• २२ भदौ २०८१, शनिबार

कर्मचारीको व्यवहार र आचरणमा परिवर्तन आवश्यक: प्रमुख सचिव

blog

निजामती सेवा दिवस २०८१ को अवसरमा बागमती प्रदेश सरकारको आयोजनामा शनिवार हेटौँडामा भएको कार्यक्रमका सहभागीहरू । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, भदौ २२ गते । बागमती प्रदेश सरकारका प्रमुख सचिव गोविन्दबहादुर कार्कीले सार्वजनिक प्रशासन सेवालाई प्रभावकारी बनाउन निजामती कर्मचारीको व्यवहार र आचरणमा परिवर्तन आवश्यक भएको बताउनुभएको छ ।

निजामती सेवा दिवस २०८१ को अवसरमा बागमती प्रदेश सरकारको आयोजनामा शनिवार हेटौँडामा भएको कार्यक्रममा उहाँले सङ्घीयता कार्यान्वयनका सन्दर्भमा अन्यौलता देखिएको र अहिले सङ्क्रमणकाल छ भनिन्छ तर यो कहिलेसम्म भन्दै अझै  कर्मचारी प्रशासनमा द्विविधा रहेको बताउनुभयो । उहाँले निजामती सेवा ऐन आएपछि अहिले देखिको अन्यौलता हट्ने विश्वास व्यक्त गर्दै निजामती सेवामा निरन्तर सुधार आवश्यक भएको बताउनुभयो ।

उहाँले निजामती कर्मचारीको व्यवहार र आचरण महत्त्वपूर्ण भएको र यसमा परिवर्तन आवश्यक भएको औँल्याउँदै जनतले चाहे जस्तो र अन्तर्राष्ट्रिय स्तरको कर्मचारी संयन्त्र भएन भने जनगुनासोलाई चिर्नु हाम्रो दायित्व भएको बताउनुभयो । 

मकवानपुरमा प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले शासन बदलियो तर शासकको प्रवृत्ति र निजामती प्रशासन नबदलिएको भन्ने आरोप रहेको बताउँदै निजामती कर्मचारीले नागरिक मैत्री र गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका  प्रमुख  प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र आधिकारिक ट्रेड युनियन मकवानपुरका अध्यक्ष विष्णुप्रसाद अर्यालले निजामती सेवा नागरिकमैत्री हुनुपर्ने बताउनुभयो ।

व्यावसायिक र सिजनशील प्रशासन: विकास, समृद्धि र सुशासन भन्ने नाराका साथ मनाइएको निजामती सेवा दिवस २०८१ का अवसरमा आयोजना गरिएको कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः  सानुबाबु खनाल, रुद्रप्रसाद शर्मा र गोपिनी गौतमलाई पुरस्कृत गरिएको थियो ।

यसअघि भुटनदेवी माविको चौरबाट सुरु भएको प्रभात फेरी प्रदेश सुशासन केन्द्रको तालिम हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।