्ष, माल्दिभ्स निर्वाचन आयोग, दिनेश कुमार थपलिया, प्रमुख निर्वाचन आयुक्त, नेपाल निर्वाचन आयोग र आरएमएएल रत्नायके, अध्यक्ष, श्रीलङ्का निर्वाचन आयोग सहभागी हुनुहुन्थ्यो । 

आयोगको आयोजनामा यही भदौ १९ र २० गते काठमाडौँमा सम्पन्न फेम्बोसाको १२ औँ बैठकमा दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन गर्ने निकायको साझा मञ्चका सदस्य राष्ट्रहरूमध्ये नेपाल, भारत, भुटान, श्रीलङ्का र माल्दिभ्सका निर्वाचन आयोगका प्रमुख तथा उच्च अधिकृतको उपस्थिति रहेको थियो । बैठकमा निर्वाचन सम्बन्धमा विश्व्यापी रूपमा देखिएका प्रवृत्तिका सम्बन्धमा छलफल हुनुका साथै ‘निर्वाचन र जलवायु परिवर्तन,’ ‘निर्वाचन र आप्रवासन’ र ‘निर्वाचन र सामाजिक सञ्जाल’ गरी तीन वटा विषयमा विज्ञहरूबाट कार्यपत्र प्रस्तुत गरी विस्तृत छलफल गरिएको थियो । सम्मेलनको अन्त्यमा निर्वाचन व्यवस्थापनका लागि आगामी दिनमा गर्नुपर्ने सुधारका पक्षहरूमा केन्द्रित रही १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गरिएको छ ।

घोषणापत्रमा उल्लिखित समग्र उद्देश्य प्राप्त गर्नका लागि बैठकमा सहभागीले एकआपसमा सहकार्य र समन्वयलाई प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढङ्गले निर्वाचन सञ्चालन गर्ने प्रतिबद्धता सहभागीहरूले गरेका छन् । फेम्बोसमा आबद्ध निर्वाचन व्यवस्थापन निकायहरूको संस्थागत साथै मानव संसाधन क्षमतामा सुदृढीकरणको महत्वलाई जोड दिँदै, तिनीहरूलाई आफ्नो संवैधानिक जिम्मेवारी प्रभावकारी, कुशल र शीघ्र पूरा गर्न सक्षम बनाउन एकअपासमा सहकार्यलाई अझ विस्तार र संस्थागत गर्दै लगिने प्रतिबद्धता पनि गरिएको छ । यस मञ्चलाई यसको घोषणापत्र अनुसार प्रभावकारी बनाउन सदस्यबिच निरन्तर सहकार्य र सहयोगको आवश्यकतालाई जोड दिइएको छ । 

निर्वाचन व्यवस्थापनका समग्र क्षेत्रमा अनुभव, विशेषज्ञता, उत्कृष्ट अभ्यास र प्रयोग भएका मोडलहरूको आदानप्रदानको माध्यमबाट बढ्दो सहकार्यको गतिलाई अझै बढाउने प्रतिबद्धता बैठकमा गरिएको छ । निर्वाचन व्यवस्थापनमा विद्यमान र नयाँ चुनौतीहरूको सामना गर्न सहकार्यात्मक प्रयासलाई अझ सुदृढ पार्ने साझा सङ्कल्पलाई जोड दिइएको छ । यस क्षेत्रीय संयन्त्रलाई पारस्परिक लाभका लागि थप सुदृढ पार्न फेम्बोसका सदस्यले इमानदार प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने प्रतिबद्धता पनि बैठकमा गरेका छन् । भुटान निर्वाचन आयोगको उत्कृष्ट नेतृत्व र फेम्बोसाको घोषणापत्र अनुसार सदस्य राष्ट्रहरूको साझेदार र समन्वयत्मक दृष्टिकोणद्वारा विगत दुई वर्षको उत्कृष्ट योगदानका लागि बैठकले कृतज्ञता पनि प्रकट गरेको थियो । बैठकमा फेम्बोसाको अध्यक्षता नेपाललाई हस्तान्तरण गरिएको थियो । 

फेम्बोसाको काठमाडौँ घोषणापत्र 

जनताको शान्ति, स्थिरता र समृद्धिका लागि जीवन्त लोकतन्त्रको संस्थागत निर्माणमा सबै तहका निर्वाचनको निष्पक्षता, इमानदारी र पारदर्शिता कायम राख्नु महत्वपूर्ण छ । कोभिड–१९ को महामारीबाट हामीले यो पाठ सिकेका छौँ कि यस्तो चुनौतीपूर्ण समयमा लोकतन्त्र र निर्वाचनको विश्वसनीयता गम्भीर जोखिममा पर्न सक्छ, त्यसैले हामीले यस्ता अप्रत्याशित र सङ्कटपूर्ण परिस्थितिहरूसँग जुध्न सहकार्यात्मक दृष्टिकोण अपनाउनु पर्छ ।

लोकतान्त्रिक शासन प्रणालीमा निर्वाचन प्रक्रियाको महत्वपूर्ण भूमिका हुन्छ । फेम्बोसाका सदस्यहरूले एकअर्काप्रति बलियो ऐक्यबद्धता व्यक्त घोषणापत्रमा गरेका छन् । लोकतान्त्रिक मान्यता र मूल्यहरूलाई प्रवर्धन गर्न निर्वाचन इमानदारी कायम राख्न प्रतिबद्ध रहने घोषणापत्रमा उल्लेख छ । निर्वाचन व्यवस्थापन गर्ने संस्थाहरूको संस्थागत साथै मानव क्षमतामा सुदृढीकरण गर्न विभिन्न उपायको खोजी गर्दै सहकार्यको खोजीमा सदस्यको प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने उल्लेख गरिएको छ ।

निर्वाचन व्यवस्थापन निकायबिच ज्ञान उत्पादन र अन्य सम्बन्धित अध्ययन रिपोर्टहरू र अनुसन्धान प्रकाशनको आदानप्रदान गरी आपसी सहयोग र संलग्नता, नीतिगत नवीनता तथा शिक्षालाई थप प्रवर्धन गर्न पुनः प्रतिबद्धता व्यक्त गरिएको छ । भारतको अन्तर्राष्ट्रिय लोकतन्त्र र निर्वाचन व्यवस्थापन संस्थान र भारत निर्वाचन आयोगलाई सदस्य राष्ट्रहरूको निर्वाचन संस्थाहरूमा कार्यरत व्यक्तिहरूको क्षमता, सिप र ज्ञान बढाउन कार्यशाला, सेमिनार र विभिन्न तालिम कार्यक्रमको आयोजना गरेकोमा हार्दिक कृतज्ञता प्रकट गर्दै घोषणापत्रमा भविष्यमा पनि यस्ता तालिम कार्यक्रम र कार्यशाला प्रदान गर्न सम्बन्धित संस्थाहरूलाई आग्रह गरिएको छ ।

जलवायु परिवर्तनले अर्थतन्त्र, जनस्वास्थ्य, जीविकोपार्जनलगायत निर्वाचन प्रक्रिया र संस्थामा प्रतिकूल प्रभाव पार्दै मानव अस्तित्वको खतरा उत्पन्न गरेकाले, वातावरण संरक्षण र संरक्षणका लागि हाम्रो सामूहिक प्रयासको रूपमा नवीन, स्रोत कुशल र वातावरणमैत्री निर्वाचन व्यवस्थापन प्रविधि र अभ्यासलाई प्रवर्धन गर्ने तथा लागु गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ । नवीन सामाजिक सञ्जाल प्लेटफर्मबाट उत्पन्न अवसरहरूलाई लाभ उठाउन सामान्य रणनीति र कार्य योजना निर्माण गर्न र यी उदीयमान प्राविधिक विकासबाट आउने जोखिम र चुनौतीलाई नियन्त्रण र कम गर्न सहयोग प्रवर्धन गर्न फेम्बोसका सदस्य सहमत भएका छन् ।

सबै निर्वाचन प्रक्रियामा आइसिटीको उपयुक्त प्रयोगले निर्वाचनसम्बन्धी प्रक्रिया सञ्चालन, व्यवस्थापन र नियमन गर्न साथै मतदाता, राजनीतिक दल र तिनका उम्मेदवारलाई निर्वाचनसम्बन्धी विषयमा संवेदनशील बनाउन महìवपूर्ण भूमिका खेल्छ भन्ने कुरामा फेम्बोसाका सदस्यले साझा दृष्टिकोण बनाएका छन् । डिजिटल उपकरण र प्रविधिको उच्चतम विकासले निर्वाचन प्रणालीमा नयाँ अवसर र चुनौती दुवै सिर्जना गरेको विषयलाई पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

रोजगार, शिक्षा वा अन्य विविध उद्देश्यका लागि बाहिर रहेका योग्य नागरिकलाई सम्बन्धित फेम्बोसा सदस्य राष्ट्रहरूको प्रचलित कानुनको पालना गर्दै निर्वाचन प्रक्रियामा समावेश गर्नका लागि गरी बढीभन्दा बढी सहभागी, समावेशी गरी बढी बनाउन व्यावहारिक उपाय अवलम्बन गर्न सदस्य राष्ट्रहरू सहमत भएका छन् । साझा उद्देश्य प्राप्त गर्न र निर्वाचन व्यवस्थापनलाई परिणाम–केन्द्रित परिणाम प्राप्त गर्न विगतका सम्मेलन/बैठकमा गरिएका महत्वपूर्ण निर्णय र सहमतिको प्रभावकारी, समयमै र शीघ्र कार्यान्वयनको जोड दिइएको छ । घोषणापत्रमा नेपाल निर्वाचन आयोगलाई फेम्बोसाको अध्यक्षता ग्रहण गरेकोमा बधाई दिइएको छ । साथै फेम्बोसाको घोषणापत्रका उद्देश्य र भावनालाई साकार पार्नका लागि यस कार्यकालमा पूर्ण सहयोग र समर्थन दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

सदस्य राष्ट्रको निर्वाचन व्यवस्थापन निकायमा फेम्बोसाको सचिवालय गठन गर्ने सहमति बैठमा गरिएको छ । सचिवालयले फेम्बोसाको सदस्यको निर्वाचन आयोगहरूसँग नियमित सम्पर्क राख्ने, सामूहिक रूपमा अपनाइएका महत्वपूर्ण नीति साथै कार्यक्रमगत उपायको अभिलेख अद्यावधिक राख्ने, फेम्बोस अन्तर्गत सहकार्यात्मक कार्यको आयोजना गर्ने अपेक्षा गरिएको छ । बाहिरिने अध्यक्षले अर्को फेम्बोसा सम्मेलन/बैठकमा नेतृत्व प्रतिवेदन प्रस्तुत गर्ने विषयमा पनि घोषणापत्रमा समावेश गरिएको छ । 

  

Author

डा. जानकीकुमारी तुलाधर