• २ माघ २०८१, बुधबार

सञ्चालन भएन अस्पताल भवन

blog

घोराही समाचारदाता 

घोराही, भदौ २० गते । दाङको बबई गाउँपालिका–३, हंसपुरमा १५ शय्याको आधारभूत अस्पताल तयार भएको छ । जनतालाई पालिकामै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने गरी करिब १२ करोड रुपियाँको लागतमा गत आर्थिक वर्षमा तयार भएको भवन सञ्चालन हुन सकेको छैन । 

अस्पताल सञ्चालनका लागि जनशक्ति र उपकरण व्यवस्थापन गर्न नसक्दा अस्पताल सञ्चालन हुन सकेको छैन । अस्पताल सञ्चालन नहुँदा अस्पतालका लागि निर्माण भएको भवनबाट अहिले स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले अस्पताल सञ्चालनका लागि जनशक्ति र उपकरण व्यवस्थापन गर्र्न नसक्दा अस्पतालको भवन तयार भए पनि आधारभूत अस्पताल सञ्चालन गर्न नसकेको बताउनुभयो । 

अस्पताल सञ्चालनका लागि पालिकाले नै जनशक्ति व्यवस्थापन गर्नुपर्ने भए पनि पालिकाको खर्चले धान्न नसक्ने अवस्था रहेकाले सङ्घीय सरकारको सहयोग आवश्यक रहेको खत्रीले बताउनुभयो । “जनशक्तिको व्यवस्था गरिदिन माग गरिएको तर जनशक्ति, आवश्यक उपकरण र औषधीको अभावमा अस्पताल सञ्चालन गर्न सकेका छैनौँ,” उहाँको भनाइ छ । पालिकामा आधारभूत अस्पताल सञ्चालन नहुँदा उपचारका लागि तुलसीपुर आउनुपर्ने स्थानीयलाई बाध्यता छ । गाउँमै विशेषज्ञसहितको अस्पताल सञ्चालन भए उपचारका लागि तुलसीपुर जानुपर्ने बाध्यता हट्ने हंसपुर निवासी सीता मगरले बताउनुभयो । सामान्य बिरामी हुँदा स्वास्थ्य चौकीमै उपचार हुने भए पनि ठुला चोटपटक, एक्सरेलगायत गर्नुपर्ने अवस्था आए तुलसीपुरै जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।  बबई गाउँपालिका स्वास्थ्य संयोजक हरिबहादुर खड्काले पालिकामा आधारभूत अस्पताल सञ्चालनको तयारी भए पनि विभिन्न प्राविधिक समस्याका कारण सञ्चालनमा ढिलाइ भएको बताउनुभयो । 

सङ्घीय सरकारको नियम अनुसार आधारभूत अस्पतालमा तीन जना विशेषज्ञ डाक्टरसहित ३० जना स्वास्थ्यकर्मीको दरबन्दी छ । आवश्यकता अनुसार स्थानीय तहले जनशक्ति र आवश्यक सामग्री व्यवस्थापन गर्नुपर्ने छ । आर्थिक स्रोत राम्रा भएका पालिकाले सञ्चालन गरे पनि कमजोर भएका स्थानीय तहलाई अस्पताल सञ्चालन गर्न सकस रहेको भन्दै गाउँपालिकाका अध्यक्ष खत्रीले भन्नुभयो, “जनतालाई पालिकामै स्वास्थ्य सेवा दिने गरी अस्पताल निर्माण गरेका हौँ तर अहिले खर्च धान्न सक्ने अवस्था छैन । यसले गर्दा अस्पताल सञ्चाल गर्न ढिलाइ भइरहेको छ ।”