• २ असोज २०८१, बुधबार

आगामी सातादेखि चाडपर्वलक्षित अनुगमन, थोक र आपूर्ति कम्पनी प्राथमिकतामा

blog

काठमाडौँ, भदौ १९ गते । सरकारले नेपालीका चाडपर्व नजिकिएसँगै चाडपर्वलक्षित बजार अनुगमन आगामी सातादेखि गर्ने तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा चाडपर्वका बेलामा बजारमा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई नियन्त्रण गर्ने उद्देश्यका साथ आउँदो सातादेखि चाडपर्वलक्षित अनुगमनको तयारी गरेको हो ।

विभागका महानिर्देशक राजन पौडेलले थप कर्मचारी माग गरिसकेकाले आउँदो सातादेखि चाडपर्वमा बढी खपत हुने सामानमा केन्द्रित भएर १० वटा टोलीले अनुगमन गर्ने जानकारी दिनुभयो । 

सामान्य अवस्था चार वटा टोलीले अनुगमन गर्दै आएकोमा चाडपर्वका बेलामा १० वटा टोलीले छुट्टाछुट्टै वस्तुको अनुगमन गर्ने गरी तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो । 

हाल बजार अनुगमनका लागि विभागसँग सीमित मात्रै जनशक्ति भएकाले सामान्य प्रशासनबाट आवश्यक जनशक्ति पठाउने सहमति भइसकेकाले सोही अनुसार अर्को साताबाट अनुगमन गर्ने तयारी गरेको उहाँको भनाइ छ । 

बजार अनुगमनको नेतृत्व वाणिज्य विभागले लिए पनि बजार अनुगमन सबै सरोकारवाला निकायसँगको सहकार्यमा संयुक्त बजार अनुगमन गरिने विभागले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीबाट यसै साता चाडपर्वमा बजारमा आपूर्ति व्यवस्थालाई सहज बनाउन, बजार अनुगमन गरी स्वस्थ र स्वच्छ बजार कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायतलाई निर्देशन भइसकेको छ । 

विभागका महानिर्देशक पौडेलका अनुसार प्रधानमन्त्री ओलीले निर्देशकसँग स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्न सरकारबाट हुन सक्ने सहयोगमा कमी हुन नदिनेसमेत आवश्वासन प्राप्त भएको छ । त्यसैले आपूर्ति व्यवस्थालाई सहज गराउने र बजार अनुगमन र नियमन गरेर स्वच्छ तथा प्रतिस्पर्धी बजार कायम गर्न जिम्मा पाएको उपभोक्ता संरक्षण विभागले आफ्नो नेतृत्वमा आउने सातादेखि अनुगमन गर्ने तयारी गरेको जनाएको छ । अहिलेको बजार अनुगमन खुद्रा पसलमा नभएर थोक र आपूर्ति कम्पनीलक्षित अनुगमनलाई बढी प्राथमिकता दिइने विभागले जनाएको छ । 

विभागका अनुसार चाडपर्वलक्षित अनुगमनमा सोबेलामा खपत हुने खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफूललगायतका खुद्राभन्दा पनि थोक र आपूर्तिकर्ताको गोदाममा अनुगमन गरिने छ । 

चाडपर्वको समयमा व्यापारीहरूले जथाभाबी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तु बेच्नेलगायतका समस्या देखिने गरेकाले विभागले अनुगमनलाई सक्रिय रूपमा अगाडि बढाउँदै आएको छ । विभागले सबै अनुगमन टोलीलाई वस्तु र क्षेत्र नै ताकेर अनुगमन सुरु गर्न निर्देशन दिइने महानिर्देशक पौडेलले बताउनुभयो । 

त्यस्तै विषयगत विभागहरू खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, मुलकभरका सबै जिल्ला प्रशासन कार्यालयका बजार अधिकृत, प्रदेश र पालिकासमेतलाई बजारमा उपस्थिति बढाउन विभागले पत्राचार गरिसकेको जनाएको छ । 

बजार अनुगमन व्यवसायीलाई आतङ्क फैलाउने र तत्काल जरिबाना गरेर तर्साउने उद्देश्यले नभएर बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु बिक्रीवितरण नगरी उपभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनका क्रममा कारबाहीको दायरामा ल्याउने विभागको तयारी छ । 

चाडपर्वलक्षित अनुगमनको तयारी भइरहे पनि विभागले गत सातादेखि नै उद्योग र आपूर्ति कम्पनीको अनुगमन गर्दै आएको छ ।