• १८ जेठ २०८२, आइतबार

खेलकुदमा हालसम्मकै ठुलो बजेट

blog

काठमाडौँ, जेठ १६ गते । नेपाली खेलकुदले हालसम्मकै ठुलो बजेट प्राप्त गरेको छ । सरकारले युवा तथा खेलुकद मन्त्रालयका लागि छ अर्ब आठ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा झन्डै दोब्बर हो । पछिल्लो आवको बजेट तीन अर्ब ५० करोड रुपियाँ रहेको थियो । 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालय र समग्र खेलकुद क्षेत्रको विकासका लागि सो रकम विनियोजन गरेको बताउनुभयो । उहाँले खेल पूर्वाधारको निर्माण र खेलाडीको व्यावसायिकता विकासका लागि लगानी बढाउँदै लगिने र खेलाडीमा ‘म जित्न सक्छु’ भन्ने उच्च मनोबल विकास गर्न निरन्तर प्रशिक्षण र प्रतियोगिता सञ्चालन गरिने उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले खेल पूर्वाधार निर्माण गर्न बजेटमा उल्लेखनीय वृद्धि गरेको बताउनुभयो । उहाँले प्रस्तुत गरेको बजेट अनुसार झापाको दमकमा सबै प्रकारका खेल प्रतियोगिता आयोजना गर्न सकिने अन्तर्राष्ट्रियस्तरको आधुनिक रङ्गशाला निर्माण गरिने भएको छ । खेल विधाको विविधीकरण र खेल पर्यटन प्रवर्धनका लागि सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाई अल्टिच्युड स्पोर्ट्स रङ्गशाला निर्माण हुने छ ।

अन्तर्राष्टिस्तरमै उपलब्धि हासिल गरेको नेपाली क्रिकेटलाई बजेटमा विशेष प्राथमिकतामा दिइएको छ । काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला, मोरङको गिरिजाप्रसाद कोइराला रङ्गशाला, कैलालीको फाप्ला क्रिकेट रङ्गशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला निर्माणका लागि ४२ करोड रुपियाँ विनियोजन गरिएको छ । कीर्तिपूरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्तरोन्नतिका लागि पनि ४० करोड रुपियाँ छुट्याइएको छ । गत फागुनदेखि त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट्स जडान गर्ने कार्य भइरहेको छ । 

यसै गरी त्रिभुवन विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्याङ्नका आधारमा चितवनस्थित गौतम बुद्ध क्रिकेट रङ्गशालामा सिर्जित सम्पत्ति खरिद गर्न ससर्त अनुदानको व्यवस्था भएको छ ।

नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटलाई प्राथमिकतामा राखेकोमा खुसी व्यक्त गर्नुभयो । “पूर्वाधार कमजोर नै थियो । यसमा पहल भएकोमा खुसी लागेको छ । एउटा क्रिकेट रङ्गशाला निर्माण गर्न अर्ब खर्च हुन्छ तर पनि राम्रो सुरुवात भएको छ । यो बजेट हेर्दा राजनीतिक दलको प्राथमिकतामा खेलकुद पर्दै गएको भान भएको छ ।”

यसै गरी उपप्रधानमन्त्री पौडेलले सुर्खेतको वीरेन्द्रनगरमा १० औँ राष्ट्रिय खेलकुदको आयोजना गर्न ५४ करोड रुपियाँ विनियोजन गर्नुभएको छ । तीन पटक मिति सरेको राष्ट्रिय खेलकुदका लागि गत वर्ष पनि ६० करोड रुपियाँ विनियोजन गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले छ अर्बको बजेट आउनु उत्साहप्रद हो भन्नुभयो । “राखेपले विभिन्न कार्यक्रममा माग गरेको बजेटभन्दा धेरै अएको छ । जुन सकारात्मक छ । कार्यक्रम केही थपिएका छन्, केही संशोधन भएका छन् । बजेट बढ्नु चुनौती पनि हो । यसलाई तिनै तहको सरकारले खेलकुदमा कसरी कार्यान्वयन गर्छ भन्ने चुनौती छ,” उहाँको भनाइ छ । 

 बजेटमा महिला खेलकुद, डोपिङ र पदक विजेता खेलाडीलाई पनि सम्बोधन गरिएको छ । अन्तर्राष्ट्रिय खेलकुदमा पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहन गरिने र खेलाडी तथा प्रशिक्षकलाई प्रदान गरिँदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिइने कुरालाई बजेटमा समेटिएको छ । खेलकुदमा महिला सहभागिता अभिवृद्धि गर्न महिलालक्षित प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गर्ने तथा उत्कृष्ट महिला खेलाडीका लागि पुरस्कारको विशेष व्यवस्था गरिने उपप्रधानमन्त्री पौडेलले बताउनुभयो । खेलकुदलाई डोपिङमुक्त गर्ने अभियान अन्तर्गत राष्ट्रिय एन्टी डोपिङ एजेन्सी सञ्चालन गर्न पनि आवश्यक बजेट व्यवस्था गरिएको छ ।

जगदेखि नै खेलकुदलाई बलियो बनाउनेतर्फ पनि सरकारले ध्यान पु¥याएको छ । प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्ट्स एकेडेमी सञ्चालन गर्न बजेट व्यवस्था गरेको गरिएको छ ।