• ६ वैशाख २०८१, बिहिबार

उमेर भन्छ ‘बसी खा’, मन भने ...

blog

ललितपुर, वैशाख २७ गते  ।  उमेरले भन्छ ‘बसी खा’ तर मनले भन्छ ‘अझै सक्रिय राजनीति गर्’ । यही दोधारमा ८० वर्ष पुुग्दा पनि सक्रिय राजनीति गरी जनसेवा गर्ने धुनमा हुनुहुन्छ उहाँ ।  

५० वर्षभन्दा बढी जनप्रतिनिधि रहिसकेका नरसिंह व्यञ्जनकार अहिले पनि ललितपुर महानगरपालिका वडा नं. १० मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

कतिपय मानिस आफू नेता बन्छु भन्दै टिकटका लागि ठूला नेताको ढोका चाहर्छन् । तर उहाँलाई नेताले होइन, वडाबासीले नै तपाईं हाम्रो नेता बनिदिनुु प¥यो भनेर कर गर्छन् । अनि छरछिमेकीको मनोभाव बुझेर उहाँ पार्टीको होइन, जहिले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिनुहुन्छ । जहिले पनि उहाँकै पोल्टामा परिणाम आउने गरेको छ ।  

व्यञ्जनकारसँग कहिले निर्विरोध त कहिले ठूलो मतान्तरले जितेको अनुुभव छ । विभिन्न समय गरी १० पटक उहाँले जनप्रतिनिधिको रूपमा जित हासिल गरेर काम गर्दै आउनुभएको छ । यो पटक उहाँले ११औँ पटक उम्मेदवारी दिनुभएको छ । व्यञ्जनकारसँग चुनाव प्रचारप्रसारका लागि अन्य नेताको जस्तो कुनै तामझाम गर्नु परेको अनुुभव पनि छैन । उहाँ भन्नुहुन्छ ‘जिते जनताको सेवा गर्छु । नजिते पनि चिन्ता छैन । वडाबासीकै अनुरोध गरेर मैले उम्मेदवारी दिएको हुँ ।’

व्यञ्जनकार २०२९ सालदेखि नै जनप्रतिनिधि निर्वाचित भएको बताउनुहुन्छ । २०३९ सालमा नेपाली काँँग्रेसबाट उम्मेदवारी दिँदा निर्विरोध नै हुनुभयो । २०५४ सालदेखि भने उहाँ स्वतन्त्र उम्मेदवारको रूपमा जित हासिल गर्दै आउनुभएको छ । 

यो उमेरसम्म आइपुुग्दा उहाँलाई सामान्य दम र मधुमेहको रोग देखिएको छ । यद्यपि, उहाँले रोगको पर्वाह नगरी समाजको सेवामा गर्दै आएको बताउनुुभयो । उहाँले भन्नुुभयो, “रोगको चिन्ता होइन, वडाबासीको चिन्ता पो लाग्छ मलाई ।”

उहाँ यो पटक पनि आफ्नो जित सुनिश्चित भएको बताउनुहुुन्छ । उहाँले भन्नुुभयो, “यस पटक वडाध्यक्षका रूपमा जितेँ भने गतवर्ष पूरा गर्न नसकेको काम पूरा गर्नेछु, खाली बस्दिनँ, जनप्रतिनिधि भनेको जनताको सेवक हो ।”आफूले कुनै ठूला सपना देखाएर वडाबासीलाई झुक्याउने नगरेको बताउनुुभयो । उहाँले भन्नुुभयो, “ठूला सपना देखाउनुभन्दा पनि उनीहरूले दिनानुदिन भोग्दै आएका समस्या समाधान गर्नुलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छु । यसमा म पनि सन्तुुष्ट छु, वडाबासी पनि सन्तुुष्ट नै छन् ।” उहाँको वडामा दुई हजार सात सयभन्दा बढी मतदाता छन् । 



  

Author

राधा चालिसे