• १३ जेठ २०८१, आइतबार

मतदान सामग्री पठाइयो

blog

निर्वाचन सामग्री पठाउने तयारी गरिँदै । तस्बिर :ध्यान कुलुङ

सङ्खुवासभा, वैशाख २५ गते । हिमाली जिल्ला सङ्खुवासभामा स्थानीय तह निर्वाचनका लागि निर्वाचन सामग्री मतदान केन्द्रमा पठाइएको छ। मुख्य निर्वाचन कार्यालयले शनिबार भोटखोला, मकालु र सिलिचोङ गाउँपालिकामा कर्मचारीसहित मतदान सामग्री पठाएको हो।

मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जिल्लाकै सबैभन्दा दुर्गम मानिएको भोटखोला गाउँपालिकामा तीन दिनपछि मतदान सामग्री मतदान केन्द्रमा पुग्ने जानकारी दिनुभयो। सिलिचोङ र मकालुमा भने दुई दिनभित्र मतदान सामग्री पुग्ने छ। कर्मचारी र मतदानका सामग्रीहरू सुरक्षाकर्मीका साथ पठाइएको छ। जिल्लाको अन्य पालिकामा सोमबारसम्म कर्मचारी र निर्वाचन सामग्री पठाइने जनाइएको छ। वैशाख २७ गतेभित्र तोकिएको मतदान केन्द्रमा कर्मचारी पुगी सक्ने र मतदानको तयारी गर्नेगरी कार्यतालिका बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

मतदान केन्द्रमा पुगेर मतदान स्थल निर्माण, सर्वदलीय तथा सरोकारवालासँगको बैठकलगायतका कार्यहरू गरिने भएकाले कर्मचारीलाई समयमै पठाइएको जनाइएको छ। दस स्थानीय तह रहेको सङ्खुवासभामा १६२ वटा मतदान केन्द्रहरू रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा निर्वाचनका लागि ८७९ जना कर्मचारी खटिएका छन्। त्यस्तै एक हजार ९५७ जना सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिनुभयो। 

मतदान केन्द्रको भित्री तहमा नेपाल प्रहरीले सुरक्षा गर्नेछन्। त्यस्तै दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन्। जिल्लाको १०३ मतदान स्थल मध्ये सात स्थल अति संवेदनशील, १७ संवेदनशील र ७९ मतदान स्थल सामान्य रहेको छ। सङ्खुवासभामा एक लाख १७ हजार ७३१ मतदाता रहेका छन्।