• १९ असार २०८१, बुधबार

दोलखामा तीन महिला उम्मेदवार

blog

दोलखा समाचारदाता

चरीकोट, वैशाख २४  गते । दोलखा जिल्लाको तीन स्थानीय तहको प्रमुख पदमा तीन महिला प्रतिस्पर्धामा छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा स्वतन्त्रबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक गरी तीन महिलाले प्रमुख पदमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

बिगु गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्रबाट राधिका मल्ल ठकुरी उम्मेदवार हुनुहुन्छ । नेकपा एमाले निकट राधिका मल्ल ठकुरी र गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस निकट अपकुमारी श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ । त्यस्तै भीमेश्वर नगरपालिकाको प्रमुखमा राप्रपाबाट देवकी बुढाथोकी प्रतिस्पर्धामा हुनुहुन्छ । 

भीमेश्वर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले) मुख्य प्रतिस्पर्धी देखिन्छ । राप्रपाकी उम्मेदवार बुढाथोकीले भन्नुभयो, “पार्टीले मलाई प्राथमिकता दिएर सक्षम ठानेर उम्मेदवार बनाएको छ । ममा अधिकार खोसेर पनि लिनुपर्छ भन्ने मान्यता पनि छ ।” उहाँले भन्नुभयो, “सक्षम महिलालाई अघि बढ्न नदिने संस्कारलाई बदलेर संविधान प्रदत्त अधिकार लिएरै छाड्ने बनाउनु छ, देखाउनु पनि छ । अरू दलमा पनि प्रभाव परोस् भन्ने चाहना पनि हो ।” 

उहाँले भन्नुभयो, “अहिले घरदैलोमा पुगेर भोट पनि मागेकी छु । महिलालाई आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने आँट हौसला बढाउने काम पनि गरिरहेकी छु ।”

उम्मेदवार राधिका मल्ल ठकुरीले संविधानले दिएको अधिकार प्रयोग गर्न पनि आकाशको फल आँखा तरी मर भने झैँ कति पर्खनु ? भनेर स्वतन्त्रबाट उम्मेदवारी दिएको बताउनुभयो ।उहाँले भन्नुभयो, “प्रमुख पदमा टिकट पाउनु त सधैँ सपना देख्नु मात्र जस्तो देखेपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी हुँ । जितौँ हारौँ आफ्नो ठाउँमा छ । नजितेसम्म प्रयास जारी राख्ने अठोट बनेको छ ।” 

धनदौलत, पहुँच हुनेहरू तामझामका साथ चुनावी प्रसारमा लागेका भए पनि श्रीमान्सहित आफू जनता घरदैलोमा पुगेर भोट माग्दै रहेको ठकुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “हिम्मत हारेकी छैन । मैले जितेँ भने महिला, गरिब, दलितका पक्षमा उभिएर आयआर्जनका बाटोमा डो-याउने प्रतिबद्धता गरेकी छु ।” 

उम्मेदवार अपकुमारी श्रेष्ठले महिलाको पहुँच नहुँदा महिलाका लागि आएको बजेट पनि अन्यत्र खर्च गरेको विषयममा मतदातालाई जानकारी गराउँदै हिँडेको बताउनुभयो ।उहाँले भन्नुभयो, “बजेट पारदर्शी छैन । मन लाग्दो हिसाबले मन परेकालाई मात्र बजेट दिने संस्कार तोड्नु छ । महिला जागरुक भए समतामूलक विकास हुन्छ भनेर नै मैले स्वतन्त्रबाट पनि उम्मेदवारी दिएकी हुँ ।” यहाँ पार्टीले प्रमुख पदमा उम्मेदवार त बनाएनन् तर गठबन्धन भन्दै उपप्रमुखमा पनि पुरुषलाई टिकट दिएका छन् । नौवटा उपप्रमुख पदमा महिला २३ र पुरुष १५ जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।