• १६ जेठ २०८२, शुक्रबार

विश्वमा चिनिँदै नेपाली खेलकुद

blog

गणतन्त्रको मापन समृद्धि हो । आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्यको विकास नै समृद्धिको आधार मानिन्छ । यद्यपि विश्व परिप्रेक्ष्यलाई हेर्ने हो भने खेलकुदलाई पनि समृद्धिको एक आधार मानिन्छ । खेलकुदको विकासबिना मुलुकमा समृद्धि सम्भव छैन भन्ने मान्यता विकसित राष्ट्रमा छ । विश्वमा जति पनि समृद्ध देश छन् ती सबै खेलकुदमा अब्बल छन् । यसबाट पनि समृद्धिका लागि खेलकुदको विकास हुनु पर्छ भन्ने थाहा हुन्छ । 

देशलाई चिनाउने एउटा सशक्त माध्यम हो, खेलकुद । नेपाल पनि खेलकुदको क्षेत्रमा अहिले समृद्धिको बाटोमा छ । गणतन्त्रपछिको १८ वर्षमा राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा थुप्रै नीतिगत परिवर्तन देखिए । यस्ता परिवर्तनबाट खेलकुद क्षेत्र पनि लाभान्वित भएको छ । नयाँ खेलकुद ऐन लागु भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ कार्यान्वयनमा आएपछि २०४८ को खेलकुद ऐन खारेज भएको थियो ।

नयाँ ऐन आएपछि खेलकुद विकेन्द्रीकरण भएको छ । तीन तहको सरकारमा खेलकुदका लागि बजेट विनियोजित भएको छ । जसले गर्दा स्थानीय सरकारले भौतिक पूर्वाधारमा मात्र होइन आफ्नै नाममा पनि प्रतियोगिता गर्ने परम्परा बसेको छ । अहिले नेपालमा प्रधानमन्त्री कप, मुख्यमन्त्री कप, मेयर कप, अध्यक्ष कप शीर्षकमा देशभर नै प्रतियोगिता हुने गरेका छन् । यस्ता खेल गतिविधिले नेपाली खेलकुदका लागि फाइदा पुगेको छ । यद्यपि अहिले पनि नेपाली खेलकुदमा निजी लगानी पर्याप्त छैन । खेलकुदलाई चलायमान बनाउन सरकारबाट करिब ९० प्रतिशत लगानी भइरहेको छ । आफ्नै बलबुताले चलेका राष्ट्रिय सङ्घ नगण्य छन् । खेल सङ्घ सरकारको खेलकुद बजेटमै निर्भर रहेको छ ।

गणतन्त्र आउनुअघि र अहिलेको खेलकुद बजेटमै पनि आकाश जमिनको अन्तर भइसकेको छ । गणतन्त्र आउनुअघिको अन्तिम वर्षको युवा तथा खेलकुद र संस्कृतिका लागि कुल बजेट २०३ मिलियन (२०.३ करोड रुपियाँ) मात्र थियो । जुन कुल बजेटको ०.१२ प्रतिशत मात्र खेलकुदका लागि थियो । पछिल्ला आर्थिक वर्षको बजेट तीन अर्ब ५० करोड रहेको छ । 

त्यसैले सायद नेपाली खेलकुदको गति अगाडि बढे पनि सुस्त गतिमा छ तर विगतमा विश्व खेलकुदको मानचित्रमा खोज्न गाह्रो नेपाली खेलकुद अहिले देखिन थालेको छ । खेलकुदको सफलता अन्तर्राष्ट्रियस्तरमा खेलाडीले प्राप्त उपलब्धिले नै मापन गर्ने हो । नेपाली खेलाडी विश्वमा फाट्टफुट्ट भए पनि आफ्नो उपस्थिति देखाउन थालेको छ । यसमा क्रिकेटको सबैभन्दा अगाडि आउँछ । गणतन्त्रपछि नेपाली क्रिकेटले ठुलो फड्को मारेको छ । अहिले क्रिकेटकै नाममा पनि नेपाललाई चिनिने गर्छ । विगतमा असम्भव देखिएको टी–२० क्रिकेट विश्वकपमा नेपालले दुई पटक सहभागिता जनाइसकेको छ । नेपालले दुवै विश्वकपमा आफ्नो प्रदर्शनले विश्वकै ध्यान आफूतिर केन्द्रित गरेको थियो । क्रिकेटमा नेपालको पछिल्लो एक दशक स्वर्णिम युग नै भने हुन्छ तर नेपालले अझ पनि भारत र पाकिस्तान जस्ता ठुला टिमसँगको परीक्षामा उत्तीर्ण हुन सकेको छैन ।

गणतन्त्रपछि अन्य खेलमा पनि केही उपलब्धि हासिल भएका छन् । नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) सफलतापूर्वक आयोजना ग¥यो । यत्ति मात्र होइन सो दक्षिण एसियाको सबैभन्दा ठुलो खेलकुद मेलामा नेपालले ५१ स्वर्णसहित कुल २०६ पदक जितेर इतिहास कायम ग¥यो । नेपालले सागमा यति धेरै स्वर्ण र पदक जितेको यो पहिलो पटक हो । सोही सागमा गौरिका सिंह चार स्वर्ण, दुई रजत र एक कांश्यसहित दक्षिण एसियाली खेलकुदमा नेपालकै सर्वाधिक सफल खेलाडी बन्नुभयो । उहाँले १३ वर्षमै रियो ओलम्पिकमा सहभागिता जनाएर सो ओलम्पिककै कान्छी खेलाडीको कीर्तिमान बनाएर नेपाललाई दृश्यमा ल्याउनुभएको थियो । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सन् २०२२ मा जुनियर विश्व ब्याडमिन्टका वरीयतामा शीर्ष स्थानमा रहेर नेपालको नाम चम्काउनुभयो । टेबलटेनिसका स्यान्टु श्रेष्ठ छनोट चरण पार गरेर पेरिस ओलम्पिकमा चयन हुनुभयो । कराँतेकी एरिका गुरुङले होन्जाउ एसियाडमा रजत पदक जितेर सन् १९९८ मा सविता राजभण्डारीले राखेको कीर्तिमानको बराबरी गर्नुभयो । महिला भलिबलले एभिसी सेन्ट्रल जोन भलिबलमा स्वर्ण र सागमा रजत पदक जितेर प्रगति पथमा रहेको देखाउनुभयो ।

टिम गेमको कुरा गर्ने हो भने नेपालको पुरुष र महिला टिमले नै खो खो विश्वकपको पहिलो संस्करणको उपाधि भिडन्त गरे । नेपालले कुनै पनि स्तरको विश्वकपको फाइनल खेलेको यो पहिलो पटक हो । त्यसैले टिम गेममा नेपाली खेलकुदका लागि यो सबैभन्दा ठुलो उपलब्धि बन्यो । नेपालको मौलिक खेल कबड्डी पनि नेपाल एसिया स्तरमै कांस्य पदक जित्ने स्तरमा पुगिसकेको छ । नेपाल महिला फुटबल त चाँडै विश्वकपमा खेल्न सक्ने टिमका रूपमा प्रस्तुत भएको छ । केही समयअघिसम्म नेपाल र ओलम्पिक/पारालम्पिक पदक, यो एउटा यस्तो विरोधाभास थियो, जसलाई प्रमाणित गर्न जरुरी थिएन । हरेक ओलम्पिक/पारालम्पिकमा नेपालको उपलब्धि सहभागितामा मात्र सीमित थियो । विश्व खेलकुदको ठुलो मेलामा नेपालले सहभागिताको परम्परालाई मात्र पछ्याउने गर्दथ्यो । नेपालको दशकौँको पर्खाइलाई पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनले समाप्त पार्नुभएको छ, पेरिस पारालम्पिकमा कांस्य पदक जितेर । अब नेपालले पनि ओलम्पिक पदक छ भनेर गर्व गर्न सक्ने भएको छ ।

अहिले विश्व खेलकुद एक उद्योगका रूपमा स्थापित भइसकेको अवस्था खेलकुदबाट समृद्ध ल्याउन विश्वस्तरीय खेलाडी उत्पादन नितान्त आवश्यक छ । नेपालका क्रिकेटर सन्दीप लामिछाने यसको सबैभन्दा गतिलो उदाहरण हुन सक्छ । केही वर्षअघि सन्दीप ग्लोबल क्रिकेटर बन्नुभएको थियो । उहाँ विश्वका हरेक देशको फ्रेन्चाई लिगमा करोडौँमा आबद्ध हुनुहुन्थ्यो । अहिले पनि केही खेलाडी विश्वका विभिन्न ठाउँमा व्यावसायिक खेलाडी जीवन व्यतीत गरिरहेका छन् । नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ अन्तर्राष्ट्रिय रूपमै चर्चित हुनुहुन्छ ।

सन्दीप र सावित्रा जस्ता विश्वस्तरीय खेलाडी उत्पादन गर्न खेलकुदमा लगानी त आवश्यक छ नै भौतिक पूर्वाधार अर्को ठुलो पक्ष हो । खेलकुद विकासको महत्वपूर्ण आधार हो, भौतिक पूर्वाधार । भौतिक पूर्वाधारबिना समृद्ध खेलकुदको कल्पना गर्न सकिन्न । नेपाली खेलकुद यस मामिलामा कमजोर छ । त्यसैले नेपाली खेलकुदमा भौतिक पूर्वाधारको कमीकमजोरीबारे सधैँ चर्चा हुने गर्छ । २०७२ सालको महाभूकम्पले कमजोर पूर्वाधारलाई अझ पछाडि धकेलिदियो । राखेपले त्योबेला सार्वजनिक गरेको प्रतिवेदन अनुसार भूकम्पले दशरथ रङ्गशालासहित अन्य आठ रङ्गशाला र १४ कभर्ड हल क्षतिग्रस्त भएका थिए । यसबाट नेपाली खेलकुदलाई महाभूकम्पले गरेको अपूरणीय क्षतिको अनुमान लगाउन सक्छौँ । यद्यपि त्यसपछि भने देशभर पूर्वाधार निर्माणको लहर नै चल्यो । एक प्रदेश, एक अन्तर्राष्ट्रिय रङ्गशालाको अवधारणा पनि बन्यो । स्थानीय सरकराले पनि आआफ्नो ठाउँमा खेलकुद पूर्वाधारमा ध्यान दिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तथ्याङ्क अनुसार गणतन्त्रपछि देशभर निर्माण भएका र निर्माणाधीन ३८ ठुला खेलकुद पूर्वाधार छन् । जसमध्ये विभिन्न जिल्लामा १९ वटा सेमिकभर्ड हल निर्माण भएका छन् । इटहरी रङ्गशाला, पोखरा रङ्गशाला, सातदोबाटो कराँते एकेडेमी, तेक्वान्दो एकेडेमी, स्क्वास हल, टेनिस एकेडेमी, च्यासल फुटबल रङ्गशाला, पोखरामा ब्याडमिन्टन कभर्ड हल, टेनिस कार्ड, आर्चरी एकेडेमी, मोरङमा टेनिस कोर्ड, रामेछापमा सुनापति कभर्ड हल, कीर्तिपुर कभर्ड हल, धनगढी कभर्ड हल, दमक कभर्ड हल, बेलझुन्डी रङ्गशाला, बर्दियामा कबड्डी, खो खो हल र नेपालगन्जमा जुडो हल निर्माण भएका छन् । धरान रङ्गशाला, गौरीटार रङ्गशाला, सिमरा रङ्गशाला, वीरगन्ज बहुउद्देश्यीय कभर्ड हल, भैरहवा क्रिकेट एकेडेमी, धनगढी रङ्गशाला, कोहलपुर महिला क्रिकेट एकेडेमी, पोखरा क्रिकेट रङ्गशाला, मोरङ क्रिकेट रङ्गशाला, तेक्वान्दो हाइएल्टिच्युड सेन्ट, फिदिम रङ्गशाला निर्माणाधीन अवस्थामा रहेका छन् । कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, वीरगन्ज रङ्गशाला, नेपालगन्ज रङ्गशाला र पोखरामा स्क्वास कोर्टको स्तरोन्नति भइरहेको छ ।

यी उदाहरण हेर्दा सरकारबाट नेपाली खेलकुदको पूर्वाधार विकासमा भएको पहल सन्तोषजनक मान्न सकिन्छ । यद्यपि यीमध्ये धेरै भौतिक पूर्वाधार राष्ट्रिय खेलकुदको बहानामा भएका पनि छन् । सरकारको भनाइ मान्ने हो भने अबका केही वर्षमा नेपाली खेलकुदमा अझ धेरै पूर्वाधार बन्ने छाँट छ । नेपाली खेलकुदमा अहिले सकारात्मक अर्को पक्ष भनेको नेपालमा प्रतिभाशाली खेलाडीको कमी छैन र यहाँ खेलकुद क्रेज पनि उत्तिकै छ । यहाँ जुनसुकै खेल होस् हामी मैदानमा भरिभराउ दर्शक पाउन सक्छौँ । त्यसैले बिस्तारै भए पनि कर्पोरेट हाउस पनि बिस्तारै भए पनि खेलकुदमा लगानी गर्न हौसिएका छन् । जुन खेल समृद्धिका लागि सकारात्मक सङ्केत मान्न सकिन्छ । यसको सबैभन्दा ठुलो उदाहरण हालै भएको नेपाल प्रिमियर लिग (एनपिएल) लाई मान्न सकिन्छ । एनपिएलमा करिब एक अर्ब रुपियाँको लगानी भएको थियो । एनपिएलले पनि विश्वमा नेपाली खेलकुदलाई चिनाउन धेरै सहयोग पुगेको थियो ।