• ६ जेठ २०८१, आइतबार

घोपा बचाउ अभियान सञ्चालन

blog

निशा राई

धरान, वैशाख २६ गते ।  धरानकोे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार गर्न ३८ दिनदेखि युवाहरूले ‘घोपा बचाउ अभियान’ सञ्चालन गरिरहेका छन् । चैत १९ गतेदेखि डेन्टल गेट अगाडि सडकमा  दिउँसो ४ बजेदेखि युवाहरू भेला भइरहेका छन्, ‘घोपा बचाउ अभियान’ नाराका साथ प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार्न माग गरिरहेका हुन्छन् ।  

बीपी प्रतिष्ठानमा लामो समयदेखि अनियमितता, भ्रष्टचार बेथिति, बढेको भन्दै त्यसको विरोधमा बेला–बेला आन्दोलन तथा झडप हुँदै आइरहेको छ । सोमबार  ३८ दिन बितिसक्दा पनि परिणाम भने केही आएको छैन । 

विपी प्रतिष्ठानमा केही समययता उपचारमा सामग्रीको अभाव, जतासुकै बिरामीको लामो लाम, इमेरजेन्सी वार्डमा बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने, सामान्य शल्यक्रियाका लागि महिनौं पालो पर्खिरहेको बिरामी, सिटी स्क्यान र ल्याबमा हुने जाँचका लागि ढिलाइ हुने हुने जानकारी अभियानमा संलग्न सुदन गुरुङले  दिनुभयो । 

अभियानको संयोजन गरिरहेका सुदन गुरुङले प्रतिष्ठान दिनदिनै धराशायी बन्दै गएकाले घोपा बचाउ अभियान काठमाडौँ र पोखराबाट पनि चलाएको जानकारी दिनुभयो । संयोजक गुरुङले कुनै राजनीतिक दलबाट परिचालित वा अन्य उद्देश्य नभएको र जबसम्म घोपा क्याम्पको बेथिति, अनियमितता, भ्रष्टाचार, आफन्तवाद, कृपावाद र उपचारमा सहजीकरण हुँदैन तबसम्म दबाब कार्यक्रम जारी रहने बताउनु भयो । 

प्रशासनको कमजोरी, उपकरण र शय्याको अभाव, अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव, पालो छिटो नपाउने, पाए पनि ढिलासुस्ती हुने र बिरामी निजी अस्पतालमा जान बाध्य भएको अभियानका अर्का युवा धरान १५ का सुजन मोक्तान बताउनु हुन्छ । धरानकै प्रतीक राईले बीपी प्रतिष्ठानलाई जोगाउनै मुश्किल हुने अवस्थामा पु¥याउने मुख्य कारक पदाधिकारी, व्यापारी र राजनीतिक तबरबाट कर्मचारी नियुक्ति हो भन्नुभयो । 

विभिन्न छानबिन आयोगका प्रतिवेदनहरूले पनि प्रतिष्ठानमा खरीद, निर्माण लगायतमा भ्रष्टाचार भएको उल्लेख गरेका छन् । चैत २० मा प्रतिष्ठानका सह–कुलपतिसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सिनेट बैठक डाके पनि प्रतिष्ठानका पदाधिकारीहरूले अदालतबाट अल्पकालीन अन्तरिम आदेश पाएपछि बैठक बस्न सकेको छैन ।