• १६ भदौ २०८१, आइतबार

गाउँ गाउँका सडक ढलान गरेका छौँ

blog

सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको गोडैता नगरपालिका ४८.०७ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । सर्लाहीका २० वटा पालिकामध्ये विकास र परिवर्तनमा योे पालिका सबैभन्दा अगाडि देखिएको छ । २०७३ सालमा स्थापना भएको यस नगरपालिकामा साबिकका आठ गाविस (गोडैता, बहादुरपुर, बेल्वाजब्दी, भगवतीपुर, रोहुवा, रामवन, बगदह र सिसौटिया) समेटिएका छन् । १२ वटा वडा रहेको नगरपालिकाको जनसङ्ख्या ६२ हजार छ । पालिकाको पूर्वमा चक्रघट्टा, विष्णु र कौडेना गाउँपालिका, पश्चिममा बलरा नगरपालिका, रामनगर र धनकौल गाउँपालिका, उत्तरमा बसबरिया गाउँपालिका र दक्षिणमा मित्रराष्ट्र भारत पर्छ । गएको स्थानीय तह निर्वाचनमा यस नगरपालिकाको नगरप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट देवेन्द्रकुमार यादव दोस्रो पटक निर्वाचित हुनुभएको थियो । यादवसँग पालिका प्रमुखको अनुभव, पालिकाको प्राथमिकता, काम गर्ने सिलसिलामा आइपरेका समस्या र सम्भावनाबारे गोरखापत्रका सर्लाही समाचारदाता जनार्जन खत्रीले गर्नुभएको कुराकानी :

पालिकाको प्रमुखमा दोस्रो पटक निर्वाचित भएर काम गर्दै हुनुहुन्छ, उल्लेखनीय के के काम गर्नुभयो ?

शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । यहाँका प्रायः सबै जसो विद्यालयमा नयाँ भवन र पर्खाल निर्माण भएका छन् । हामी निर्वाचित भएर आउँदा विद्यार्थी भुइँमा बसेर पढ्थे । अहिले प्रत्येक विद्यालयमा पर्याप्त डेस्क, बेन्च र फर्निचर छन् । नारायणहरि माध्यमिक विद्यालय गोडैता–१०, सिसौटियामा चार करोड २६ लाख रुपियाँको लागतमा सुविधासम्पन्न भवन निर्माण गर्न यसै वर्ष टेन्डर लागिसकेको छ । रामवनमा दुई करोड र मधुवनीमा तीन करोड रुपियाँको विद्यालय भवन बन्दै छन् । स्वास्थ्यतर्फ नगरपालिकाको वडा नं. ३ सिमरा भगवतीपुरमा १५ शøयाको अस्पताल तयार हुनै लागेको छ । साढे १८ करोड रुपियाँको लागतमा निर्माण कार्य अन्तिम चरणमा पुगेको अस्पताल यसै वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । अधिकांश स्वास्थ्य चौकी र बर्थिङ सेन्टरमा नयाँ भवन बनेका छन् । बाँकीको यो वर्ष निर्माण हुँदै छ । प्रदेश सरकारको सहयोगमा वडा नं. ७ मा रहेको स्वास्थ्य चौकीमा नियमित प्रयोगशाला सञ्चालन भइरहेको छ । बगदह, बकैनिया, सिसौटिया, मधुवनी र बेल्वाजब्दीका बर्थिङ सेन्टरलाई पनि व्यवस्थित गरेका छौँ । यस नगरपालिकाको आफ्नै भवन छैन । अब वडा नं. ७ र ८ को सीमामा साढे छ करोड रुपियाँको लागतमा प्रशासनिक भवन बन्दै छ । आगामी असारसम्म हस्तान्तरण गरेर प्रयोगमा ल्याउने तयारी गर्दै छौँ । 

शिक्षाको गुणस्तर सुधारका लागि कसरी काम गरिरहनुभएको छ ? 

शिक्षाको गुणस्तर सुधार गर्न भ्याएको समयमा म आफँैले नत्र उपप्रमुख, वडाध्यक्ष र शिक्षा शाखाबाट विद्यालयको नियमित अनुगमन भइरहेको छ । हामी यो वर्ष २८÷३० जना विषयगत शिक्षक नियुक्त गर्दै छौँ । प्रत्येक वडामा कम्तीमा दुई जना शिक्षक राख्ने तयारीस्वरूप बजेट विनियोजन भएको छ । विद्यालयमा के कसरी पठनपाठन र दिवा खाजाको व्यवस्था भएको छ, त्योबारे पनि अनुगमन भइरहेको छ । मधेशमा सुधार गर्न अलि गाह्रो नै छ तर पनि हामीले हाम्रो बलबुताबाट भ्याएसम्मको सुधार गर्ने प्रयास गरेका छौँ । विद्यालयमा पठनपाठनको अवस्था सुध्रिएको छ । 

छिमेकका अन्य पालिकाको तुलनामा गोडैतामा सडक ढलानको काम बढी भएको देखिन्छ । अहिलेसम्म कुन कुन सडक ढलान भए ?

गाउँ गाउँमा सडक ढलान र नाला निर्माण भएका छन् । हरेक गाउँमा ६०÷७० प्रतिशत सडक ढलान भइसकेको छ । सडक सुधार गर्नुपर्ने प्रमुख आवश्यकता देखेर नै गोडैता बजारसँग जोड्ने सडक धेरै जसो ढलान गरिसकेका छौँ । बगदह–गोडैता सडक ढलान हुने व्रmममा र गोडैता–बकैनियाँ सडक आधाभन्दा बढी ढलान भइसकेको छ । यो वर्ष गोडैता–२ देखि जयपुर हुँदै छिमेकी विष्णु गाउँपालिकाको विश्वनाथपुरसम्म पुग्ने सडक कालोपत्रे गर्न टेन्डर परिसकेको छ । गोडैतादेखि सिसौटियासम्म कालोपत्रे सडक बनेकोमा एक ठाउँमा बजेट अभाव र विवादका कारण काम अधुरो रहेकोमा यो वर्ष पालिकाबाट ७० लाख रुपियाँ खर्चिएर विवादित ठाउँमा कालोपत्रेको साटो ढलान गर्ने तयारी छ । हाम्रो यो कार्यकालमा नगरभित्रका प्रत्येक भित्री सडक ढलान गरेर सम्पन्न गर्ने छौँ । 

नगरपालिकाको केन्द्र रहेको गोडैता बजार अव्यवस्थित, फोहोर र दुर्गन्धित भयो भन्ने गुनासो धेरै सुनिन्छ । बजारको व्यवस्थापनमा नगरपालिकाले के गरिरहेको छ ?

सरकारले २०७१ सालमा गोडैता बजारमा नालासहितको ढलान सडक निर्माण गर्न टेन्डर ग¥यो तर १० वर्षसम्म काम नै हुन सकेन । बजारमा ढलान र नालाका लागि पहल गर्न म आफैँ १० पटक भन्दा बढी काठमाडौँ धाउँदा काम हुन सकेन । त्यसपछि वाक्कदिक्क भएर नगरपालिकाबाटै बजेट विनियोजन गरी बजारमा केही भाग ढलान र नाला निर्माण गरी व्यवस्थित पारेका छौँ । बाँकी रहेको ठाउँमा ढलान र नालाको काम गर्न यो वर्ष पनि ५० लाख रुपियाँ बजेट विनियोजन गरेका छौँ । गोडैता बजार पहिलेकै जस्तो छैन, हामीले बजारलाई सफा र हिलोमुक्त बनाउने काम गरिसकेका छौँ । 

नगरपालिकाभित्र इलाका प्रहरी कार्यालयको माग गर्न छाड्नुभयो कि छैन ?

यस मामलामा विडम्बना नै भन्नु पर्छ । हाम्रो कुरा कसैले सुनेको छैन । ३० किलोमिटर क्षेत्रफलमा फैलिएको नगरपालिकामा रहेको प्रहरी चौकीका सात÷आठ जना प्रहरी छन् । यो अवस्थामा कसरी शान्तिसुरक्षा कायम हुन सक्छ । इलाका प्रहरी कार्यालय स्थापना गरी इन्स्पेक्टरको नेतृत्वमा कम्तीमा २०÷२५ जना प्रहरी हुनुपर्ने हो । यसबारे बारम्बार प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकलगायतसँग माग गरेको छाँै तर सुनुवाइ भएको छैन । सीमा क्षेत्रको यति ठुलो पालिकामा प्रहरीको उपस्थिति बढाउन सके आपराधिक घटना र लागुऔषधको ओसारपसार र दुव्र्यसनी कम हुने थियो । 

मधेशमा पछिल्लो समय लागुऔषध दुव्र्यसनी र बालविवाह निकै ठुलो समस्याको विषय बनिरहेको छ । यहाँको पालिकामा के छ अवस्था ?

गोडैताको वडा नं. १२ मधुवनीलाई चाँडै बालविवाहमुक्त वडा घोषणा गर्दै छौँ । अन्य वडामा पनि लागुऔषधको प्रयोग तथा ओसारपसार, बालविवाह र दाइजो प्रथा न्यूनीकरणका लागि सचेतनामूलक कार्यव्रmम भइरहेको छ । जनचेतना अभिवृद्धिका लागि यो वर्ष प्रत्येक वडालाई आठ÷आठ लाख रुपियाँ बजेट छुट्याएका छौँ । दाइजो प्रथा र बालविवाह पनि यहाँको ठुलो समस्या छ । पछिल्लो समय बालविवाहमा कमी आए पनि पूर्ण रूपमा रोकिएको छैन । त्यसलाई रोक्न पनि हामी सचेतना जगाउन लागिपर्दै छौँ । खुला सीमानाकाबाट निर्बाध रूपमा लागुऔषधको ओसारपसारसँगै सेवन गर्ने परिपाटी रहेकाले त्यो अर्को चुनौती छ ।  

कृषितर्फ के के काम भएका छन् ?

बाली लगाउने बेला कृषकलाई गहुँ, धान र तरकारीको बिउ वितरण गरेका छौँ । हामीले अनुदानमा गहुँको बिउ वितरण गरेकै कारण यो वर्ष जिल्लाभरमै सबैभन्दा बढी गहुँ फलाउने पालिका हाम्रै भयो । यहाँ उखु खेती धेरै हुन्छ । नगरपालिकाभित्र रहेको महालक्ष्मी चिनी उद्योग बगदहसँग समन्वय गरी यो वर्ष प्रत्येक किसानलाई कम्तीमा पाँच कट्ठामा पुग्ने गरी उन्नत जातको उखुको बिउ वितरण ग¥यौँ । अब यो वर्षबाट किसानको कृषि सिँचाइ मिटरको महसुल नगरपालिकाले नै तिर्ने कार्यपालिका बैठकबाट निर्णय भइसकेको छ । यसबाट कृषक कृषि पेसामा प्रोत्साहित हुने अपेक्षा गरेका छौँ । 

तपाईंको बाँकी कार्यकालमा के के काम गर्ने योजना बनाउनुभएको छ ?

मधेश पिछडिएको शिक्षा नभएर हो । त्यसैले बाँकी कार्यकालमा पनि हामी शिक्षा क्षेत्रको सुधारमै जोड दिन्छौँ । शिक्षा, स्वास्थ्य, खानेपानी र सडक नै प्राथमिकतामा पर्छ । बाँकी रहेका भित्री सडक ढलान गरेर सक्छौँ । सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण सिर्जना गर्छौं । यहाँ खानेपानीको समस्या पनि ठुलो छ । गोडैता, बकैनिया, सिसौटियालगायत स्थानमा खानेपानीको बर्सौंदेखि अलपत्र ओभरहेड ट्याङ्की सञ्चालन गर्ने योजना बनाएका छौँ । त्यति गर्न सके ९० प्रतिशत नगरवासीमाझ स्वच्छ र शुद्ध खानेपानी पुग्ने अवस्था छ । स्वास्थ्यमा प्रत्येक स्वास्थ्य चौकीबाट समयमै औषधी पाउने र भरपर्दो हिसाबले प्राथमिक उपचार पाउने व्यवस्था गर्ने छौँ ।