• १० मंसिर २०८१, सोमबार

विदेशी नम्बरका गाडीलाई रोक

blog

काठमाडौँ, वैशाख २७ गते    स्थानीय तह निर्वाचनका दिन विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न पाइने छैन । निर्वाचन आयोगको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्डले विदेशी नम्बर प्लेटको गाडीलाई रोक लगाएको छ । मतदानको दिन पासबिनाका सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।   

उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउनका लागि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्ने आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडलेले काठमाडौँका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिने अनुमतिपत्रका लागि आयोगमै रहेको एकीकृत सवारीसाधन आवागमन डेस्कमा पत्र पेस गरेर सवारी पास लिन सकिने जानकारी दिनुभयो । 

आयोग र निर्वाचन कार्यमा खटिएका सुरक्षाकर्मीलाई भारी सवारीसाधन सञ्चालनको अनुमति दिइएको । मानवीय उद्धार तथा सहायतामा प्रयोग गरिने सवारीसाधनको हकमा भने सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति लिई प्रयोग गर्न सकिने छ । 

अन्तर्राष्ट्रिय हवाई यात्रुका हकमा राहदानी, प्रवेशाज्ञा र टिकटका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म तथा विमानस्थलबाट यात्रुको गन्तव्यसम्मको आवागमनको सहजीकरण काठमाडौँ जिल्ला प्रशासनले गर्ने भएको छ । अशक्त व्यक्तिका लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न मुख्य निर्वाचन अधिकृतले अनुमति दिएको सवारीसाधन प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । 

एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारीसाधनको हकमा सवारी अनुमतिपत्र लिनु नपर्ने व्यवस्था गरिएको छ । आयोगका प्रवक्ता पौडेलले मतदानको दिन मापदण्डविपरीत चलेका सवारीसाधनलाई नियन्त्रण गरिने र मतदान सम्पन्न भएपछि फिर्ता दिइने बताउनुभयो । 

स्थानीय तह सदस्य निर्वाचनको मतदानको दिन सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्डअनुसार उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधिले तीन, चार वा दुई पाङ्ग्रेमध्ये एउटा सञ्चालन गर्न पाउने छन् । राष्ट्रिय परिवेक्षकले उपत्यकाभित्र तीन, चार वा दुई पाङ्ग्रेमध्ये पाँचवटासम्म सञ्चालन गर्न पाउने छन् । संवैधानिक आयोग र कूटनीतिक निकायले आवश्यकताअनुसार प्रयोग गर्न पाउने भएका छन् । 

उपत्यकाभित्रका ब्रोडसिटका दैनिक अखबारले बढीमा १५ वटासम्म सवारीसाधन चलाउन पाउने छन् । साप्ताहिक पत्रिकाले पाँचवटासम्म सवारीसाधन सञ्चालन गर्न पाउने छन् । उपत्यकामा टेलिभिजनले बढीमा १०, रेडियो एफएमले सात र अनलाइनले पाँचवटा सवारीसाधन चलाउन पाउने छन् ।