• ८ वैशाख २०८१, शनिबार

पत्रकार र कर्मचारी सम्मानित (फोटो फिचर)

गोरखापत्रको छापा र डिजिटल प्रकाशनको नयाँ डिजाइनको उद्घाटन

blog

तस्बिरः मनोजरत्न शाही

काठमाडौं, वैशाख २४ गते। गोरखापत्र प्रकाशनको १२२ वर्ष प्रवेश तथा संस्थानको ६० औं वार्षिकोत्सवको अवसरमा शनिबार छापा तथा डिजिटल प्रकाशनको नयाँ डिजाइनको उद्घाटन गरिएको छ। वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र दैनिक, दि राइजिङ नेपाल, गोरखापत्र अनलाइन र राइजिङ नेपाल डेलीडटको नयाँ लेआउटको औपचारिक रुपमा उद्घाटन गर्नु भएको हो। संस्थान व्यवस्थापनले वैशाख १ गतेबाट नयाँ साजसज्जाका साथ छापा तथा अनलाइन प्रकाशनको सुरुवात गरेको थियो। 

समारोहलाई सम्बोधन गर्नुहुँदै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले इतिहास र विरासतको रुपमा गोरखापत्र गौरवशाली देखिए पनि डिजिटल प्रतिस्पर्धामा अब्बल हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो। 

‘‘नेपालको सामाजिक रुपान्तरणमा गोरखापत्रको ठूलो योगदान रहेको छ। इतिहास र विरासतको रुपमा हेर्दा गौरवपूर्ण देखिन्छ। अहिलेको परिस्थिति अनुसार डिजिटल प्रतिस्पर्धामा अब्बल हुनपर्ने आवश्यकता छ’’, कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो। 


गोरखापत्रको छापा र डिजिटल प्रकाशनको नयाँ डिजाइनको उद्घाटन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिरः कविन अधिकारी 

अब गोरखापत्रले प्रविधिको अधिकतम उपयोग गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। कार्यकारी अध्यक्ष सुवेदीले छापा र डिजिटल प्लेटर्फमलाई फरक ढङ्गले प्रस्तुत गरिएको भन्दै त्यसमा आलोचना र प्रतिक्रिया दिएर सुधारको मौका दिन अनुरोधसमेत गर्नुभयो। ‘‘हामीले प्रिन्ट र डिजिटललाई अहिले फरक ढङ्गले पस्किएका छौँ। त्यसमा आलोचना र प्रतिक्रियाको आवश्यकता रहेको छ ’’, अध्यक्ष सुवेदीले भन्नुभयो। 

अब २४ घण्टा कुरेर गोरखापत्र र राइजिङ नेपाल किन पढ्ने भन्ने चुनौती रहेको उहाँको भनाइ छ। कार्यकारी अध्यक्ष सुवेदीले १२२ वर्षदेखिको गोरखापत्रको सम्पत्ति सुरक्षा गर्न डिजिटल अर्काइभको काम भइरहेको समेत उल्लेख गर्नुभयो। यो इतिहास निर्माणको आधारशीला बन्ने उहाँको भनाइ छ। 

‘‘हाम्रो सम्पत्ति हामीले नै सुरक्षा गर्नुपर्छ। हाम्रो लागि गोरखापत्रको अर्काइभ इतिहास निर्माणको आधारशीला बन्नेछ।’’ अध्यक्ष सुवेदीले गोरखापत्रको ठूलो सम्पत्ति यहाँ कार्यरत जनशक्ति भएको उल्लेख गर्नुभएको छ। उहाँले प्राविधिक कारणले केही शाखामा रोकिएका ग्रेड वृद्धिलाई नेपाल सरकारसँग समन्वय गरेर अगाडि बढाएको बताउनु भयो।  कार्यकारी अध्यक्ष सुवेदीले संस्थानको वित्तीय प्रणालीको व्यवस्थापनको कामसमेत भइरहेको उल्लेख गर्नुभयो। उहाँले गौरवशाली इतिहास बोकेको संस्थानको भवन जीर्ण रहेकाले यसको पुनर्निमाण र नयाँ निर्माणको विषयमा सरकारसँग सहयोगका लागि आग्रह पनि गर्नुभयो। 


यसैगरी, अतिथिहरूको स्वागत गर्दै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रलाई डिजिटल र भौतिक रुपमै पाठकसम्म पुर्‍याउने लक्ष्य रहेको उल्लेख गर्नुभयो। ‘‘गोरखापत्र  संस्थानका प्रकाशनलाई डिजिटल र  भौतिक रुपमै पाठकसम्म पुर्‍याउनुपर्ने ठूलो जिम्मेवारी हामीसँग रहेको छ’’, महाप्रबन्धक ऐरीले भन्नुभयो। 

गोरखापत्रप्रति आम पाठकको दायित्व बढाउन यसको दायरालाई फराकिलो बनाउने काम भइराखेको र त्यसका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको उहाँको भनाइ छ। ‘‘गोरखापत्रको दायरा फराकिलो पार्ने काम भइराखेको छ। स्थानीय सरकारसँग यो विषयमा समन्वय भइरहेको छ’’, महाप्रबन्धक ऐरीले थप भन्नुभयो। 
महाप्रबन्धक ऐरीले गोरखापत्रको विषयवस्तु सुधारको योजना अगाडि बढेको उल्लेख गर्नुभयो। उहाँले जनतालाई सूचना दिनु हुँदैन भन्ने समयमा सुरु भएको गोरखापत्रलाई परिस्कृत बनाउने योजनाका साथ संस्थानले काम गरिरहेको उल्लेख गर्नुभएको हो। 


सम्मान तथा पुरस्कार वितरण

वार्षिकोत्सव समारोहमा संस्थानले पत्रकारिता क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्व र संस्थानका उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ। 

गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७७ बाट गोरखापत्र दैनिकका पूर्वनिमित्त प्रधान सम्पादक श्रीओम श्रेष्ठलाई सम्मान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि सञ्चारमन्त्री कार्कीले सम्मानपत्र र नगद ५५ हजारसहित वरिष्ठ पत्रकार श्रेष्ठलाई सम्मान गर्नुभएको हो। 

संस्थानको तर्फबाट उत्कृष्ट कर्मचारीको रुपमा हाजिरी शाखाका प्रमुख रामकुमार बस्नेत र वितरण विभागका निर्देशक नरेन्द्रबहादुर श्रेष्ठलाई नगद २५ हजार र सम्मानपत्रसहित सम्मान गरिएको हो। 

उपत्यकाको उत्कृष्ट समाचारदाताको रुपमा गोरखापत्र अनलाइनका उपेश महर्जन र दि राइजिङ नेपालकी रेणु ढकाललाई सम्मान गरिएको छ। संस्थानले उत्कृष्ट खोजी रिपोर्टिङ गर्ने गोरखापत्र दैनिकका देवबहादुर कुँवरलाई सम्मानपत्र र पाँच हजार नगदसहित सम्मान गरेको छ। उहाँहरूलाई गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई र दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलियाले सम्मान अर्र्पण गर्नुभयो। 

समारोहमा वितरण विभागका निमित्त निर्देशक सोमबहादुर घले, वरिष्ठ प्रेस अधिकृत हरिकण्ठलाल श्रेष्ठ, कार्यालय सहयोगी दुःखी मण्डललाई सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सम्मानपत्र र नगद पाँच हजारसहित सम्मान गर्नुभयो। 

यसैगरी, कार्यक्रममा रामचन्द्र-इन्दु गौतम पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकारद्वय ओम शर्मा र निर्मलकुमार आचार्यलाई नगद ५० हजारसहित सम्मानित गरिएको छ। शर्मा गोरखापत्रका पूर्व कार्यकारी अध्यक्ष र आचार्य गोरखापत्रका पूर्व निमित्त प्रधान सम्पादक हुनुहुन्छ। 


वार्षिकोत्सव समारोहमा गोरखापत्र संस्थानमा लामो समयदेखि कार्यरत कर्मचारीलाई दीर्घ सेवा पदक र स्वर्ण पदकबाट सम्मान गरिएको छ। संस्थानमा २० वर्ष काम गरेका कर्मचरीलाई दीर्घ सेवा पदक र २५ वर्ष पूरा गर्ने कर्मचारीलाई स्वर्ण पदकबाट सम्मान गरिएको हो।

 समारोहमा विज्ञापनदता र एजेन्सीलाईसमेत सम्मान गरिएको छ। जोइन मिडिया प्रालिलाई उत्कृष्ट विज्ञापनदाताको रुपमा सम्मान गरिएको छ भने फ्इयूचर हब मिडिया प्रा.लि र कलस एण्ड सर्भिस प्रा.लिले क्रमशः दोस्रो र तेस्रो विज्ञापनदाता सम्मान पाएका छन्। 

यसैगरी, नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाले स्थापना गरेको गोरखापत्र पत्रकारिता पुरस्कार र सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कारबाट पुष्पराज जोशी, रमेश लम्साल, शरदराज सुवेदी, नगेन्द्र सापकोटा, केपी गौतम,  हरिप्रसाद भट्टराई, इश्वरचन्द्र झा सम्मानित हुनुभएको छ ।

गोरखापत्रका सहप्रकाशनमा दि राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुना मासिक तथा गोरखापत्र अनलाइन र राइजिङ नेपाल डेली डटकम प्रकाशन हुँदै आएका छन्। वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागीलाई संस्थानका कार्यकारी अध्यक्ष सुवेदी तथा महाप्रबन्धक ऐरले प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो। शनिबारबाट गोरखापत्र १२१ वर्ष पूरा गरेर १२२ औं वर्षमा प्रवेश गरेको छ यो नेपालको जेठो समाचारपत्र हो। 





दीर्घसेवा गर्ने गोरखापत्रकर्मीलाई स्वर्ण पदक प्रदान 

गोरखापत्र प्रकाशनको १२२ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६० औं वार्षिकोत्सवको अवसरमा संस्थानको स्थायी सेवामा रहेका पत्रकार तथा कर्मचारीलाई दीर्घसेवा पदबाट सम्मानित गरिएको छ । समारोहमा कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी तथा महाप्रबन्धक लालबहादुर ऐरले पदक तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो । 

संस्थानले शनिबार आयोजना गरेको विशेष समारोहमा संस्थानमा २५ वर्ष र २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको हो । कोरोना (कोभिड–१९) भाइरसको महामारीका कारण दुई वर्षदेखि वार्षिकोत्सव आयोजना हुन सकेका थिएन । तसर्थ यस वर्ष २०७७, २०७८ र २०७९ तीन वर्षका पदकहरू प्रदान गरिएको व्यवस्थापनले जनाएको छ ।

वि.सं. २०७७ वैशाख २४ सम्म २५ वर्ष सेवा अवधि पुगेकाहरूमा प्रमुख प्रबन्धकत्रय ओमप्रकाश भुसाल, भगिरथ बस्नेत र ताराबहादुर बस्याल हुनुहुन्छ । यस्तै, नायब कार्यकारी सम्पादकद्वय परमेश्वरप्रसाद देवकोटा र भवानीप्रसाद सुवेदी, वरिष्ठ व्यापार अधिकृत विक्रमबाबु राई, प्रेमबहादुर पराजुली, प्रशासन अधिकृतहरू दिपक पौडेल, दिपककुमार बस्नेत, राजकुमार गुरुङ, लालबहादुर कुमाल हुनुहुन्छ । 

यसैगरी, अन्य कर्मचारीहरूमा रामकुमार बस्नेत, शारदा कर्माचार्य, सावित्री दाहाल, नवराज न्यौपाने, ध्रुव खड्का, गीता विश्वास हुनुहुन्छ । यस्तै, २०७७ वैशाख २४ गतेसम्म २० वर्ष सेवा अवधि कर्मचारीहरूमा कुलदीप ढुङ्गेल र राजाराम कार्की रहेको संस्थान व्यवस्थापनले जनाएको छ । 

यसैगरी, २०७८ वैशाख २४ गतेसम्म २५ वर्ष सेवा अवधि पूरा भएका पत्रकारहरूमा दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया र सोही दैनिकका निमित्त प्रबन्ध सम्पादक नारायणप्रसाद उपाध्याय हुनुहुन्छ । अन्य सम्पादकहरूमा नायब कार्यकारी सम्पादकत्रय रामप्रसाद आचार्य, के.पी. (कुलप्रसाद) गौतम र रामप्रसाद हुमागाई हुनुहुन्छ । 

पदक प्राप्त हुनुहुने कर्मचारीहरूमा विमला खड्का, ज्योत्सना कुँवर, तुलसीप्रसाद पोखरेल, शिवनारायण मण्डल र आशनारायण विश्वास हुनुहुन्छ । 

यस्तै, २०७९ वैशाख २४ गतेसम्म संस्थानमा २५ वर्ष सेवा अवधि पूरा अवधि पूरा गरेर दीर्घ सेवावापत स्वर्ण पदक पाउने पत्रकारहरूमा गोरखापत्र अनलाइनका निमित्त सम्पादक नारदमुनि गौतम, नायब कार्यकारी सम्पादकहरू राधाप्रसाद जोशी, हरिप्रसाद भट्टराई, बल्लभमणि दाहाल, विष्णुप्रसाद गौतम र भक्तबहादुर थापा हुनुहुन्छ । 

स्वर्ण पदक पाउने कर्मचारीहरूमा धर्मराज न्यौपाने, गणेश बहादुर वि.सि., चन्द्रावती बज्राचार्य, हरि ढुंगाना, हरिकृष्ण अर्याल, सन्तोषकुमार गौतम, डण्डराज खनाल, दिपक चालिसे, मित्रादेवी गुरुङ्ग, गोपाल खड्का, तोपबहादुर थापा, द्वारिका महर्जन, गीता न्यौपाने, प्रभु मण्डल, विष्णुदेवी कर्माचार्य, शिवहरि अर्याल रहेको संस्थान व्यवस्थापनले जनाएको छ । 

सोही पदक पाउनु हुने अन्य कर्मचारीमा प्रकाशप्रसाद मैनाली, हेमराज जर्गामगर, लालबहादुर थापा, शैलेश पराजुली, ईश्वर ढुंगाना, तेजप्रसाद घिमिरे, ध्रुवबहादुर खड्का, सुशील श्रेष्ठ हुनुहुन्छ ।

तस्बिरः मनोजरत्न शाही, शेखर चौलागाईं, सागर बस्नेत, कविन अधिकारी, केशब गुरुङ