• २ माघ २०८१, बुधबार

क्लासिकमा बाउन्न चित्रकला

blog

काठमाडौँ, भदौ १९ गते । दस युवा कलाकारको सामूहिक चित्रकला प्रदर्शनी ‘कनेक्सन थट्स’ क्लासिक आर्ट ग्यालरीमा सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले मङ्गलबार प्रदर्शनीको उद्घाटन गर्नुभयो ।

प्रदर्शनीमा एक्रेलिक, तेल, जलरङ, मिक्स मिडियम र प्रिन्ट मेकिङ माध्यमका ५२ थान चित्रकला राखिएको छ । प्रदर्शनीमा राखिएका कलाकृतिमा हिसिला महर्जन, न्हुज श्रेष्ठ, ओजस्वी श्रेष्ठ, समन नाछिरिङ राई, शरन तण्डुकार, शर्मिलादेवी तामाङ, सोनाम चामलिङ राई, सुदन श्रेष्ठ, सुजनवीर वज्राचार्य र यमबाङ थापामगरले संस्कृति, सम्पदा, समसामयिक विषयवस्तुलाई प्रस्तुत गर्नुभएको छ ।  

प्रदर्शनी आयोजक क्लासिक ग्यालरीका संस्थापक सरिता डङ्गोलका अनुसार प्रदर्शनी असोज ४ गतेसम्म सञ्चालन हुने छ । प्रदर्शनीमा कलाकार सोनाम चामलिङ राईले जनजाति संस्कृति झल्काउने चित्रकृति राख्नुभएको छ । सुजनवीर वज्राचार्यले नेवारी संस्कृति र यमबाङ थापामगरले सुन्दर भूदृश्यलाई क्यानभासमा उतार्नुभएको छ । 

कलाकार शर्मिला देवी तामाङले चराचुरुङ्गी र तिनले आफ्नो वासस्थान निर्माण कसरी गरिरहेका हुन्छन् भन्ने विषयलाई चित्रमा उठान गर्नुभएको छ । कलाकार ओजस्वी श्रेष्ठले काठमाडौँका असन, इन्द्रचोक बजार, गल्ली, पुराना ढोकामा काम गर्नुभएको छ । हिसिला महर्जनले महिलाको शारीरिक बनावटको विषयमा महिलाको सौन्दर्यको खोजी गर्नुभएको छ ।

कलाकार सामना राईले प्रस्तुति कलामार्फत जनतासँग कसरी सामीप्य बढाउन अर्थात् कनेक्सन राख्ने भन्ने बारेमा चित्र कोर्नुका साथै प्रिन्ट मेकिङको काम पनि गर्नुभएको छ ।