• १३ साउन २०८१, आइतबार

काठमाडौंका मतदान स्थलमा निर्वाचन सामग्री लैजान सुरु

blog

तस्बिर : कबिता थापा

काठमाडौं, वैशाख २७ गते । काठमाडौं जिल्लाका स्थानीय तहको निर्वाचनका लागि काठमाडौं जिल्ला निर्वाचन कार्यालयले विभिन्न मतदान स्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ ।

एकै चरणमा वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंबाट निर्वाचन सामग्री लैजान सुरु भएको हो ।

निर्वाचनमा खटिएका कर्मचारीहरुले मङ्गलबार कार्यालयबाट आ–आफ्नो मतदान स्थलमा चाहिने निर्वाचन सामग्री लैजान थालेका हुन् ।

काठमाडौं जिल्ला निर्वाचन कार्यालयका प्रमुख ठाकुरप्रसाद भट्टराईले काठमाडौंमा एक महानगरपालिका, १० वटा नगरपालिकाका गरी १३८ वडामा निर्वाचन हुने जानकारी दिनुभयो । यी नगरहरुमा ११ वटा प्रमुख–उपप्रमुख पदका साथै हरेक वडामा वडाअध्यक्षसहित सदस्य पदहरुमा वैशाख ३० गते मतदान हुँदैछ ।

उहाँका अनुसार काठमाडौं जिल्लामा ३२० मतदानस्थल र ७५९ केन्द्र छन् । काठमाडौंमा छ लाख ३७ हजार ७७५ मतदाताले मतदाधिकारको प्रयोग गर्दैछन् ।

काठमाडौंमा एक महानगरपालिकासहित ११ वटा नगरपालिका छन् । जसमा काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, तारकेश्वर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, बूढानीलकण्ठ नगरपालिका र शङ्खरापुर नगरपालिका छन् ।