नेपालमा कबड्डीको इतिहास लामै छ । यस खेलले जति लोकप्रियता कमाउनुपर्ने हो, जति उपलब्धि हासिल गर्न पाउनुपर्ने हो त्यो हुन सकेको छैन । अहिले नेपालको महिला टिम अन्तर्राष्ट्रिय कबड्डीमा सफलतातर्फ अग्रसर छ । जसको श्रेय मुख्य रूपमा कप्तान मानमती विष्टलाई जान्छ ।
गत वर्ष १९ औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले कांस्य पदक जितेर इतिहास बनायो । एक खेलाडीका रूपमा मानमतीले शानदार प्रदर्शन गरेकी थिइन् । केही महिनापछि नै नेपाल कबड्डी सङ्घले कप्तान बनाएर मानमतीलाई सम्मानित गर्यो । उनलाई थाइल्यान्डमा हुने एसियालीस्तरको कबड्डी प्रतियोगिताका लागि कप्तान बनाइएको थियो तर सो प्रतियोगिता रद्द भयो ।
त्यसपछि मानमतीले इरानमा भएको छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा पहिलो पटक राष्ट्रिय टिमको नेतृत्व गरिन् । एक उदाहरणीय कप्तानका रूपमा प्रस्तुत भएर मानमतीले नेपाललाई तेस्रो स्थान दिलाइन् । त्यसपछि नेपालले यही वैशाखमा बङ्गलादेशविरुद्ध पाँच खेलको कबड्डी शृङ्खला ३–२ ले जित्यो । सो शृङ्खलामा दुई खेलमा उत्कृष्ट खेलाडी घोषित भएकी मानमती प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पनि चुनिइन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा जन्मेहुर्केकी मानमती भन्छिन्, “कबड्डी मेरो जीवन हो । अहिले जहाँ छु, त्यो सब कबड्डीले नै दिलाएको हो ।”
तर नेपाली खेलकुदमा मानमतीको उदय भने एक स्प्रिन्टरका रूपमा भएको थियो । मानमतीले राष्ट्रिय खेलकुदमा आठ सय मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । भारतको गुवाहाटी–सिलोङमा भएको १२ औँ दक्षिण एसियाली खेलकुदमा एक धाविकाका रूपमा उनले सहभागिता जनाइन् । प्राविधिक कारणले खेलाडी सूचीमा नाम नहुँदा उनी चार सय मिटर दौडमा सहभागी हुनबाट वञ्चित भएकी थिइन् । जसले मानमतीको निकै चित्त दुख्यो र उनले एथलेटिक्स नै छोड्ने निर्णय गरिन् ।
मानमतीको दुःखको समयमा कबड्डीले मलम लगायो । करिब सात वर्षअघि महाराजगञ्जमा भएको राष्ट्रिय टिमको कबड्डी प्रशिक्षण हेरिरहेकी थिइन् उनी । मानमतीलाई लाग्यो म पनि यो खेल खेल्न सक्छु । त्यसैले सिनियर दिदीहरूलाई उनले आफूलाई खेलाउन अनुरोध गरिन् । एक दिन खेलेपछि सिनियरहरूले दैनिक अभ्यास गर्न सल्लाह दिए । विशेषतः ओलम्पियन चन्द्रकला थापाले मानमतीलाई कबड्डी खेल्न हौसला दिएकी थिइन् ।
एक महिनामै मलेसियामा भएको सर्कल स्टाइल कबड्डी खेल्न उनी टिममा परिन् । प्लेइङ सेटमै खेलिन् । त्यसपछि मानमतीलाई लाग्यो कबड्डीमा मेरो भविष्य छ । उनले आफ्नो सपना पूरा गर्न कडा मेहनत पनि गरिन् ।
“कबड्डीको राष्ट्रिय टिममा स्थान पक्का गर्न दिनको तीन समय अभ्यास गर्थें । बिहान पुलिस टिमसँग, साँझ सिनियरहरूसँग र त्यसपछि जिममा,” उनी भन्छिन् ।
त्यसपछि २०७६ सालमा भारतमा भएको सर्कल कबड्डी लिगमा मानमतीको टिम विजेता बन्यो । सोही वर्ष नेपालमा भएको सागमा नेपालले ऐतिहासिक रजत पदक जित्यो । जुन प्रतियोगिताले मानमतीलाई थप चर्चा दिलायो । श्रीलङ्काविरुद्ध मानमतीले अन्तिम समयमा लिएको चार अङ्क नेपालको जितमा निर्णायक बनेको थियो ।
३१ वर्षीय मानमतीलाई आफ्नो खेल जीवन अब धेरै लम्बिँदैन भन्ने थाहा छ । कम्तीमा दुई वर्ष राष्ट्रिय टिममा खेल्न सक्छु भन्ने दृढ विश्वास पनि उनीमा छ । पारिवारिक सहयोगले पनि उनी आफ्नो खेलजीवन लम्बिनेमा ढुक्क छिन् । घरपरिवार विशेषतः श्रीमान् विमल केसी कबड्डीको पारखी भएकाले उनलाई सहज छ ।
हालका लागि भने मानमतीको लक्ष्य आगामी जेठमा हुने विश्वकप कबड्डीमा पदक जित्ने छ । यसका लागि नेपाली महिला कबड्डी टिम छ महिनादेखि बन्द प्रशिक्षणमा रहेको छ । मानमती आफ्नो नेतृत्वमा नेपाललाई विश्वकपमा पदक दिलाउने सपना देखिरहेकी छन् ।
–युवामञ्च