• ११ असोज २०८१, शुक्रबार

गठबन्धनको धरान प्रतिबद्धतापत्र सार्वजनिक

blog

निशा राई

धरान, वैशाख २५ गते । धरान उपमहानगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। ‘हाम्रो दुरदृष्टि : समुन्नत धरान’ नारासहित महानगरपालिकाका रूपमा धरानलाई विकास गर्ने योजना गठबन्धनको प्रतिबद्धतापत्रमा छ।भ्रष्टाचाररहित नगरको रूपमा विकास गर्ने योजना प्रतिबद्धतापत्रमा छ।

धरानमा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले चुनावी गठबन्धन गरेका छन्। गठबन्धनका तर्फबाट धरान उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार किशोर राईले धरानलाई विकसित सहरका रूपमा अगाडि बढाइने बताउनुभयो। गठबन्धनबाट उपप्रमुखमा अइन्द्रविक्रम बेघा हुनुहुन्छ।

धरानलाई महानगर बनाउन पहल गर्ने, भ्रष्टाचाररहित नगर, धरानलाई भाषिक सांस्कृतिक सहरका रूपमा विकास गर्ने, मिडिया तथा आईटीको प्रदेश १ को हबका रूपमा विकास गर्ने दीर्घकालिन योजना गठबन्धनको प्रतिबद्धतापत्रमा छ। यस्तै शैक्षिक, स्वास्थ्य, खेलकुदको हब, पर्यटन एवं आवासीय सहरका रूपमा विकास गर्ने, राज्यको सबै सेवा तथा सुविधा जनतालाई सम्भव भएसम्म वडा तहसम्मै उपलब्ध गराइने, धरानका ठूला विकासका आयोजनालाई नगर गौरवका आयोजनाको रूपमा घोषणा गर्ने योजना प्रतिबद्धतापत्रमा उल्लेख छ। 

यसैगरी सङ्घीय तथा प्रदेश सरकार, छिमेकी नगरपालिकासँग समन्वय गरी जोगवनी, विराटनगर, धरान, किमाथाङ्का सडक छिटो सम्पन्न गर्न पहल गर्ने, धरान मुलघाट, तमोर कोरिडोरहुँदै ओलाङचुङ्गोला सडक सम्पन्न गर्न पहल गर्ने र धरान लेउती सुरुङमार्ग निर्माणको लागि पहल गर्ने, भौतिक पूर्वाधार विकासतर्फ धरान विमान स्थल, खोलामा तटबन्धन बनाएर वैकल्पिक सडक निर्माण गर्ने, नगरभित्र रहेका खहरे खोलामा विकास गर्ने र धरानका विभिन्न ठाउँलाई जोडेर भित्री चक्रपथ र बाहिरी चक्रपथ पनि निर्माण गर्ने प्रतिबद्धतामा उल्लेख छ। त्यस्तैगरी हाल खानेपानी व्यवस्थापनमा देखिएको प्राविधिकलगायत समस्यालाई विज्ञको सल्लाहबाट समाधान गर्ने र चतरा कोसी, तमोरलगायत स्रोतको पहिचान गरी वैकल्पिक उपायबाट दीर्घकालिन समस्या समाधान खोजिने गठबन्धनले जनाएको छ।

 आदिवासी जनजातीको विकास, कला साहित्य र संस्कृति विकास, सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन, युवा विकास तथा स्वरोजगार कार्यक्रम, महिला विकास, दलित समुदायको विकास, मधेशी मुस्लिम एवं अल्पसङ्ख्यक समुदायको विकास, पर्यटन तथा पूर्वाधार विकास, कृषि, सहकारीलगायतका पनि नीति तथा योजना प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ। उम्मेदवार किशोर राईले धरानका समस्यालाई सुक्ष्म रूपमा अध्ययन गरी घोषणापत्र सार्वजनिक गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “समुन्नत धरान बनाउनका लागि सबैसँग सहकार्य, छलफल तथा सल्लाह सुझावअनुसार अगाडि बढ्नेछौँ, धरान उपमहानगरपालिकालाई चुस्त दुरुस्त र पारदर्शी बनाउन अगाडि बढ्नेछौँ।”