• ११ असोज २०८१, शुक्रबार

विश्व आत्महत्या रोकथाम दिवस

मानसिक समस्याको पहिलो उपचार परामर्श

blog

मानसिक अस्पतालका निर्देशक डा.अनन्त अधिकारी । फाइल तस्बिर

काठमाडौं, भदौ २५ गते।  आत्महत्याको विषयमा खुलेर कुरा गरेमा यसलाई न्यूनीकरण गर्न सकिने मानसिक अस्पतालका निर्देशक डा.अनन्त अधिकारी बताउनुहुन्छ। नेपालमा पछिल्लो केही वर्षदेखि आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ। 

मानसिक स्वास्थ्यमा समस्या भएको समयमै पहिचान गरेर उपचार गर्न सकेमा आत्महत्याको समस्यालाई न्यूनीकरण गर्न सकिने डा. अधिकारीको ठहर छ।  

उहाँ भन्नुहुन्छ,“शारीरिक स्वास्थ्यमा जस्तै मानसिक स्वास्थ्यमा पनि समस्या आउनसक्ने भएकाले मानसिक स्वास्थ्यका विषयमा सबैले खुलेर कुरा गर्न सकेमा आत्महत्यालाई न्यूनीकरण गर्न सकिन्छ। ”

डा. अधिकारीका अनुसार आत्महत्या गर्ने मानिसको मनस्थितिमा परिवर्तन हुने, सामाजिक जीवनबाट टाढा रहनु, आत्महत्या गर्ने योजना बनाउने, नजिकको परिवार र साथीहरुसँग बिदा माग्ने, जीवनप्रति निराश हने जस्ता लक्षण देखिन्छन्।   

उहाँ भन्नुहुन्छ, “आत्महत्याका लक्षण देखाउने व्यक्तिलाई एक्लै नछोड्ने, सम्मानपूर्वक व्यवहार गर्ने, मानसिक समस्या देखिएमा परामर्शमा लैजाने गर्नुपर्छ। ” 

आत्महत्यामा व्यक्तिगत कारण मात्र नभई आर्थिक सामाजिक, राजनीतिक वा वातावरणीय तत्त्वको मुख्य भूमिका रहने आत्महत्यासँग सम्बन्धित धारण सकारात्मक तथा संवेदनशील रहन आवश्यक रहेको उहाँको ठहर छ

आत्महत्या रोकथाम सबैको दायित्व भएकाले आ–आफ्नो ठाउँबाट सहयोग गर्न डा. अधिकारीको सुझाव छ।  परिवारमा सँगै बस्ने, दैनिक छलफल गर्ने, कसलाई के समस्या छ बुझ्ने काम घरभित्रै गर्नु आवश्यक हुन्छ।  

आत्महत्याको विचार मनमा आउनु मानसिक स्वास्थ्य समस्याको प्रमुख लक्षण भएकाले यस्तो विचार आएमा नजिकको स्वास्थ्य संस्था वा मनोपरामर्शका लागि सरकारले २४ घण्टा उपलब्ध हुने राष्ट्रिय हेल्पलाइन ११६६ ल्याएको छ।  यस्तो विचार आएमा कुनै पनि बेला फोन गरेर मनोपरामर्शकर्तासँग परामर्श सेवा लिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ।   



बढ्दो आत्महत्या नियन्त्रण आवश्यक 

नेपालमा हरेक दिन २० जनाले आत्महत्या गर्ने गरेका छन्।  नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०८०/८१ मा  सात हजार २२३ जनाले आत्महत्या गरेका छन्।  

आत्महत्या गर्नेको सङ्ख्या कोशी प्रदेशमा सबैभन्दा बढी छ।  कोशी प्रदेशमा एक हजार ५५६, बागमती प्रदेशमा एक हजार ५१०, लुम्बिनी प्रदेशमा एक हजार ३२९, मधेश प्रदेशमा एक हजार २९०, गण्डकी प्रदेशमा ६५७, सुदूरपश्चिममा ५५५, कर्णली प्रदेशमा ३२६ जनाले आत्महत्या गरेका छन्।   

विश्वमा रहेक वर्ष करिब सात लाख व्यक्तिले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन्।  एक जनाले आत्महत्या गर्दा १३५ जनालाई  असर पुग्ने भएकाले सयबाट टाढा रहनु उचित हुने मनोविद्को सुझाव छ।  

मनोरोग चिकित्सक डा. वासुदेव कार्की आत्महत्या रोकथाम बारे परिवार र समाजमा खुलेर छलफल गर्न आग्रह गर्नुहुन्छ । व्यक्तिको भावनालाई बुझेर बिना पूर्वाग्रह उनीहरुका कुरा सुनेर सहयोग गरेमा गलत सोचलाई नियन्त्रण गर्न सकिने उहँको सुझाव छ । 

यो वर्षको विश्व आत्महत्या रोकथाम दिवसको नारा । ‘कथन परिवर्तन गरौं’ भन्ने छ । अवरोधहरू तोड्ने, चेतना जगाउने, आत्महत्या रोक्नको लागि बुझ्ने र समर्थन गर्ने संस्कृति सिर्जना गर्ने उद्देश्य राखेको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।