• १६ भदौ २०८१, आइतबार

सम्झौताभन्दा अघि नै सम्पन्न भयो पुल

blog

बाँकेको कम्दीस्थित डुडुवा खोलामा निर्माण गरिएको नयाँ पुल । तस्विरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, साउन ३१ गते । हुलाकी राजमार्ग अन्तर्गत बाँकेको डुडुवा गाउँपालिका –४ कम्दी मिलनचोकस्थित डुडुवा खोलामा तोकिएको समयभन्दा करिब ६ महिना अघि नै पुल निर्माण सम्पन्न भएको छ । 

यसैगरी सम्झौतामा उल्लेख भएको भन्दा पनि कम रकममा पुल निर्माण भएको छ । बाँकेको किरणनाला लगायतका खोलामा निर्माणाधीन पुलको काममा ढिलाइ भइरहँदा डुडुवा खोलाको पुल भने समयभन्दा पहिले नै सम्पन्न भएको हो । 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले आगामी पुस महिनासम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनी नारायणम निर्माण सेवा प्रालि. नेपालगञ्जले असारभित्र सम्पन्न गरेको जानकारी दिनुभयो । 

पुल निर्माण २०८१ पुस ४ गते सम्पन्न गर्नेगरी २०७९ असार ५ गते सम्झौता भएको कार्यालयले जनाएको छ । निर्माण कम्पनीले निर्धारित समयभन्दा ६ महिनाअघि २०८१ असार २३ गते नै निर्माण सम्पन्न गरेको हो । १० करोड ७१ लाख रुपियाँमा पुल निर्माण हुने सम्झौतामा उल्लेख भए पनि १० करोड ४३ लाख रुपियाँमा काम सम्पन्न भएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।

योजना निर्देशक भण्डारीले भन्नुभयो, ‘प्राविधिक, कर्मचारी र निर्माण व्यवसायीको सहकार्य र समन्वयमा निर्धारित समयभन्दा पहिले नै काम सम्पन्न गर्न सफल भएका छौं ।’

हुलाकी सडक अन्तर्गत यसअघि निर्माण गरिएको पुल साँघुरो भएपछि नयाँ पुल निर्माण गरिएको हो । नयाँ पुल दुबैतर्फ १.७५ मिटर पदमार्गसहित ११ मिटर चौडाइको छ । २ स्पान रहेको पुल ६६ मिटर लामो छ । स्थानीय जमिल खाँले राप्ती नदीमा वर्षौसम्म ढिलागरी पुल निर्माण भएको देखेका आफुहरु डुडुवा खोलाको कामबाट खुशी भएको बताउनुभयो । 

उहाँले पुल निर्माण भएपछि डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकासहित नेपालगञ्ज सिधनिया हुँदै अगैयास्थित पूूर्व–पश्चिम राजमार्ग पुग्ने हजारौंलाई सहजता भएको जानकारी दिनुभयो ।