• ३ चैत २०८२, मङ्गलबार

यातायातको भाडा र निर्माण लागत समायोजन गर्न माग

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत ३ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्तिमा असहज भएकाले मूल्यवृद्धि गरेकाले व्यवसायीले भाडा समायोजन गर्न माग गरेका छन् । 

त्यस्तै निर्माण व्यवसायी महासङ्घले भने इन्धनको मूल्य महँगो हुँदा लागत बढ्ने भएकाले निर्माण बिदा गर्न माग गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव टेकनाथ गौतमले सोमबार विज्ञप्ति जारी गरेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकाले भाडा समायोजन गरेर जान आग्रह गर्नुभएको हो । 

निगमले डिजेलमा प्रतिलिटर १० रुपियाँ र पेट्रोलमा १५ रुपियाँ वृद्धि भएकाले वैज्ञानिक विधिबाट सङ्घीय रुटको भाडा यातायात व्यवस्था विभाग र प्रदेश अन्तर्गतको भाडा सातै प्रदेश मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्न महासचिव गौतमले माग गर्नुभयो ।

“२०८१ साल पुस २२ देखि मूल्य समायोजन नभएको र भाडा समायोजन गर्दा सवारीसाधनसँग सम्बन्धित १३ वटा सूचकलाई आधार बनाई मूल्य समायोजन गर्नका लागि २०६५ सालमा वैज्ञानिक विधिबाट भाडा समायोजन गर्ने प्रावधान भएकोमा लामो समयदेखि भाडा समायोजन भएको छैन,” विज्ञप्तिमा भनिएको छ, “पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि र सवारीसाधनसँग सम्बन्धित १३ वटा सूचकलाई आधार मानी तत्काल वैज्ञानिक विधिबाट सङ्घीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तर्गतको भाडा सातै प्रदेश मन्त्रालयबाट यथाशीघ्र भाडा समायोजन गरिदिन हुन ध्यानाकर्षण गराउँछौँ ।”

 निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले मूल्य स्थिर नहुँदासम्मका लागि सरकारका तर्फबाट नै निर्माण बिदा घोषणा गर्न पनि महासङ्घ सरकारसमक्ष अनुरोध गर्नुभएको छ ।