• २९ भदौ २०८१, शनिबार

पारा तेक्वान्दो ‘क्विन’ पलेशा

blog

केही समयअघिसम्म नेपाल र ओलम्पिक/पारा ओलम्पिक पदक, यो एउटा यस्तो विरोधाभास थियो; जसलाई प्रमाणित गर्न जरुरी थिएन । किनभने हरेक ओलम्पिक/पारा ओलम्पिकमा नेपालको उपलब्धि सहभागितामा मात्र सीमित थियो । विश्व खेलकुदको ठुलो मेलामा नेपालले सहभागिताको परम्परालाई मात्र पछ्याउने गथ्र्याे । तेक्वान्दोकै सङ्गिना वैद्य, दीपक विष्ट जस्ता केही प्रतिभा अगाडि नआएका होइनन्; जसबाट ओलम्पिकमा केही अपेक्षा थियो । ओलम्पिक स्तर र दबाबका अगाडि यी खेलाडीले पनि निराश मात्र पारे । यद्यपि नेपालको दशकौँको पर्खाइलाई पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले समाप्त पार्नुभएको छ, पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेर । अब हामी नेपालीसँग पनि ओलम्पिक पदक छ भनेर गर्वका साथ भन्न सक्छौँ । सर्भियाकी मारिया मिचेभविरुद्ध १५–८ को जितसहित २१ वर्षीय पलेशाले कांस्य पदक हासिल गरी नेपाली खेलकुदलाई अहिलेसम्मको ठुलो उपलब्धि दिलाउनुभएको हो । के–४४ क्याटागोरी अन्तर्गत महिला ५७ केजीमुनि पलेशाको उपलब्धि पारा ओलम्पिकमा नेपालको यो पहिलो पदक हो । 

पलेशाले तीन वर्षअघि टोकियो पारा ओलम्पिकमा पनि खेल्नुभएको थियो । सो समय पलेशा दुई बाउट जितेर कांस्य पदक भिडन्तसम्म पुगेर निराश बन्नुभयो । यद्यपि सो दुई बाउटमा जित नै नेपालका लागि ऐतिहासिक बनेको थियो । यसअघि पारा ओलम्पिकमा दुई खेल जित्ने खेलाडी पनि थिएनन् । त्यसैले सबै त्यसैमा खुसी थिए तर नजिक पुगेर पदक गुमाएको पलेशाको पीडालाई कसैले महसुस गरेनन् । पलेशाले सो पीडा पेरिस ओलम्पिकमा पदक जितेर मात्र मेटाउनुभयो । यसपालि पनि कांस्य पदक भिडन्तमा पलेशा सर्भियाका खेलाडीसँग पछाडि परिसक्नुभएको थियो तर अन्तिम ३० सेकेन्डमा लगातार स्कोर गरी पलेशाले इतिहास बनाउनुभयो । उहाँका अनुसार पछिल्लो पारा ओलम्पिकको हारले ठुलो शिक्षा मिल्यो । “यस पटक म मानसिक रूपमा सशक्त बनिसकेको थिएँ । दबाबलाई मैले आफ्नो शक्ति बनाएँ । आफूलाई बलियो बनाएँ । यस खेलका लागि आफूले भोगेको दुःख अगाडि आयो । आमाबुवाको त्याग, समर्पण सम्झेँ । त्यो अन्तिम ३० सेकेन्ड मैले विपक्षी खेलाडीको चेस्ट प्याड मात्र देखेँ । त्यही एकाग्रताले अन्तिम समयमा लगातार अङ्क जित्न सकेँ र इतिहास बन्यो,” उहाँले भन्नुभयो ।

भगवान्कै इच्छा

पलेशाकै कुरा मान्ने हो भने पेरिस पारा ओलम्पिक पदक भगवान्कै इच्छा जस्तो लाग्छ । हुन पनि पलेशा पारा ओलम्पिक छनोटअघि अध्ययनका लागि चीनमा हुनुहुन्थ्यो । युनिग्लोब कलेजबाट १२ कक्षा उत्तीर्ण भएपछि पढाइलाई पलेशाले प्राथमिकतामा राख्नुभएको थियो । त्यसैले चीनको एक युनिभर्सिटीमा आर्किटेक्चर पढ्न जानुभयो । चीन जाँदा अब खेल्दिनँ भन्ने पलेशालाई भइसकेको थियो । यसबिच पारा एसियाली खेलकुद चीनको होङजाउमा हुने भयो । पलेशा अभ्यासमा हुनुहुन्थेन तर यसअघि पारा तेक्वान्दोमा नेपालको प्रतिनिधित्व गर्दै थुप्रै पदक जितिसकेको हुनाले पलेशालाई टिममा परेको नेपालबाट जानकारी गराइयो । एसियाड हुने स्थान पलेशाको कलेजबाट एक घण्टाको दुरीमा थियो । त्यसैले पलेशाले पारा एसियाड खेल्ने मन बनाउनुभयो । “सायद चीनबाहिर भएको भए पारा एसियाड खेल्न जान्न थिएँ,” पलेशाले भन्नुभयो । सो पारा एसियाडमा पलेशाले कांस्य पदक जित्नुभयो । पलेशाको सो पदक पनि नेपालका लागि ऐतिहासिक थियो । पारा एसियाडमा नेपालको यो पहिलो पदक हो । त्यसपछि फेरि पलेशा पढाइको चटारोले नियमित अभ्यासबाट टाढा हुनुभयो । 

यसबिच पेरिस पारा ओलम्पिकको एसियाली छनोट चीनमै हुने भयो । फेरि नियतिले पलेशालाई तेक्वान्दोबाट पर हुन पाइँदैन भन्ने सन्देश दियो । यसपालि भने पलेशा छनोट खेल्ने÷नखेल्ने दोधारमा हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “खेल्नै मन थिएन । पढाइ बिग्रन्छ कि भन्ने थियो । कोचहरूको पनि मप्रति विश्वास थिएन । ल तिम्रो अन्तिम खेल हो, जितेन भने वाइल्ड कार्डबाट ओलम्पिक जाने हो भन्नुभयो । सो वाक्यले भने मेरो ‘इगो हर्ट’ भयो । खेलेकै छैन, हारिहाल्छ नि जस्तो कुरा गरेपछि रिस पनि उठ्यो । त्यसपछि चाहिँ छनोटमा च्याम्पियन नै भएर पेरिसमा छनोट हुन्छु भनेर इख राखँे । आफ्नै खर्चमा चीनमा ट्रेनिङ गर्न थालेँ । जिम गर्न थालेँ । पढ्नु पनि पथ्र्यो । बिहान ४ बजेर उठेर दौडने गर्थें । तेक्वान्दो अभ्यास गर्ने हल थियो तर खाली हुँदैनथ्यो । दौडने मात्र भयो, किकिङ अभ्यास नै गर्न पाइनँ । टे«निङ पार्टनर पनि थिएन । सो समयमा भिडियो हेरेर धेरै कुरा सिकेँ । जसरी पनि आफूलाई प्रमाणित गर्नु छ, स्वर्ण पदक जित्नु छ भन्ने इख थियो तर एक्लै थिएँ । कसैको साथ थिएन । त्यसैले घरपरिवारले पनि अभ्यासमा नभएको ठानेर पलेशा अब तिमीले सक्दैनौ भन्न थालिसकेका थिए । पारा ओलम्पिक छनोट नै पलेशाको अन्तिम प्रतियोगिता हो भनेर बुवाआमाले नै मानिसक्नुभएको थियो तर म आत्तिइनँ । म सोच्थेँ– यत्तिमै पलेशाको बारेमा चलचित्र बन्यो भने त्यो प्रेरणादायी हुँदैन । पारा अ‍ोलम्पिक खेल्यो, छनोटमा हा¥यो र चलचित्र सकियो । मलाई यो कथा मन परेन । आफ्नो कथा प्रेरणादायी बनाउन पनि जित्नै पर्छ भनेर मानसिक रूपमा आफँैलाई बलियो पारेँ । गोल्ड मेडल नै ल्याउने सङ्कल्पसहित कडा प्रशिक्षण गरेँ । खेलको दिन सबैलाई मैले कसरी खेल्छु भन्ने शङ्का थियो । पहिलो खेलमा उज्बेकिस्तानकी खेलाडीलाई हराएपछि सबैको विश्वास ममाथि फर्कियो । झन् स्वर्ण पदक जितेपछि सबै छक्क । नेपाली सञ्चार माध्यममा छनोट भएर पारा ओलम्पिक खेल्ने पहिलो खेलाडी पलेशा, ‘हिस्टोरी मेकर’ भन्ने समाचार आए । त्यसपछि त झन् उत्साहित बनेँ । फेरि सङ्कल्प गरेँ, अब पारा ओलम्पिकमा स्वर्ण पदक जित्ने छु ।” 

परिवार र प्रशिक्षकको साथ

कुनै पनि सफलता ‘ओभरनाइट’ प्राप्त हुँदैन । खेलकुदमा पनि त्यस्तै हो । सफल खेलाडी हुन लगन, त्याग, समर्पण र अभ्यास मात्रले कदापि पुग्दैन । आमाबुवा, घरपरिवार, प्रशिक्षकको पनि उत्तिकै भूमिका रहन्छ । अझ पलेशा बायाँ हातको नाडीमुनिको भागबिना जन्मनुभएको थियो । यस्तो बच्चा जन्मिँदा जोसुकै आमाबुवाको मन खिन्न हुन्छ । पलेशाका आमाबुवालाई पनि त्यस्तै भयो । पलेशाको परिवारले पनि आफ्नी छोरीको बायाँ हात सकेसम्म लुकाउने कोसिस नगरेको होइन । पलेशा पनि बाल्यकालमा आफ्नो बायाँ हात लुकाउने गर्नुहुन्थ्यो तर उहाँमा सानैदेखि जेसुकै पनि गर्न सक्छु भन्ने भावना थियो । कसैले तिमी सक्दैनौ भने पनि रिसाइहाल्ने; जसले पलेशाका आमाबुवाको सोचाइ पनि बदलियो । त्यसपछि त पलेशाको परिवारले छोरीलाई कमजोर छ भन्ने सोचाइ कहिल्यै दिएन । बुवाको प्रेरणा अनि आमाको साथ । पलेशाले पनि खेलाडी बन्न आमाब्ुवाको कति समय र प्रयास हुन्छ भन्ने पहिल्यै बुझिसक्नुभएको थियो । “मामु अभ्यासमा आउनुहुन्छ । अभ्यास छुटाउनु हुन्न । यी दुवै मेरो खेलका नियमित दर्शक र समर्थक हुनुहुन्छ । रङ्गशालामा अभ्यास गर्दा पु¥याउने मात्र होइन, खेल नसकिएसम्म घण्टौँ कुरेर बस्नुहुन्छ । जति नै जाडो होस् वा गर्मी,” पलेशाले भन्नुभयो । 

पलेशालाई परिवार मात्र होइन, सही समयमा सही मार्गदर्शक र प्रशिक्षकहरूको पनि साथ प्राप्त भयो । पलेशाले रहरैरहरमा डिएभी स्कुलमा अतिरिक्त क्रियाकलाप अन्तर्गत तेक्वान्दो रोज्नुभएको हो । पलेशाले कक्षा ५ मा छँदा तेक्वान्दो खेल्न सुरु गर्नुभएको थियो । स्कुलमा अन्य धेरै खेल थियो चयन गर्न तर बाल्यकालदेखि अधैर्य स्वभावकी, हातखुट्टा चलाउन औधी मन पर्ने पलेशाले तेक्वान्दो रोज्नुभयो– मान्छे कुट्न पाउँछु भनेर । पलेशामा तेक्वान्दो खेल्ने स्वाभाविक गुण थियो । त्यसैले पारा तेक्वान्दो कमिटीका प्रशिक्षकहरूको पारा खेलाडीको खोजीमा स्कुल स्कुल पुग्ने क्रममा पलेशामाथि नजर प¥यो । स्कुलमा हप्ताको एक दिन तेक्वान्दो अभ्यास गर्ने पलेशालाई रङ्गशालामा दैनिक कडा प्रशिक्षण गरेपछि वास्तविक रूपमा यो खेलबारे ज्ञान भयो । त्यसपछि कल्याण कुँवर र कविराज नेगीको रेखदेखमा पलेशाले अझ गम्भीर प्रशिक्षण गर्न थाल्नुभयो । सो समय पनि पलेशालाई पारा तेक्वान्दो हुन्छ भन्ने थाहा थिएन । तेक्वान्दोमा खेल्दै गर्दा मात्र आफू जस्तो शारीरिक रूपमा अपाङ्गता भएकाहरूको पनि छुट्टै प्रतियोगिता र ओलम्पिक हुन्छ भन्ने पलेशाले थाहा पाउनुभएको हो । त्यसपछि त पहिल्यै आत्मविश्वासी पलेशाको साहस अझ बढ्दै गयो र पारा तेक्वान्दोमा लामो यात्रामा हिँड्न सफल हुनुभयो ।

यस यात्रामा हरपल सारथीका रूपमा पलेशाको साथमा रहनुभएका प्रशिक्षक नेगीको योगदानलाई पनि बिर्सन मिल्दैन । पलेशा पनि प्रशिक्षक नेगीसँगको लामो साझेदारीलाई दुईबिचको समझदारी हो भन्नुहुन्छ । पारा तेक्वान्दो गुरु बन्नु प्रशिक्षक करिअरको जोखिम पनि हो । पारा तेक्वान्दोमा इच्छा देखाउने खासै छैनन् । किनभने यो सजिलो काम होइन । सबलाङ्गलाई सिकाउनु र फरक क्षमता भएकालाई सिकाउनुमा आकाश जमिनको फरक हुन्छ । सबभन्दा पहिले त खेलाडीको मनोविज्ञान बुझ्नु पर्छ । प्रशिक्षकले सिकाउने क्रममा पनि अभिभावक र सहयोगीको जिम्मेवारी बेहोर्नु पर्छ । समाजसेवाको भावना भएका नेगीले भने पारा तेक्वान्दो खेलाडीलाई सिकाउन कहिल्यै छोड्नुभएन । पलेशाका अनुसार पारा तेक्वान्दो खेलाडीलाई सिकाउँछु भनेर धेरै आए तर छोडेर गए । नेगी गुरुले कहिल्यै झर्को मान्नुभएन । उहाँ खेलाडीको मनोभावना बुझ्ने प्रशिक्षक हुनुहुन्छ । त्यसैले उहाँको प्रशिक्षणमा खेल्न सहज हुन्छ ।

नेगीको प्रशिक्षकत्वमा पलेशाले पेरिस पारा ओलम्पिकसहित छ अन्तर्राष्ट्रिय पदक जित्नुभयो । पलेशाले नेपालमा भएको दोस्रो काठमाडौँ ग्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, बहराइनको मानामामा भएको एसियाली युथ पारा गेम्स र चीनको ताइयानमा पेरिस ओलम्पिककै लागि भएको एसियाली छनोटमा स्वर्ण पदक जित्नुभएको छ । 

टोकियो पारा ओलम्पिकमा उहाँ वाइल्ड कार्डमार्फत सहभागी हुनुभयो । सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो तथा चीनको होङजाउमा भएको चौथो एसियाली पारा खेलकुदमा पलेशाले कांस्य पदक जित्नुभयो । पलेसासँग लन्डन र टर्कीमा भएको दुई विश्व च्याम्पियनसिप, जोर्डनमा भएको पाँचौँ एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप, टोकियो पारा ओलम्पिकको छनोट, टोकियो पारा ओलम्पिक, साउदी अरबमा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स तथा भियतनाममा भएको नवौँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव पनि छ । अन्त्यमा पलेशा सबैलाई ‘नेभर गिभअप’ भन्ने सन्देश दिनुहुन्छ । “आफूमा विश्वास गर्नु पर्छ । आफूले आफूलाई विश्वास ग¥यो भने हिम्मत आउँछ । मलाई पनि कसैले विश्वास गरेको थिएन तर आफूमाथिको विश्वासले अहिले नेपाललाई पारा ओलम्पिक पदक दिलाउन सफल भएकी छु,” उहाँ भन्नुहुन्छ ।