• ९ मंसिर २०८१, आइतबार

रमाइला नानो स्याटेलाइट

blog

अन्तरिक्षमा चासो राख्ने भाइबहिनीहरू, कुनै कुरा अन्तरिक्षमा पठाउँदा कस्तो हुन्छ भन्ने सोच्नुभएको छ ? आज हामी एकदमै रमाइलो विषय ‘नानो स्याटेलाइट’ (भूउपग्रह) का बारेमा जानकारी लिन गइरहेका छौँ । तपाईंहरूले केही वर्षअघि ‘नेपाल पनि भूउपग्रहको युगमा प्रवेश गर्‍यो, नेपालले पनि अन्तरिक्षमा आफ्नै स्याटेलाइट पठायो’ भन्ने समाचार सुन्नु वा पढ्नुभएको होला । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ साल वैशाख ४ गते प्रक्षेपण गरिएको थियो । यो नानो भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो । नानो स्याटेलाइट भनेको सानो आकारको भूउपग्रह हो । यो एकदेखि १० केजीसम्मको हुन्छ । योभन्दा सानो स्याटेलाइट पनि हुन्छ । त्यसलाई ‘पिको’ भनिन्छ । ‘पिको’ को तौल एक सय ग्रामदेखि एक केजीसम्म हुन्छ ।  

सबैभन्दा पहिला स्याटेलाइटका बारेमा बुझौँ । ठुलो वस्तुको वरिपरि घुम्नेलाई स्याटेलाइट भनिन्छ । पृथ्वी एक उपग्रह हो किनभने यो सूर्य वरिपरि घुम्छ । चन्द्रमा एक उपग्रह हो किनभने यो पृथ्वी वरिपरि घुम्छ । पृथ्वी र चन्द्रमालाई प्राकृतिक उपग्रह भनिन्छ  ।  

भूउपग्रह मानिसले बनाएका मेसिन हुन् । यी मेसिन अन्तरिक्षमा पठाएपछि पृथ्वी वा अन्तरिक्षमा कुनै निश्चित पिण्डको परिक्रमा गरिरहन्छन् । अहिले अन्तरिक्षमा हजारौँ मानव निर्मित भूउपग्रह छन् । यस्ता भूउपग्रहले आफ्नो ग्रहको तस्बिर खिच्छन् । कतिपयले अन्य ग्रह, सूर्य वा अन्य वस्तुको समेत तस्बिर खिच्छन् । कुनै भूउपग्रहको काम पृथ्वीको वातावरण, मौसम तथा जलवायु, डढेलोलगायतको अध्ययन गर्ने हुन्छ । 

नेपालले सबै क्षेत्रमा काम लाग्ने ठुलो भूउपग्रह पठाउन सकेको छैन । अहिलेसम्म नेपालको आफ्नै ठुलो भूउपग्रह छैन । त्यसैले नेपालले विदेशी मुलुकका भूउपग्रह सेवाप्रदायक कम्पनीलाई रकम तिरेर काम गरिरहेको छ । नेपालले पठाएको नानो स्याटेलाइट नेपालको साङ्केतिक स्याटेलाइट थियो । 


नानो स्याटेलाइट एउटा सानो आकारको स्याटेलाइट हो । एउटा ठुलो भूउपग्रह कारको आकारको हुन्छ भने नानो स्याटेलाइट टिफिन बक्सको आकारको हुन्छ । नानो स्याटेलाइट सानो तर शक्तिशाली हुन्छन् । यिनीहरू साना भए पनि धेरै महìवपूर्ण काम गर्न सक्छन् । यिनीहरूले पृथ्वीका फोटो खिच्न सक्छन्, वैज्ञानिकहरूलाई मौसमको अध्ययन गर्न मद्दत गर्न सक्छन् र अन्य ग्रहको अन्वेषण गर्न सहायता पनि गर्न सक्छन् । 

नानो स्याटेलाइट बनाउन र प्रक्षेपण गर्न आर्थिक रूपमा सस्तो पर्छ । नानो स्याटेलाइट सानो आकारका भएकाले ठुला स्याटेलाइटको तुलनामा यिनीहरूलाई बनाउन समय कम लाग्छ । 

नानो स्याटेलाइटले अन्तरिक्षमा अन्य समूहसँग  काम गर्छन् । विद्यार्थी र वैज्ञानिकले अन्तरिक्ष प्रविधिका बारेमा बुझ्न र सिक्न अध्ययन परियोजनाका रूपमा नानो स्याटेलाइट निर्माण गर्छन् । यी साना भएकाले कम इन्धन प्रयोग हुन्छ भने अन्तरिक्षमा कम फोहोर गर्छन् । 

नानो स्याटेलाइटले हाम्रो ग्रह र बाहिरी अन्तरिक्षका बारेमा धेरै कुरा जान्न मद्दत गर्छन् । यिनीहरूले मौसमको अवस्था निगरानी गर्न, जनावर ट्र्याक गर्न, वातावरण प्रदूषणको अध्ययन गर्न र प्राकृतिक प्रकोपको समयमा छिटो जानकारी दिन सहयोगी हुन्छन् । 

तपाईंहरूले राति आकाशतिर हेर्नु भयो भने पक्कै पनि आकाशमा साना नानो स्याटेलाइट उडिरहेको देख्न सक्नु हुने छ । यस्ता नानो स्याटेलाइटले हामीलाई ब्रह्माण्डका बारेमा धेरै कुरा सिकाउन मद्दत गर्छन् ।  

भदौ मुना २०८१