• १९ असार २०८१, बुधबार

स्थानीय तहको चुनावबाटै एमालेलाई रोक्नुपर्छ : रामचन्द्र पौडेल

blog

आमसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा । कार्यक्रममा उपस्थित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता । तस्बिरः कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख २४ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले संसद विघटन गरेर अस्थिरता ल्याएकाले उसलाई स्थानीय तहको चुनावबाटै रोक्नुपर्ने बताउनुभएको छ।

नेता पौडेलले एमाले अध्यक्ष केपी ओली राजनीतिक स्थिरता खलबल्याउने निम्ति नायक भएको आरोप लगाउनुभयो। उहाँले ओली र उनका अनुयायीलाई स्थानीय, प्रदेश र संघ गरेर तीनै तहका चुनावमा पराजित गर्नुपर्ने बताउनुभयो।

‘‘एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्छ’’, पौडेलले भन्नुभयो। ओलीकै कारण संसद, अदालत, संवैधानिक निकायमा अस्थिरता निम्तिएको उहाँको भनाइ छ।

ओलीले तत्कालीन राजा महेन्द्र र ज्ञानेन्द्रले जस्तै राष्ट्रवादको नाममा प्रतिगमन गरेर ठगेको पौडेलको आरोप छ। ‘‘दिउँसो चुच्चे नक्सा देखाउने राति भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयलसँग लम्पसार पर्ने’’ पौडेलले ओलीतर्फ लक्षित गर्दै भन्नुभयो। 

नेता पौडेलले जनताको घर घरमा पुग्ने, अस्पतालको बेड बेडमा पुग्ने सबैको अगाडि सजिलै उपलब्ध हुने गठबन्धनका उम्मेदवार खेलराज पाण्डे जस्तै मेयर चाहिएको बताउनुभयो ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गफ भन्दा कामका पछि लाग्न आग्रह गर्दै गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो। सो अवसरमा गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन नै अहिलेको आवश्यकता रहेको बताउनुभयो।

  कार्यक्रममा समाजवादी नेतृ रामकुमारी झांक्री, राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, माओवादीका स्थायी कमिटी सदस्य चक्रपाणि खनाल बलदेब, जसपाका नेता नवराज सुवेदी, मेयरका उम्मेदवार खेलराज पाण्डे, उपमेयरका उम्मेदवार चीनबहादुर गुरुङ, माओवादी रुपन्देही प्रमुख निर्मल जिसी, कांग्रेस नेता युवराज गिरीलगायतले धारणा राख्नुभयो।