• १० मंसिर २०८१, सोमबार

महिला उम्मेदवारलाई पालिका प्रमुखमा जित्न सकस

blog

धनगढी, वैशाख २५ गते । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये विभिन्न प्रमुख राजनीतिक दलले छवटा पालिकामा महिलालाई पालिका प्रमुखको उम्मेदवार बनाएका छन् । 

०७४ सालको परिणामलाई विश्लेषण गर्दा अधिकांश पालिका प्रमुखका महिला उम्मेदवारलाई यसपटक जित्न कठिनाइ छ । छवटै महिलाहरु नगरपालिकाको प्रमुखको उम्मेदवार हुन । गाउँपालिकामा भने प्रमुख दलहरुले महिलालाई अध्यक्षको उम्मेदवार बनाएका छैनन् । पाँच महिला उम्मेदवारमध्ये नेकपा (एमाले) ले बाट तीन जनालाई नगर प्रमुखको उम्मेदवार छन् । एमालेले अछामको साँफेबगरमा पशुपति कुँवर,  कञ्चनपुरको बेदकोट नगरपालिकामा कञ्चनपुरमा शुशिला सिंह, कञ्चनपुरकै बेलौरी नगरपालिकामा एमालेका केन्द्रीय सदस्य कमला बोहरालाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । 

नेपाली काँग्रेसले दुईवटा पालिकामा नगर प्रमुखको उम्मेदवार महिलालाई बनाएको छ । जसअनुसार कैलालीको लम्कीचुँहा नगरपालिका शुशिला शाही र अछामको पञ्चदेवल विनायक नगरपालिका अम्विका चलाउने नगरप्रमुखको उम्मेदवार हुनुहुन्छ । 

यस्तै नेकपा (एकीकृत समाजवादी) ले डडेल्धुरा अमरगढी नगपालिकामा  संगिता भण्डारीलाई उम्मेदवार बनाएको छ । राजनीतिक दलहरुले अघिल्लो चुनावमा दुई जनालाई मात्र पालिका प्रमुखको उम्मेदवार बनाएकोमा डोटीको दिपायल सिलगढी नगरपालिकामा एमालेका मञ्जु मलासीले चुनाव जित्नुभएको थियो । भने कैलालीको घोडाघोडी नगरपालिकामा काँग्रेका रिता चौधरी पराजित हुनुभएको थियो । यसपटकको चुनावमा अछामको पञ्चदेवल विनायक नगरपालिकामा बाहेकका अरु पालिकामा महिला उम्मेदवारले जित्नका लागि धेरै मेहनत गर्नुपर्ने देखिन्छ । 

पञ्चदेवल विनायक नगरपालिकामा यसअघि काँग्रेसले चुनाव जितेको थियो त्यसैमा एमाले, माओवादी र एकीककृत समाजवादीले पनि छुट्टाछुट्टै उम्मेदवार बनाएकोले पनि काँग्रेसबाट उम्मेदवार बनेकी अम्विका चलाउनेले सजिलै चुनाव जित्ने अनुमान गरिएको छ । यसअघि एमाले दोस्रो भएको सो नगरपालिकामा एमाले विभाजन भएको र एकीकृत समाजवादीले समेत उम्मेदवारी दिएकोले नेत्री चलाउनेलाई जित्न सहज हुने अनुमान छ । चलाउने यसअघि उपप्रमुखमा विजयी हुनुभएको थियो । 

नेत्री चलाउनेपछि कैलालीको लम्की चुहा नगरपालिकामा प्रमुखकी उम्मेदवार सुशीला शाहीलाई जित्न सजिलो मानिएको थियो । तर त्यहाँ काँग्रेसभित्रको असन्तुष्टिले एमालेका उम्मेदवार महादेव बजगाईलाई सहज हुन्छ कि भन्ने आकलन छ । काँग्रेस केन्द्रले शाहीलाई र प्रदेशले भक्त थापालाई उम्मेदवार बनाएर उम्मेदवारी दर्ता गरिएको थियो । पछि केन्द्रकै निर्णय अनुसार शाही उम्मेदवार त बन्नुभयो तर थापा र उहाँका शुभचिन्तकले सहयोग नगर्ने हुन कि भन्ने आशङ्का कायम छ । शाहीसँग प्रतिस्पर्धामा रहनु भएका एमालेका महादेव वजगाई ०७४ मा निर्वाचित नगरप्रमुख पनि हुनुहुन्छ । 

यस्तै डडेल्धुराको अमरगढीमा अघिल्लो चुनाव एमालेले जितेको थियो । अहिले एमाले र काँग्रेस विपीवीच सहकार्य भएको छ । अमरगढीबाट एमालेबाट उपमेयर जित्नु भएकी सङ्गीता भण्डारी एकीकृत समाजवादीबाट नगरप्रमुखको उम्मेदवार बन्नुभएको छ । एकातिर गठबन्धन अर्कोतिर एमाले विभाजनले भण्डारीलाई पनि नगर प्रमुख जित्न निक्कै सकस छ । 

कञ्चनपुरको बेदकोटमा यसअघि एमालेले जितेको थियो । जितेका नगर प्रमुख अशोक चन्द एकीकृत समाजवादीमा लाग्नुभएको छ भने उपप्रमुख सुशीला सिंह एमालेबाटै नगरप्रमुखको उम्मेदवार बन्नुभएको छ ।वेदकोटमा अघिल्लो चुनावमा दोस्रो शक्ति भएको काँग्रेस अहिले एक्लै चुनावमा होमिएको छ भने अकोतिर एकीकृत समाजवादी र माओवादीले गठबन्धन गरेका छन त्यसैले एमाले नगरप्रमुखमा उठाएकी सिंहलाई जित्न निक्कै मेहनत गर्नुपर्ने हुन्छ । 

कञ्चनपुरकै बेलौरी नगरपालिका यसअघि माओवादी एक्लैले जितेको थियो । त्यसैमा अहिले माओवादी र समाजवादीको गठबन्धन बनेको छ । त्यसैले एमालेका तर्फबाट उम्मेदवारी बन्नुभएकी कमला बोहरालाई पनि नगरप्रमुख जित्न ठूलो चुनौती छ । यद्यपि नेत्री बोहराले आफू लामो समयदेखि सोही क्षेत्रमा काम गरेको र सबैसँग परिचित भएकोले जित्नेमा ढुक्क रहेको बताउनुहुन्छ । 

अछामको साँफेबगरमा एमालेबाट निर्वाचित नगरप्रमुख कुल कुँवरसहितका धेरै जिम्मेवार नेता कार्यकर्ता एकीकृत समाजवादीमा रहनु र त्यहाँ पहिले थारै मतले दोस्रो शक्ति भएको काँग्रेस र समाजवादीको गठबन्धन भएकोले एमालेकी नेत्री पशुपति कुँवरलाई जित्न सकस छ । तर एमाले नेता भीमबहादुर रावलको निर्वाचन क्षेत्रमा पर्ने नगरपालिका समेत भएकोले जनताले साँफेबगरमा एमालेलाई नै जिताउने विश्वास एमालेका कार्यकर्ता एकिन्द्र कुँवरको छ । नेता रावल सोही नगरपालिकाका मतदाता  हुनुहन्छ । 

Author

प्रकाशविक्रम शाह