• १३ साउन २०८१, आइतबार

नेपालगञ्ज उपमहानगरमा गठबन्धन, एमाले र राप्रपाबीच त्रिपक्षीय प्रतिस्पर्धा

blog

नेपालगञ्ज, वैशाख २७ गते । नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने भएको छ । पाँच दलको गठबन्धनका उम्मेदवारसँग नेकपा(एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो । 

सत्ता गठबन्धनका मेयरका उम्मेदवार नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपमेयरका उम्मेदवार जनता समाजवादी पार्टीका कमरुद्दीन राईसँग नेकपा (एमाले)का मेयरका उम्मेदवार पशुपतिदयाल मिश्र र उपमेयरका उम्मेदवार शान्ति ढकाल तथा राप्रपाका मेयरका उम्मेदवार नन्दलाल वैश्य र उपमेयरका उम्मेदवार बिन्दु घर्तिमगरले प्रतिस्पर्धा गरिरहनुभएको छ । 

नेपाली काँग्रेस र जसपाको बलियो पकड भएको मानिने यो उपमहानगरमा गठबन्धनका उम्मेदवार केही अगाडी देखिए पनि एमाले र राप्रपाका उम्मेदवारले कडा चुनौती दिइरहनुभएको छ । माओवादीबाट मेयरको टिकट नपाएपछि अन्तिम समयमा राप्रपामा प्रवेश गरेर उम्मेदवार बन्नुभएका व्यापारी नेता नन्दलाल वैश्यले गर्दा निर्वाचनको माहोलनै फेरिएको अधिकांश मतदाताहरु बताउँछन् । 

हालका मेयर धवलशमसेर राणाको दल राप्रपाले राम्रो उम्मेदवार नै नपाएको अवस्थामा एक्कासि वैश्य उम्मेदवार बनेपछि यहाँको निर्वाचन त्रिपक्षीय बनेको हो । गठबन्धनका मयेरका उम्मेदवार विष्टले आफ्नो प्रतिस्पर्धा कोहीसंग नभएको जनाउँदै गठबन्धनले मेयर उपमेयर दुबै सहज रुपमा जित्ने दावी गर्नुभयो । उहाँले पाँच दलको मत ठूलो सङ्ख्यामा रहेको जनाउँदै आफूहरुलाई कसैले पनि पराजित गर्न नसक्ने बताउनुभयो । 

यस्तै एमालेबाट मेयरका उम्मेदवार पशुपति मिश्रले यस पटक पार्टीभन्दा पनि व्यक्ति र काम गर्ने मानिसलाई जनताले रोज्ने देखिएकोले आफू विजयी हुने दावी गर्नुभयो । सोही प्रकारले राप्रपाबाट मेयरका उम्मेदवार वैश्यले यस पटक जनलहर राप्रपाको पक्षमा देखिएको र आफू सबैभन्दा लोकप्रिय रहेकोले जित निश्चित रहेको दावी गर्नुभयो । 

तर, सबै उम्मेदवारले आफूले जित्ने दावी गरे पनि पाँच दलका उम्मेदवारको प्रभाव उपमहानगरको सहरी र ग्रामीण दुबै क्षेत्रमा बलियो देखिएको छ भने मिश्रको प्रभाव ग्रामीण क्षेत्रमा राम्रै भए पनि सहरी क्षेत्रमा वैश्यका कारण कमजोर बनेको छ । यस्तै वैश्यको प्रभाव सहरी मतदातामा राम्रै भए पनि ग्रामीण क्षेत्रमा भने कमजोर रहेको स्थानीयको भनाइ छ । 

उपमेयरमा जसपाका कमरुद्दीन राई अन्यभन्दा धेरै अगाडि हुनुहुन्छ भने मेयरमा विष्ट, वैश्य र मिश्रबीच कडा प्रतिस्पर्धा भैरहेको अधिकांशको भनाइ छ ।  

Author

सिराज खान