• १० मंसिर २०८१, सोमबार

उम्मेदवारद्वारा साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर

blog

नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवारहरू । तस्बिर :सिराज खान

सिराज खान 

नेपालगञ्ज, वैशाख २५  गते । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखका सबै उम्मेदवारलाई साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको छ । सङ्घले नगरप्रमुखका उम्मेदवारसँग नेपालगञ्जमा गरेको प्रत्यक्ष संवाद कार्यक्रममा गठबन्धनबाट नेपाली काँग्रेसका प्रशान्त विष्ट, नेकपा एमालेका पशुपतिदयाल मिश्र, राप्रपाका नन्दलाल वैश्य, राप्रपा नेपालका अभय बस्नेत, स्वतन्त्र दिनेश थापा र विकासबहादुर सिंहले १२ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ । 

सो प्रतिबद्धतापत्रमा नेपालगञ्ज मात्र नभई समग्र पश्चिम नेपालकै समृद्धिको आधार मानिएको जडीबुटी, पर्यटन र उद्योग कलकारखाना खोल्ने वातारण बनाउनेलगायतका बुँदा समावेश गरिएको छ । सो अवसरमा गठबन्धनतर्फका उम्मेदवार प्रशान्त विष्टले नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले तयार गरेको १२ बुँदे प्रतिबद्धता पूरा गर्न सकिए नेपालगञ्ज मात्र नभई समग्र पश्चिम नेपाललाई समृद्ध बनाउन सकिने बताउनुभयो । 

नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदवार पशुपतिदयाल मिश्रले जडीबुटी, पर्यटन र उद्योग कलकारखानामा मात्र ध्यान दिने हो भने नेपालगञ्ज देशकै औद्योगिक राजधानी बन्ने बताउनुभयो । राप्रपाका उम्मेदवार तथा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले उद्योग, वाणिज्य, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास नै समृद्ध नेपालगञ्जको आधार भएकाले यसमा गम्भीर भएर ध्यान दिने बताउनुभयो । 

कर्णाली र लुम्बिनी प्रदेशमा जडीबुटी उत्पादन धेरै भएको र यसको सङ्कलन तथा निकासीको केन्द्र पनि भएकाले नेपालगञ्जलाई जडीबुटी प्रशोधनको हब बनाउने प्रतिबद्धता गराइएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले जानकारी दिनुभयो ।उहाँले जडीबुटीलाई प्रशोधन गरेर निकासी गर्न सकिए विदेशी मुद्रा भित्रिने र स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न सकिने बताउनुभयो । 

कृषि उपजको आयात विस्थापन गर्न कृषि क्षेत्रको व्यावसायीकरण गरी नेपालगञ्जका लागि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न, जडीबुटी प्रशोधन केन्द्रको हबको रूपमा विकास गर्न र स्थानीय आवश्यकतामा आधारित औद्योगिक कोरिडोर निर्माण गर्ने प्रतिबद्धता सो अवसरमा सबै (छ जना) उम्मेदवारले गरेका हुन् । कार्यक्रममा ठूलो सङ्ख्यामा उद्योगी व्यवसायीको उपस्थिति थियो ।