• २ माघ २०८१, बुधबार

सहकारीको समस्या क्रमिक सुधारोन्मुख

blog

काठमाडौँ, भदौ २० गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई नियम गर्न छुट्टै निकाय बनाउने काम अगाडि बढेको बताउनुभएको छ ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सहकारीमा आएका समस्यालाई समाधानका लागि सरकार अहिले लागि परेको बताउनुभयो । मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न सकिँदैन तर क्रमिक रूपमा सुधार गर्दै लैजाने बताउनुभयो । 

“सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन हामीले नियामक निकाय स्थापना गर्ने कार्य अगाडि बढाएका छौँ । यसका लागि कानुन बन्दै छ,” उहाँले भन्नुभयो, “यो निकाय कस्तो बनाउने भनेर यस विषयलाई केही दिनमा क्याबिनेटमा लैजान्छौँ । कोष खडा गर्ने कुरा पनि हामीले प्रक्रिया अगाडि बढाएका छौँ । यसका लागि नियम कानुन बनाउन बाँकी छ ।”

मन्त्री अधिकारीले सरकारका अप्ठ्यारा सबैले बुझेको भन्दै सरकारको पक्षबाट यस क्षेत्रमा भएका समस्या हल गर्न प्रयास भइरहेको बताउनुभयो । सहकारी क्षेत्रमा भएका राम्रा र नराम्रा पक्षलाई पत्रकारले उजागर गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले भन्नुभयो, “अर्थतन्त्रका तीन खम्बामध्ये एक महत्वपूर्ण खम्बा सहकारी हो । यस क्षेत्रमा भएका राम्रा र नराम्रा पक्षलाई पत्रकारले उजागर गर्नु पर्छ ।” सबै सहकारीमा समस्या नभएको भन्दै उहाँले जनतामा भ्रम फैलिने खालका क्रियाकलाप गर्नु नहुने बताउनुभयो । 

सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेले सहकारी क्षेत्रमा अहिले सबै मिलेर विश्वास बढाउनुपर्ने बताउनुभयो । सहकारीका विषयगत सङ्घ तथा संस्थालाई सक्रिय बनाउनुपर्ने उहाँको भनाइ थियो । “सहकारी क्षेत्रमा नै संवेदनशील अवस्था छ । यो अवस्थामा हामीले सहकारीकर्मी र सहकारीका सदस्यलाई विश्वास बढाउनु पर्छ,” उहाँले भन्नुभयो, “ऐन र नियमविपरीत काम भएको भए पत्रकारले बाहिर ल्याउनु पर्छ ।” राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक रामहरि बजगाईंले सहकारी पत्रकार समाजले सहकारी क्षेत्रमा भएका विकृति तथा विसङ्गतिमा कलम चालाइएको बताउनुभयो । आगामी दिनमा पनि यो क्षेत्रलाई व्यवस्थित बनाउन अझ सशक्त भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । 

त्यस्तै सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुका साथै सुसूचित गर्न र ऐन, नियम बनाउन सहयोगी भूमिका खेलेको उहाँको भनाइ थियो ।