• ७ मंसिर २०८१, शुक्रबार

नजिकियो चाडपर्व महँगियो भान्सा

blog

काठमाडौँ, भदौ ११ गते । चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक बढ्न थालेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल र चिनीको मूल्य क्रमिक बढिरहेको छ । मूल्य वृद्धि हुनुको स्पष्ट कारण नभए पनि व्यापारीहरू भने चिनी र चामलको मूल्य बढ्नुमा भारतले निकासीमा गरेको कडाइ र भन्सार महसुल वृद्धि हुनुलाई देखाउँछन् । 

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार नेपाल सरकारले स्वदेशी उद्योगको संरक्षण गर्ने नाममा अनावश्यक रूपमा लगाउँदै आएको ३० प्रतिशत भन्सार महसुल एवं अग्रिम आयकर कट्टीबापत १० प्रतिशतको राजस्व उठाउने गरेकाले पछिल्लो महिना चिनी, दलहन र चामलको भाउ बढेको हो । नेपाल खाद्यवस्तुमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै ती वस्तुको भाउ बढेको हुँदा चामल प्रतिबोरा दुई सय रुपियाँ बढेर आएको सङ्घले जनाएको छ । 

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो दुई महिनाको बिचमा मोटा चामल प्रतिबोरा तीन सय रुपियाँसम्म, दलहन प्रतिकेजी ९० रुपियाँसम्म र चिनी प्रतिकेजी २० रुपियाँ महँगो भएको छ । 

सङ्घका महासचिव अमुलकाजी तुलाधरले भारत सरकारले चामल, चिनी र दलहनलगायतका खाद्यवस्तु नेपालमा निर्यात गर्दा अतिरिक्त भन्सार महसुललगायतका कारण पछिल्ला दिनमा नेपालका सीमित व्यापारीले आफूखुसी रूपमा मौज्दात रहेका वस्तुको मूल्य बढाउँदा सरकारका नियमनकारी निकायले अनुगमन गरेर कारबाही गर्न नसकेको बताउनुभयो । सरकारको अनुगमन टोली सधैँ साना खुद्रा पसलमा सीमित हुँदा बजार अनुगमनले परिणाम आउन नसकेको उहाँको बुझाइ रहेको छ । 

महासचिव तुलाधरले पछिल्ला दुई महिनाको बिचमा चामल, चिनी, दहलन, चिउरा, आटालगायत सबै वस्तुको भाउ महँगो भएको र आफूहरूका लागि यो नौलो नभएको प्रतिक्रिया दिनुभयो । 

सङ्घका उपाध्यक्ष नरेशबाबु शाहीले पछिल्लो दुई महिनाको बिचमा थोक बजारमा चामल र दलहनको भाउ पत्याउनै नसक्ने गरी बढेर आफूहरूलाई बिक्री गर्न समस्या भएको अनुभव सुनाउनुभयो । थोकमा चामल, दाल, गेडागुडी, आटा, चिनीलगायतको भाउ दिनैपिच्छे बढेको भन्दै उहाँले भन्नुभयो, “हिजो बेचिरहेको वस्तुको मूल्यमा आज ल्याएर बिक्री गर्न सकिने अवस्था छैन, उपभोक्तासँग कुराकानी गर्न पनि समस्या भइरहेको छ ।” 

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घले नेपालमा चामल, दलहन चिनी, आटालगायतका वस्तु मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्नेबित्तिकै नेपालमा त्यसको असर पर्ने गरेको जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग बेला बेलामा हुने औपचारिक तथा अनौपचारिक छलफलमा भने तिनै खाद्यवस्तु आपूर्तिकर्ता व्यापारीले छ महिनासम्म पुग्ने खाद्यवस्तु मौज्दात राख्न सकिने बताउँदै आएका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको मुखमा चामल र चिनीको अभाव नहोस् भनेर भारतबाट ६५ हजार मेट्रिक टन चामल र १९ हजार मेट्रिक टन चिनी खरिदका लागि व्यापारी छनोट गरेर खरिद प्रक्रिया थालेको जनाएको छ । विभागका महानिर्देशक राजन पौडेलले भारतबाट चामल र चिनी ल्याउन थालेपछि अहिलेको बजार भाउमा क्रमशः गिरावट आउने विश्वास व्यक्त गर्नुभयो । भारतबाट ल्याउँदै भाउ बढेको वस्तुको भाउ बढाउनुु स्वाभाविक भए पनि मौज्दात रहेकै वस्तुको भाउ बढेको भन्ने गुनासो धेरै आएकाले त्यस विषयमा विभागले उद्योग र थोकमा अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । 

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतले चामल, दलहनलगायतका वस्तुको निर्यातमा कडाइ गर्दै ती वस्तुको निर्यातमा २० प्रतिशत अतिरिक्त भन्सार महसुल थपेकाले आमनेपाली उपभोक्ता यसको प्रत्यक्ष मारमा परेको बताउनुभयो । उहाँका अनुसार भारत सरकारले यी वस्तुको निर्यात नेपाल, श्रीलङ्का, माल्दिभ्समा पनि निर्यात गर्दै आएको भए पनि ती देशलगायतको भन्सार महसुल भने नेपाललाई मात्रै लगाएको छ । 

सर्वसाधारण उपभोक्तालाई असर पर्ने विषयमा नेपाल सरकार जिम्मेवार र गम्भीर नभएका कारण आमउपभोक्ताले अहिले यो महँगीको मारमा पर्नु परेको मञ्चका अध्यक्ष महर्जनको आरोप छ । कम्तीमा सरकार आमउपभोक्ताप्रति गम्भीर भएको भए त श्रीलङ्का र माल्दिभ्सलाई छुट दिएको अतिरिक्त भन्सार महसुल नेपाललाई पनि छुट हुन सक्ने भन्दै उहाँले यसमा सरकार नै निरीह भएकाले उपभोक्ता महँगीको मारमा परेको आरोप लगाउनुभयो । 

त्यसो त मञ्चले केही दिनअघि मात्रै आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा बजारमा भएको अव्यवस्था र अनावश्यक वस्तुको मूल्य वृद्धि नियन्त्रणका लागि सहज, सुलभ रूपमा आपूर्ति व्यवस्थापन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनमार्फत शून्य भन्सार दरमा ४० हजार मेट्रिक टन चिनी र एक लाख मेट्रिक टन चामल आपूर्ति गर्न माग गरेको छ ।