• १० मंसिर २०८१, सोमबार

हरित ऊर्जामा सफलता

blog

विश्वमा हुँदै आएको खनिजजन्य इन्धनको अधिक प्रयोगले उत्पन्न वातावरणीय प्रदूषण कम गर्नेतर्फ अन्तर्राष्ट्रिय मञ्चमा घनीभूत बहस हुँदै आएको छ । विश्वव्यापी तापमान वृद्धि न्यूनीकरणमा भइरहेका अन्तर्राष्ट्रिय पहल तथा कार्बन उत्सर्जन कटौतीप्रतिको प्रतिबद्धता अनुरूप केही वर्षयता वैकल्पिक ऊर्जाको खोजीलाई व्यापक बनाइएको हो । विद्युतीय ऊर्जा, सौर्य ऊर्जा हुँदै थप हरित ऊर्जाको रूपमा अब हाइड्रोजतर्फ विश्वको ध्यान गएको छ । हरित हाइड्रोजनबाट सवारीसाधन चलाउन थालिएका समाचार अपत्यारिलो लाग्दथ्यो । अब भने नेपालमै हरित हाइड्रोजन इन्धन प्रयोग गरेर गाडी गुडाउन सफलता मिलेको छ । काठमाडौँ विश्वविद्यालय (केयु) ले देशभित्रै उत्पादित हरित हाइड्रोजनद्वारा पहिलो पटक सवारीसाधन परीक्षणका रूपमा सञ्चालनमा ल्याएको एक वर्ष पुग्नै लागेको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई शुक्रबार विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहमा जानु हुँदा परीक्षणका रूपमा भित्र्याइएको सोही गाडीमा राखेर विश्वविद्यालय परिसर घुमाइएपछि पुनः हरित हाइड्रोजन इन्धनको चर्चा प्रारम्भ भएको छ । 

प्रधानमन्त्री ओलीले समारोहलाई सम्बोधन गर्ने क्रममा हरित हाइड्रोजन उत्पादनको क्षेत्रमा केयुले सुरु गरेको अनुसन्धान नेपालका लागि ऐतिहासिक सुरुवात भएको बताउनुभयो । उहाँले विश्वविद्यालयले भित्र्याएको हाइड्रोजन कार चढेर ‘हाइड्रोजन रिफ्युलिङ सेन्टर’ को उद्घाटनसमेत गर्नुभयो । उहाँले आफू अघिल्लो पटक प्रधानमन्त्री भएको समयमा हरित हाइड्रोजनसम्बन्धी अध्ययन गर्न अनुरोध गरे अनुरूप विश्वविद्यालयले अनुसन्धान गरेर सफलता प्राप्त गरेकामा खुसी व्यक्त गर्नुभएको हो । मुुलुकको शैक्षिक क्षेत्रमा गुणस्तरीय योगदान पुर्‍याइरहेको केयुले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा ‘हाइड्रोजन रिफ्युलिङ स्टेसन’ निर्माण गरेर हाइड्रोजन इन्जिनयुक्त कार परीक्षणका रूपमा प्रयोगमा ल्याएको छ । केयुले दक्षिण कोरियाको हुन्डाइ कम्पनीद्वारा निर्मित हाइड्रोजनले चल्ने कार गत वर्ष नै ल्याएको हो ।

हरित हाइड्रोजनबारे अध्ययन तथा परीक्षण कार्य गरिरहेको केयुको ग्रिन हाइड्रोजन ल्याबका प्रमुख सहप्राध्यापक डा. विराजसिंह थापाको नेतृत्वको इन्जिनियरिङ टोलीको लामो समयदेखिको परिश्रमले सफलता प्राप्त गरेको हो । यस कार्यका लागि नेपाल आयल निगमले केयुलाई महत्वपूर्ण आर्थिक सहयोग गरेको विदित हुन्छ । केयुले हाल परीक्षणका रूपमा स्थापना गरेको रिफ्युलिङ स्टेसनमा सफलता प्राप्त गरेपछि ठुलो सङ्ख्यामा हाइड्रोजन इन्धनयुक्त गाडीलाई रिफ्युलिङ गर्न ‘हाइड्रोजन रिफ्युलिङ सेन्टर’ स्थापना गर्ने गरी ‘पाइलट प्रोजेक्ट’ तयार गर्ने जनाएको छ । हाल दैनिक दुई किलो हाइड्रोजन उत्पादन गरिएको र यसबाट एउटा कारलाई दुई सय किलोमिटर गुड्न इन्धन पुग्ने अनुसन्धानमा संलग्न इन्जिनियरिङ टोलीको भनाइ छ । हाइड्रोजन उत्पादन गर्नेदेखि भण्डारण र गाडीमा भर्नेसम्मको सबै प्रणाली निर्माण तथा सञ्चालन सम्पन्न भइसकेको छ । विश्वमा प्रचलित हरित हाइड्रोजन उत्पादनदेखि खपतसम्मका प्रविधिको जडानमा नेपाली प्राविधिकलाई मिलेको यो सफलता लामो समयदेखिको अनुसन्धानको मूर्तरूप हो । अब यो हरित ऊर्जाको दक्षतालाई व्यावसायिक प्रयोजनमा ल्याउनेतर्फ राज्य, निजी क्षेत्र तथा सरोकारवाला निकायको ध्यान केन्द्रित हुन आवश्यक देखिन्छ ।

छिमेकी मुलुक चीन र भारतले वैकल्पिक ऊर्जाको रूपमा हरित हाइड्रोजनको उत्पादन तथा प्रयोगका लागि राष्ट्रिय नीति निर्माण गरेर अघि बढिरहेको सन्दर्भमा नेपाल सरकारले पनि केही समयअघि ‘ग्रिन हाइड्रोजन नीति–२०८०’ जारी गरेर यसतर्फको सम्भावनाको ढोका खोल्ने काम गरेको छ । नेपालको संविधानमा नवीकरणीय ऊर्जाको उत्पादन तथा विकास गर्दै नागरिकको आधारभूत आवश्यकता परिपूर्तिका लागि सुपथ र सुलभ रूपमा भरपर्दो ऊर्जाको आपूर्ति सुनिश्चित गर्ने तथा ऊर्जाको समुचित प्रयोग गर्ने राज्यको नीति अनुरूप सरकारले उक्त नीति पारित गरेर नवीकरणीय ऊर्जाको अध्ययन, अनुसन्धान र विकासका लागि बाटो खोल्ने काम गरेको हो । 

हाइड्रोजनको उत्पादनबारे विस्तृत अध्ययन भइनसकेको भए पनि सरोकारवाला र सम्बन्धित क्षेत्रका विज्ञले यसको प्रशस्त सम्भावना औँल्याउँदै विभिन्न समयमा अध्ययन प्रतिवेदनहरू तयार पारेर ध्यानाकर्षण गराउँदै आएका छन् । विश्वमा अहिलेसम्मको सबैभन्दा कान्छो इन्धन हरित हाइड्रोजन रासायनिक मल उत्पादनका लागि पनि प्रयोग हुने भएकोले यसतर्फको परनिर्भरता अन्त्य गर्न जतिसक्दो छिटो सरकारी स्तरबाटै अग्रसरता देखाउन आवश्यक छ । हरित हाइड्रोजन औद्योगिक क्षेत्र तथा सवारीसाधनमा प्रयोग हुने भएकाले सरकारद्वारा जारी नीतिको सफल कार्यान्वयनका लागि संस्थागत संरचना खडा गर्न कत्ति पनि ढिलाइ गर्न नहुने देखिएको छ । मुलुकको प्रधानमन्त्री स्वयम्ले आफ्नै सुझाव अनुसार केयुले अध्ययन अनुसन्धान गरेर सफलता प्राप्त गरेको बताउनु भएर अनुसन्धानमा संलग्न टोलीलाई हौसला प्रदान गर्नुभएको छ । प्राप्त सफलतालाई व्यावहारिक र व्यावसायिक बनाउनेतर्फ सरकारको ध्यान जान वाञ्छनीय छ ।