• १४ चैत २०८२, शनिबार

अनुदानको नुन लिन बाह्र घण्टा पैदल

blog

खच्चडमा नुन ढुवानी गरेर नेक्पा लगिँदै । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, चैत १४ गते । साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको आयोडिनयुक्त नुन लिन चङ्खेली गाउँपालिका–५, नेक्पावासीले १२ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । सिङ्गो वडा नै हालसम्म सडक सञ्जालसँग नजोडिएका कारण नेक्पाबाट गाउँपालिका केन्द्र पिप्लाङसम्म पुग्न १२ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुन लिन पुगेका स्थानीय जङ्ग तामाङ भन्नुहुन्छ, “नुन लिन जाँदा छ घण्टा लाग्छ । फर्कदा पनि छ घण्टा नै खर्चिनु पर्छ ।”

गाउँपालिका केन्द्रमा नुन आइपुगेको खबर वडाले गरेपछि नेक्पावासी पैदल हिँडेर नुन लिन पुगेका छन् । यस पटक वडाको सिफारिसमा एक घरधुरीले ५० केजी नुन पाएका छन् । पशुवस्तु धेरै भएको नेक्पागाउँमा यस वर्ष गत वर्षभन्दा तीन गुणा बढी नुन पाएपछि सहज भएको उहाँले बताउनुभयो । नुन पाएपछि छ घण्टा पैदल हिँडेर गाउँ पुगेको उहाँको भनाइ छ । 

यसअघि पहिलो पटक उक्त नुन पाउन लागि नागरिकता पेस गरेर वडाको सिफारिसका आधारमा नेक्पावासीले नुन पाउने गरेका थिए । वडाध्यक्ष हर्कधन तामाङले वडाभरिका ७० घरधुरीका स्थानीयले छ घण्टाभन्दा बढी समय लगाएर हिँड्नु परे पनि सहज रूपमा नुन पाएको बताउनुभयो । गत वर्ष नेक्पावासीले पहिलो पटक साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुन लिएका थिए । 

त्यसअघि चिनियाँ नुन मात्र प्रयोग गरिन्थ्यो । अब चिनियाँ नुन प्रतिकेजी ४० रुपियाँ पर्न थालेपछि नेक्पावासी नेपाली नुन खरिद गर्न थालेकोे उहाँको भनाइ छ । सो ढुवानी अनुदानको नुन प्रतिकेजी नौ रुपियाँ परेको थियो । यस पटक नुन पनि बढी पाएको र नेक्पाबाट खच्चडमा जडीबुटी ढुवानी गरेर पिप्लाङसम्म ल्याएका कारण फिर्ता हुँदा तिनै खच्चडले निःशुल्क नुन ढुवानी गरिदिएका कारण सस्तोमा नुन उपभोग गर्न पाएको वडाध्यक्ष तामाङले बताउनुभयो । यसैबिच साल्ट ट्रेडिङ कर्पोरेसनको सिमकोट शाखाले चङ्खेली गाउँपालिकाका अन्य पाँच वटा वडाका स्थानीयलाई पनि नुन बिव्रmी गरेको शाखा प्रमुख राजबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार वडा नं. ५ बाहेक अन्य पाँच वटा वडाका स्थानीयलाई नुन बिक्री गरिएको छ । जसमा वडा नं. १ मा ५०.५३ क्विन्टल, २ मा ११७.८० क्विन्टल, ३ मा ८३.८ क्विन्टल, ४ मा ५१.७२ क्विन्टल र ६ मा ८५.२५ क्विन्टल नुन बिक्री गरिएको हो । 

त्यसै गरी बजारवासी, विद्यालय, प्रहरी, कर्मचारीलाई ८५.१२ क्विन्टल गरी ४७० क्विन्टल नुन बिक्री गरिएको छ । यस वर्षका लागि निर्धारित कोटाको नुन अपुग हुने भएपछि जिल्लामा बसेको सर्वपक्षीय बैठकले थप कोटाका लागि माग गर्ने तयारी गरेको छ । बैठकले चङ्खेली र सर्केगार्ड गाउँपालिका गरी पाँच सय क्विन्टल नुन थप माग गर्नुपर्ने निर्णय गरेको छ ।