• १६ भदौ २०८१, आइतबार

उपभोक्ताको अधिकार सुनिश्चित गर्न दलीय राजनीतिकरण बन्द गरौँ : सभापति खान

blog

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खान काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, भदौ ९ गते । जनमत पार्टीका सांसद एवम् उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले उपभोक्ताहरूको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सभापति खानले दलीय राजनीतिको व्यवस्थापन गर्नसके उपभोक्ताहरू नठगिने बताउनुभयो । उहाँले कानुनमा भएका कमी कमजोरी सच्याएर अघि बढ्नसके उपभोक्ताहरू नठगिने बताउनुभयो । उहाँले उपभोक्ताको अधिकार र आपूर्ति सहज बनाउन दलीय राजनीतिकरण बन्द गर्नुपर्ने जिकिर गर्नुभयो ।

सरकारमा दुई वटा ठुला पार्टी रहेकाले क्षमा याचना गर्ने मौका जनताले नदिने भनाइ व्यक्त गर्नुहुँदै उहाँले उद्योगहरूको अनुगमन गर्न जाँदा नेताहरूको फोन आउने र कारबाही गर्न नपाइने गरेको बताउनुभयो । उहाँले उपभोक्ताको हक हितको रक्षा गर्ने हो भने उद्योगी, व्यवसायीहरू राजनीतिकरणमा लाग्नु नहुने जिकिर गर्नुभयो ।

सभापति खानले १५ खर्ब ५२ अर्बको आयात भइरहेको र निर्यात जम्मा एक खर्ब ५२ अर्बको निर्यात गरिरहेको बताउनुभयो । १४ खर्ब ४२ अर्बको रेमिट्यान्स भित्र्याएर देशलाई धानिरहेको जिकिर गर्नुभयो ।

उहाँले देशमा भएका साधन र स्रोतको उचित प्रयोग गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले आयात गर्नुपर्ने वस्तुमा कर्मचारीतन्त्र बढी उत्साहित हुने तर भएका उत्पादनलाई सही सदुपयोग गर्नेतर्फ जान नसकेको बताउनुभयो ।