• १६ चैत २०८०, शुक्रबार

सबै निर्वाचन केन्द्रमा सामग्री पठाइयो

blog

रङ्गेली समाचारदाता

विराटनगर, वैशाख २८ गते । प्रदेश १ का एक हजार ८७७ मतदान स्थलमा मङ्गलबार साँझसम्ममा निर्वाचन सामग्री पुगिसक्ने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । प्रादेशिक निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार सबै जिल्लामा निर्वाचन सामग्री पठाइसकिएको छ ।

“हिमाली तथा पहाडी जिल्लामा कुनै असजिलोबिनै निर्वाचन सामग्री पुगिसकेका छन्,” अधिकारीले भन्नुभयो, “तराईका जिल्लामा पनि सामग्री पठाइसकेका छौँ ।” विराटनगर महानगरपालिकासहित झापा, मोरङ र सुनसरी जिल्लाका स्थानीय तहमा मङ्गलबार मतपत्र पठाइएको हो । प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ जना मतदाता छन् । मतदानका लागि चार हजार ५१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

मतदान केन्द्रमा आवश्यक पर्ने संरचना निर्माणको काम पनि सुरु भइसकेको छ । मतदान केन्द्रमा खटिने निर्वाचन कर्मचारीसमेत पुगिसकेका छन् । कार्यालयका प्रमुख अधिकारीका अनुसार निर्वाचन कर्मचारीले मङ्गलबार केही सूचना प्रकाशन गर्ने, मुचुल्का बनाउनेलगायतका काम गर्नेछन् । 

निर्वाचनको अन्तिम तयारीसँगै सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागको टोली खटाइएको छ । जरुरी पर्दा हवाई गस्ती गर्ने गरी हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । 

प्रदेश १ प्रहरी प्रमुख अरुणकुमार बीसीले १४ जिल्लामै सुरक्षा चुनौती नरहेको बताउनुभयो । उहाँले मतदान केन्द्रको पहिलो लहरमा खटिने नेपाल प्रहरी परिचालन भइसकेको जानकारी दिनुभयो । प्रदेश १ मा भारत तथा चीनसँग सीमा जोडिएका जिल्लाका सीमा नाका बुधबारदेखि सिल गरिने भएको छ । भारतसँग इलाम, झापा, मोरङ र सुनसरी जोडिएका छन् । यी जिल्लाका सीमा मङ्गलबार राति १२ बजेदेखि सिल हुनेछन् ।