• २२ भदौ २०८१, शनिबार

पुरानो कार्यशैलीले सेवाग्राहीलाई सन्तुष्टि दिन सकिँदैन : मुख्यसचिव अर्याल

blog

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल । तस्बिर तथा भिडियो : मनोजरत्न शाही र केशब गुरुङ

काठमाडौँ, भदौ २२ गते। नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले परिवर्तित प्रणालीलाई आत्मसात् गर्न नसक्ने कर्मचारीले पद ओगटेर बसिरहनु आवश्यक नभएको बताउनुभएको छ।

निजामती सेवा दिवसको अवसरमा गोरखापत्रसँगको विशेष कुराकानीमा उहाँले पुरानो कार्यशैलीले अब काम गरेर सेवाग्राहीलाई सन्तुष्टि दिन नसकिने भन्दै यस्तो बताउनु भएको हो।

उहाँले जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्दा मात्र स्थानीय तहमा कर्मचारीलाई आकर्षित गर्दै नतिजा दिन सकिनेसमेत बताउनुभएको छ। उहाँले “समृद्ध नेपाल सुखी नेपाली” बनाउने सरकारको लक्ष्यलाई साकार बनाउने काममा निजामती कर्मचारी एकताबद्ध भएर परिणाममुखी काममा सक्रिय भएको प्रष्ट पार्नुभएको छ।

मुख्यसचिव अर्याल वि.सं. २०४६ माघ ४ गते नायब सुब्बा हुँदै निजामती सेवामा प्रवेश गर्नुभएको हो। उहाँ शाखा अधिकृतदेखि सहसचिवसम्म प्रतिस्पर्धाबाट छनोट हुनुभयो। २०५१ फागुन ४ गते शाखा अधिकृत, २०५८ माघ ६ गते उपसचिव, २०६७ फागुन १९ गते सहसचिव र २०७६ फागुन १८ गते सचिव बन्नुभएका अर्याल २०८१ भदौ १३ गते मुख्यसचिव नियुक्त हुनुभएको हो। ३४ वर्ष लामो निजामती सेवापछि उहाँले २०८१ भदौ १६ गते आइतबारदेखि नेपाल सरकारको मुख्यसचिवको जिम्मेवारी सम्हाल्नु भएको हो। 


उहाँले उपसचिव हुँदा निजामती किताबखानामा महत्त्वपूर्ण काम गर्नुभयो। सबै कर्मचारीको व्यक्तिगत विवरण र सम्पत्ति विवरण विद्युतीय अभिलेख राख्ने प्रणालीको विकास उहाँ त्यहाँ कार्यरत हुँदा सुरु भएको हो। 

मकवानपुर, तनहुँ र काठमाडौँको प्रमुख जिल्ला अधिकारी भएर काम गर्नुभएका अर्यालले मकवानपुरमा उत्कृष्ट प्रजिअको सम्मान प्राप्त गर्नुभयो। उहाँले २०७२ को गोरखा भूकम्पमा काठमाडौँको प्रजिअ हुँदा चुस्त व्यवस्थापन वापत उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनुभयो। 

सहसचिवको रुपमा गृह मन्त्रालयमा हुँदा उहाँले गृह प्रशासन सुधार योजना र कार्यान्वयनका लागि महत्त्वपूर्ण काम गर्नुभएको छ। उहाँसँग भारतको कोलकात्तामा महावाणिज्यदूतमा बसेर काम गरेको अनुभवसमेत छ। काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत (सचिव) भएर काम गर्दा उहाँले राजस्व सङ्कलन र घर निर्माणको नक्सा पास गर्न अनलाइन प्रणालीको विकास गर्नुभएको हो। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव बन्नुहुँदा उहाँले स्थानीय तहको स्वमूल्याङ्कन प्रणाली र कर्मचारीको वस्तुनिष्ठ र वैज्ञानिक सरुवा प्रणाली कार्यान्वयनमा ल्याउनु भयो। श्रम तथा रोजगार मन्त्रालयको सचिव हुँदा उहाँले अनलाइन प्रणालीबाट श्रम स्वीकृति पाउने र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा वद्ध गरेर महत्त्वपूर्ण काम गर्नुभएको छ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवसमेत बन्नुभएका अर्याल २०८० फागुन ३० गतेदेखि ०८१ भदौ १४ गतेसम्म (१७१) दिन गृह मन्त्रालयको सचिव बन्नुभयो। गृहसचिव बन्नुहुँदा उहाँले अध्यागमन प्रशासन, कारागार प्रशासन, आन्तरिक व्यवस्थापन र कानुन सुधारका लागि महत्त्वपूर्ण काम गर्नुभयो। २०२४ साल मङ्सिर १० गते जन्मनुभएका मुख्य सचिव अर्याल ५८ वर्षे उमेरहदका कारण २०८२ मङ्सिरमा अवकास हुनुहुने छ। 

निजामती सेवा दिवस र निजामती प्रशासनका विभिन्न आयाममा केन्द्रित भएर स्थायी सरकारको प्रमुख एवम् नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालसँग गोरखापत्रका लागि दिनेश लुइटेल र नरेन्द्र सापकोटाले गर्नुभएको भिडियो कुराकानी :