• १४ पुस २०८१, आइतबार

सात करोड लागतमा कुश्मा बसपार्क निर्माण सम्पन्न

blog

पर्वतको कुश्मामा निर्माण सम्पन्न भएको कुश्मा बसपार्क । तस्बिरः गणेश पौडेल

गणेश पौडेल
पर्वत, भदौ २९ गते । 
पर्वतको सदरमुकाम कुश्मा बजारमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा नं. ६ स्थित बान्द्रेविडी चौरमा बसपार्क निर्माण सम्पन्न भएको हो ।

सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङले सात करोड १५लाख ३० हजार रुपियाँको लागतमा निर्माण सम्पन्न गरेको हो । पर्वतमा सडक सञ्चालन भएको ३३ वर्षपछि बसपार्क निर्माण भएको हो ।

निर्माण सम्पन्न भएको बसपार्क दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । बसपार्क सञ्चालनमा नआउँदा सडकभरी सवारी साधन पार्किङ गरेर राख्नुपर्ने बाध्यता रहेको व्यावसायिहरुको भनाइ छ ।

निर्माण सम्पन्न भएर पनि समयमै सञ्चालनमा नआउँदा ट्राफिक समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सिताराम ओझाले बताउनुभयो । प्रमुख ओझाका अनुसार पर्वत सदरमुकाम कुश्मा बजारबाट दिनहुँ काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगन्ज, भैरहवा, काँकडभिट्टालगायतका लागि सवारीहरू छुट्ने गरेका छन् भने बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्मा हुँदै जाने गर्दछन् ।

मध्य पहाडी लोकमार्गमा दैनिक हजारौँको सङ्ख्यामा सवारी साधनहरू ओहोर–दोहोर हुनुका साथै स्थानीय रुटमा चल्ने सवारीहरूको चापले सडकमा ट्राफिक समस्या हुने गरेको छ । समयमै बसपार्क सञ्चालनमा आए सवारी व्यवस्थापनमा सहज हुने ओझाको भनाइ छ ।

जिल्ला भित्रिएका र बास बस्नुपर्ने सवारी साधनहरू असुरक्षित ढङ्गले सडकमै पार्किङ गर्नुपरेको उहाँले बताउनुभयो । आफूले बसपार्क सञ्चालनका लागि पटक पटक सम्बन्धित निकायमा अनुरोध गरेपनि सुनुवाइ हुन नसकेको प्रमुख ओझाको गुनासो छ ।

बसपार्क सञ्चालनमा आएपछि सडकमै पार्किङ गर्ने, बजार भित्र अव्यवस्थित रूपमा सवारी साधन राख्नुपर्ने र अन्य खालका दुर्घटनाका जोखिम न्यूनीकरण हुने ट्राफिक प्रहरीको भनाइ छ । जिल्लाको ट्राफिक व्यवस्थापनमा समेत सहज हुने प्रहरीले जनाएको छ ।

बसपार्कमा टर्मिनल भवन, यात्रु कक्ष र पसलहरूका लागि सटर निर्माण रहेका छन् । बसपार्कमा साना र ठुला सवारीलाई छुट्टाछुट्टै पार्किङ गर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । बसपार्कबाट नै टिकट काट्न मिल्ने गरी टिकट बुकिङ काउन्टरहरूको समेत व्यवस्था गरिएको छ ।

बसपार्क निर्माणको जिम्मा पाएको विजय राङखोला सिद्धबाबा जेभी कम्पनीका प्राविधिक सविन श्रेष्ठले गत असारमै बसपार्क सम्पन्न भएको बताउनुभयो । श्रेष्ठका अनुसार सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङले स्थानीय कुश्मा नगरपालिकालाई हस्तान्तरण गर्न समय लागेकाले सञ्चालनमा आउन ढिलाइ भएको हो ।