राजु लामिछाने
रुकुमपश्चिम, भदौ ७ गते । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को नतिजामा जिल्लामा उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९-८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को गुणस्तर परीक्षणसहितको अन्तिम नतिजा अनुसार जिल्लामा छ पालिका मध्य त्रिवेणीले सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो ।
त्रिवेणी गाउँपालिकाले ८२.५० अङ्कका साथ जिल्लामा अब्बल भएको प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्तीले जानकारी दिनुभयो । नतिजा अनुसार चौरजहारी नगरपालिका दोश्रो भएको छ । चौरजहारीले ८०.५० अङ्क प्राप्त गरेको छ ।
यसैगरी आठबिसकोट नगरपालिकाले ७२, सानीभेरी गाउँपालिकाले ७१.७५ र मुसीकोट नगरपालिकाले ७१ र बाँफिकोट गाउँपालिकले ५६ अङ्क प्राप्त गरेका छन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ । शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनामा व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनन गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।
गाउँ तथा नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धिहरुको लेखाजोखा गरि शासकिय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकार बिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन गर्ने गर्दछ ।