• २२ भदौ २०८१, शनिबार

सुती कपडा उद्योग बन्द

blog

मेलौली सुती कपडा उद्योगको जीर्ण घर र अलपत्र फालिएका तान । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता

बैतडी, भदौ २२ गते । सुती कपडा बुन्ने उद्योग बन्द भएपछि कपडा बुन्ने बनारसी तान सङ्कटमा परेका छन् । उद्योगको घर जीर्ण अवस्थामा पुगेको छ । भवनभित्र रहेका २२ वटा तान अलपत्र अवस्थामा कुनामा फालिएका छन् । 

तत्कालीन राजा वीरेन्द्रले जिल्ला भ्रमणका क्रममा मेलौली नगरपालिका–१, गोरखपुरमा सुती कपडा उद्योग लिमिटेड स्थापना गरी सर्वसाधारणलाई एक वर्षको कपडा बुन्ने तालिम दिने गरी प्रशिक्षकसमेत खटाउनुभएको थियो । उत्पादित वस्तुको बजारीकरणको जिम्मासमेत सरकारले लिएको थियो ।

विसं २०४५ मा स्थापना भएको सुती कपडा उद्योगमा सल, चोला, धोती, बुसर्टको कपडालगायत सुतीका कपडा बुन्ने गरिन्थ्यो । भारतको बनारसबाट कच्चा पदार्थ ल्याएर गाउँमै कपडा उद्योग सञ्चालन हुँदा स्थानीयवासी आफैँले बुनेको कपडा लगाउने गरेको मेलौली नगरपालिकाका पूर्वनगरप्रमुख कृष्णसिंह नायकले स्मरण गर्नुभयो । द्वन्द्वकालमा कच्चा पदार्थ आउन बन्द भएपछि प्रशिक्षक पनि नआएको उहाँले बताउनुभयो । उद्योग सञ्चालनका लागि स्थानीयले सरोकारवाला निकायलाई आग्रह गरे पनि सुनुवाइ नभएको स्थानीयले गुनासो गरेका छन् । उद्योग स्थापना हुँदा स्थानीयले पाँच रोपनी जग्गा दान गरेका थिए । 

मेलौली सुती कपडा उद्योग हाल स्थानीय तहको सरकारमातहत रहेकाले उद्योग सञ्चालन गर्न प्रदेश सरकारसमक्ष माग गर्नुपर्ने जिल्ला घरेलु विकास कार्यालय बैतडीका प्रमुख अम्बादत्त जोशीले बताउनुभयो ।

सुती कपडा उद्योग सञ्चालन गर्न स्थानीय तहसँग पर्याप्त बजेट नभएको मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योग सञ्चालन गर्न सङ्घ र प्रदेश सरकारलाई अनुरोध गर्दै आएका छौँ । राजनीतिक पहुँच नपुग्दा बजेट ल्याउन सकिरहेका छैनौँ ।”