• ७ भदौ २०८१, शुक्रबार

कालोसूचीमा रहेका ग्राहकबाट ८ लाख बढी असुली

blog

कार्यक्रममा प्रगति विवरण सार्वजनिक गरिदै ।

बिन्दु थापा  

पाल्पा, भदौ ६ गते । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले पाल्पा जिल्लामा ५३ जना कालोसूचीमा रहेका ग्राहकबाट ८ लाख १३ हजार ५०० रुपियाँ असुली गरेको छ । 

केन्द्रले १ हजार ८६ जना ग्राहकको लाइन काटी ६ करोड ८९ लाख ९० हजार ४०५ रुपियाँ सङ्कलन गरेको जनाएको छ । आफ्नो वार्षिक कार्य विवरण बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै

पाल्पा केन्द्र प्रमुख इन्जिनियर दिलीप मरासिनीले गत आर्थिक वर्षमा ३४ करोड २९ लाख ६८ हजार ६९१ रुपियाँको विद्युत बिक्री भएकोमा त्यसबापत ३३ करोड ६९ लाख ३ हजार ५६३ रुपियाँ सङ्कलन भएको बताउनुभयो । मरासिनीका अनुसार जिल्लाभित्रका ४० हजार ८४४ उपभोक्तामार्फत रकम सङ्कलन भएको हो ।

केन्द्रले जिल्लाभरि ३० वटा नयाँ ट्रान्सफर्मर, ८ वटाको क्षमता वृद्धि र ५० वटा काठको पोल फेर्ने काम सम्पन्न गरेको जनाएको छ । निस्दी गाउँपालिकामा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगाइ मित्यालमा नयाँ फ्युज सेवा बिस्तार, माथागढी र तिनाउ गाउँपालिकाका विभिन्न स्थानमा पनि केन्द्रीय लाइन जोडेको कार्यक्रममा जानकारी दिइएको थियो । 

तानसेन बजारभित्र नाङ्गो तार हटाइ एबिसी केवल लगाइएको, ७ सय बढी काठको पोल विस्थापित गरिएको प्रमुख इन्जिनियर मरासिनीले बताउनुभयो । ३३ केभी झुम्सा मस्याम डुम्रे लाइन सुधार गरिएको छ । तानसेन खानेपानीलाई करिब ५० प्रतिशत विद्युत महसुल छुट गराउन सफल भएको छ । कार्यालयले जिल्लाभरिमा १०५ जना कर्मचारीमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।