शेरबहादुर सार्की
बाजुरा, असार २९ गते । बाजुरामा ७५ प्रतिशत धान रोपाइँ भएको छ । गत जेठको दोस्रो हप्तादेखि सुरु भएकाधान रोपाइँ अहिले जम्मा ७५ प्रतिशत सम्पन्न भएको हो ।
लामो समयसम्म परेको खडेरीका कारण असार तेस्रो हप्तासम्म नौ वटै स्थानीय तहको असार २७ गतेसम्म ७५ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
खोला किनार जमिनमा जेठ दोस्रो साताबाट सुरु भएको रोपाइँ कुलो नलाग्ने ठाउँमा भने साउन दोस्रो हप्तासम्म धान रोपाइँ हुने गरेको बुढीगङ्गा नगरपालिका स्थानीय स्थानीय कृषक खम्म सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँका अधिकांश जमिनमा सिँचाइको सुविधा छैन । खोला किनारको जमिनमा जेठमै रोपाइँ हुने गरेको भए पनि सिँचाइ सुविधा नभएको ठाउँमा भने आकाशे पानीको भरमा साउन दोस्रो हप्ता रोपाइँ हुन्छ ।”
यहाँ सिँचाइका लागि कुलोको व्यवस्था छैन । त्यसैले आकाशे पानीको भरमा रोपाइँ ढिला भएको सार्कीले बताउनुभयो ।
बाजुराको बडिमालिका, बूढीनन्दा, त्रिवेणी, खप्तड छेडेदह, बुढीगङ्गा, गौमुल, स्वामिकार्तिक, जगनाथ, हिमालीलगायतका केही ठाउँमा जेठ दोस्रो हप्ताबाट रोपाइँ सुरु भएको कृषि ज्ञान बाजुराका कार्यालय नि. प्रमुख जसिराम साहानीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिन छ । यो मध्ये २८ हजार १३५ हेक्टर मात्र खेतीयोग्य जमिन छ ।” बाजुरामा २७ हजार १६० हेक्टर जमिन छ । यसमध्ये बाजुरामा सात हजार ३०३ हेक्टर जमिनमा मात्र धान रोपाइँ हुने गरेको साहानीले बताउनुभयो ।